निजगढ बिमानस्थल बन्छ, यो मेरो प्रतिबद्धता भयो : अर्थमन्त्री

निजगढ बिमानस्थल बन्छ, यो मेरो प्रतिबद्धता भयो : अर्थमन्त्री

बीरगञ्ज । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने प्रतिबद्धता जनाउनुुभएको छ ।
बीरगञ्ज उद्योग बाणिज्य संघको ४६ औ साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाउनुभएको हो । ‘निजगढ बिमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उहाँले भन्नुभयो, ‘यो सरकारले निजगढ बिमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’
उहाँले त्रिभुवन बिमानस्थलको बैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ बिमानस्थल चाहिएको बताउनुभयो । उहाँले निजगढ बिमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताउनुभयो । ‘मधेशलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ । यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तराष्ट्रिय यात्रुहरुलाई पनि आवात जावत गराउने हो’ उहाँले भन्नुभयो ।

त्यस्तै बीरगञ्ज चिनी कारखाना संचालनका लागि आवश्यक प्रकृया अघि बढाउने पनि उहाँले जानकारी दिनुभयो । बीरगञ्ज उद्योग बाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान बीरगञ्ज चिनी उद्योगको निरिक्षण गर्नुभएको थियो । सो अवसरमा कार्यरत कर्मचारीले चिनी मिल संचालनयोग्य रहेको जानकारी दिएका थिए ।

‘बीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’ उहाँले भन्नुभयो, ‘६–७ महिनादेखी निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ उहाँले चिनी मिल संचालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन बीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले बजेट तथा सरकारको नीति–कार्यक्रमबाट बीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास दिलाउनुभयो । कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले बीरगञ्जलाई वेवास्ता गरेको गुनासो गर्नुभएको थियो । मन्त्री शर्माले पथलैया–बीरगञ्ज करिडोर, निजगढ बिमानस्थल र द्रुत मार्ग, चिनी कारखाना खोल्ने बिषय, सुख्खा बन्दरगाह, एकिकृत भन्सार जाँच चौकी निर्माणलगायतका माध्यमबाट बीरगञ्जका उद्योगीलाई सम्बोधन गरिरहेको बताउनुभयो ।
त्यस्तै आन्तरिक उत्पादन वृद्धिका माध्यमबाट दिगो अर्थतन्त्र निर्माण गर्ने, बिद्युतमा छुट दिएर स्वदेशी उद्योगको संरक्षण गर्ने, निर्यातमा ८ प्रतिशतसम्म प्रोत्साहन रकम दिने, तयारी र कच्चा बस्तुको आयातमा लाग्दै आएको भन्सार दरमा एक तहको अन्तर गर्नेलगायतका बिषयबस्तु राखेर देशभरका उद्योगीलाई सम्बोधन गर्नेक्रममा बीरगञ्जका व्यवसायी पनि समेटिएको बताउनुभयो ।

सो कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले बीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताउनुभयो । उहाँले कठिन आर्थिक अवस्थामा बजेट आएको बताउँदै दबाबमा रहेको अर्थव्यवस्थालाई सही दिशामा ल्याएर नेपाल र नेपालीको भाग्य बदल्ने प्रयत्न गरिएको बताउनुभयो ।
‘बजेटको माध्यमबाट आत्मनिर्भर हुने र उद्योग व्यापारलाई औद्योगिकरण गर्न खोजिएको छ’ अर्थ सचिव मरासिनीले भन्नुभयो, ‘निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा लिने संभवत सरकारको यो पहिलो दस्ताबेज हो ।’

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ खत्रिपौवामा लेदोसहितको पहिरो खस्दा काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ। आजबिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।   आज दिउँसो १ बजेतिरको समयमा लेदो सहितको पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए। 

सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।  इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।  

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

लोकप्रिय