नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ ।

कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।

छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्परा अनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ ।

शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

गोरखामा जूनको उज्यालोमा मकै सुकाउने रमाइलो पर्व

गोरखा । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । गोरखाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाइएको हो ।  ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जूनको उज्यालोमा सामूहिक रूपमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । ठूलो आँगनमा प्लाष्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न राखिएको थियो । पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्नबाली ल्याएर सुकाएको अन्नलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । नेवार समुदायका अगुवासमेत रहेका ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले झण्डै ४० वर्षदेखि मनाउन छोडिएको यो पर्व विगत तीन वर्षदेखि सामूहिक रूपमा मनाउन थालिएको जानकारी दिए । कात्तिक शुल्क पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउलगायतका गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाको दिन जूनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने धार्मिक विश्वाससमेत रहेको उनको भनाइ छ । यो पर्व परम्परागत रूपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक रूपमा मनाउन थालिएको छ ।  परम्परा र संस्कतिलाई पुस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको तीन वर्षदेखि पुनः मनाउन थालिएको श्रेष्ठको भनाइ छ ।  कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले लोप हुनै लागेको मकै सुकाउने पर्वको जर्गेना गर्न स्थानीय समुदायले थालेको प्रयास सराहनीय भएको बताए । सोही अवसरमा नेवार समुदायको परम्परा र संस्कृति झल्कने पोसाकमा सजिएर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको आयोजकले जनाएको छ ।

बेपत्ता र सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिने म्याद थप

काठमाडौं । सरकारले द्वन्द्वकालीन घटना टुंग्याउन महत्त्वपूर्ण मानिएका दुई आयोगको अध्यक्ष र सदस्यमा आवेदन दिने म्याद थप गरेको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्न समिति गठन गरेको थियो । सोही समितिले २३ कात्तिकमा दुवै आयोगका अध्यक्ष र सदस्यमा आवेदन आह्वान गर्दै एक सूचना प्रकाशित गरेको हो । उक्त सूचनामा इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरिएको छ । सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । तर, आज फेरि अर्को सूचना प्रकाशित गर्दै समितिले मंसिर ४ सम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् । मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा एक पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् ।  चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ । “बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ । अन्य बालीका लागि सिँचाइको सुविधा छैन । पिउने पानी त नभएर छ महिना समस्या हुन्छ”, स्थानीय हर्कबहादुर परियारले भने, “जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ ।”  यतिबेला कोदो पाकेको छ । किसान बाली भित्र्याउने तयारीमा छन् । परियारले दुई कठ्ठा बारीमा कोदो लगाएका छन् । “यो अगौटे बीउको कोदो आजभोलि नै टिप्ने बेला भइसकेको छ । आफ्नो उत्पादनको दुई गेडा अन्न भए पनि स्याहार्नु त पर्यो”, परियारले भने । उनले उत्पादन गरेको १०/१२ पाथी कोदोले केही महिना मात्र जोहो टर्छ, बाँकी महिना ज्याला मजदुरी गरेर छ जना परिवारको जीविका चलाउनुपर्छ ।  परियारको जस्तै भनाइ छ सोही बस्तीकी धनसरी विश्वकर्माको पनि । खडेरीले अन्य बाली खाने हुँदा आफूहरूले कोदा रोपेर जीविका चलाउनुपरेको उनको भनाइ छ । उनले भने, “मान्छे र गाईवस्तुलाई खानेपानीका लागि छ महिना एक घण्टाको बाटो धाएर पानी बोक्नुपर्छ । भएका कुवा र इनार मङ्सिर नलाग्दै सुक्छन् । यस्तो ठाउँमा कोदोबाहेक अन्य अन्नपात उब्जदैन । मकै रोपे पनि खडेरीले खाइहाल्छ ।” कोदोबाहेक गहत, बोडी र तिललगायतका अन्नपात लगाउने गरेको उनले जानकारी दिए। उब्जने त्यही कोदो बालीमा पनि स्थानीय सरकार तथा अन्य निकायले उन्नत बीउ तथा अनुदान सहयोग नगरेको यहाँका किसानको गुनासो छ । उत्तरी भेगका करिब १० प्रतिशत किसानले कोदोखेती गरे पनि नगरपालिले हालसम्म कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै प्रकारको नीति र योजना नरहेको मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले बताए ।  उनले भने, “यहाँका किसानलाई कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित नगरले अहिलेसम्म कुनै नीति बनाएको छैन । आगामी दिनमा नगरका तर्फबाट किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन, बजार व्यवस्थापन र व्यावसायीकरणका लागि सहयोग गर्न पहल गर्नेछौँ ।” यहाँका कर्जना, मिर्चैया, गोलबजार र धनगढीमाई नगरपालिकाका चुरेफेदका सुक्खा बस्तीका गाउँमा मुख्यगरी कोदोखेती गरिन्छ ।  कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार जिल्लामा करिब छ सय ४५ हेक्टर जग्गामा कोदोखेती गरिने तथ्याङ्क छ । त्यस्तै नौ सय ६७ मेट्रिक टन कोदो बर्सेनि उत्पादन गरिन्छ ।  प्रमुख महासेठका अनुसार स्थानीय तहले नै कृषिसम्बन्धी हेर्ने भएकाले किसानको प्रोत्साहनका लागि आफूहरूको कुनै विशेष योजना नरहेको उनले बताए। उनले भने, “पहिले जिल्लाको दक्षिणी भेगमा पनि यहाँका किसानले कोदोखेती गर्ने गर्थे । तर अहिले उत्तरी भेगमा मात्र सीमित छ । स्थानीय तहले कृषि शाखामार्फत प्रत्यक्ष किसानलाई हेर्ने हुँदा अहिले हामी एक हिसाबले अधिकारविहीनजस्तो भएका छौँ । स्थानीय तहसँग समन्वय गरेर भए पनि किसानलाई कोदोखेतीमा आकर्षित गर्नुपर्ने आवश्यकता छ ।” जिल्लाका  परम्परागत बालीनालीको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।  पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुने गरे पनि अहिले मुख्य खाना भात भएकाले विभिन्न रोग पनि सँगसँगै आएको खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले बताए । उनले भने, “गाउँघरमा कोदोखेती विस्थापित हुँदै गएको छ । बजारका अन्य खानेकुराले मानिसलाई रोगी बनाउँदै छ । सरकारले कोदोखेतीको संरक्षणमा ध्यान नदिँदा सीमित किसानले आफ्ना लागि आवश्यक पर्ने मात्र कोदोखेती गर्ने गरेका छन् ।”

दार्चुलामा दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात

दार्चुला ।  दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।  मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बर जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो। दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेको छैन  । 

लोकप्रिय