नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइदैँ
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाउँदै छ ।
यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो ।
देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदै छ ।
मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदै छ । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।
बच्चालाई धेरै म्वाइँ नखानुस् यस्तो खतरा देखिन सक्छ
काठमाडौं । बच्चालाई हेर्न तथा माया गर्दै म्वाइँ खान तछाडमछाड नै गर्छन् । यस्तोमा बच्चाको स्वास्थ्यमा असर नपरोस् भन्ने विषयमा पनि ख्याल राख्नु आवश्यक हुन्छ । अन्यथा, अभिभावकले गरेको सामान्य गल्तीका कारण बच्चालाई ठूलै असर पर्न सक्छ । सोही कारण बच्चालाई छुनुभन्दा पहिला हात धुने सल्लाह डाक्टरले पनि दिइरहेका हुन्छन् । बच्चालाई म्वाइँ खाँदा यस्ता असर पर्न सक्छन्ः सानो बच्चाको इम्युनिटी पावर निकै कम हुन्छ । जसले गर्दा इन्फेक्सनले पनि चाँडै असर पुर्याउन सक्छ । सोही कारण यस्तो खराब बानीबाट जोगिनु सबैका लागि फाइदाजनक हुन्छ । बच्चालाई म्वाइँ खाँदा इबिबी भाइरस सर्ने खतरा रहन्छ । यो भाइरस एकपटक शरीरमा प्रवेश गरेपछि जिन्दगीभर नै रहिरहन्छ । रुघाखोकी लागेको समयमा त भुलेर पनि बच्चालाई म्वाइँ खाने गल्ती गर्नुहुँदैन । किनकि, रुघाखोकीको भाइरसले बच्चालाई चाँडै आक्रमण गर्न सक्छ । व्यक्तिलाई कुनै पनि प्रकारको रोग छ भने बच्चाबाट टाढै रहनु उत्तम हुन्छ । किनकि बच्चालाई त्यसले असर पुर्याउने सम्भावना बढी नै हुन्छ । बच्चालाई फ्लु हुने सम्भावना बढाउँछ । -एजेन्सी
डाक्टरका कुरा- बालबालिका पेट दुखे के गर्ने ?
डा. सुमनराज ताम्राकार बालबालिकाहरुमा पटक–पटक भइरहने समस्याहरुमा पेट दुखाइ पनि एक हो । पेटभित्रका अङ्गहरु तथा पेटको भित्रि पत्र एवं बाह्य छाला एवम् मांसपेशीमा कुनै समस्या भएर पेट दुख्छ । कहिलेकाहीँ बिना कारण पनि पेट दुख्न सक्छ । कुनै कुनै बेला पेट दुखाइ एक ठाउँबाट सुरु भएर अर्को भागतिर सर्न सक्दछ । पेटको भित्रि अङ्गहरु तथा बाहिरको छाला एवं मांसपशीमा भएको पिडा मेरुदण्डमा रहेको स्नायु प्रणाली हुँदै गिदीमा पुग्दछ र पिडा महसुुस हुन्छ । पेटको कुन भागमा दुखेको छ त्यस अनुसार पनि पेट दुखाइको कारण बारे अनुमान लगाउन सकिन्छ । माथिल्लो पेट दुखेको भए आमाशय, पित्त थैली, कलेजो, फियोमा समस्या हुनसक्छ । दायाँ वा बायाँ साइडतिर पेट दुखेको भए मृगौला वा ठूलो आन्द्रामा समस्या हुनसक्छ । तल्लो पेटमा दुखेको भए मुत्रथैली, पाठेघर, डिम्बबाहिनी नलीमा समस्या भएको हुनसक्छ । जुका पर्दा, सानो आन्द्रामा समस्या हँदा वा एपेण्डिक्स सुन्निँदा नाइटो वरिपरि दुख्छ । मुत्र नलीमा पत्थरी हुँदा वा एपेण्डिस सुन्निँदा पेट दुखाइ एक ठाउँमा सर्दछ भने हर्नियाले गर्दा तल्लो पेटको छेउतिर भारी भहसुुस हुन्छ । झाडापखाला, आउँ, रगतमासी जस्ता रोग लाग्दा वा पित्त थैली, एपेन्डिक्स जस्तै भित्रि अङ्गहरु सुजन भई पेट दुख्दा उल्टी आउने, ज्वरो आउने हुनसक्छ । आन्द्राको भित्रि तहमा चिडचिडाहट हुँदा, कब्जियत हुँदा, ल्याक्टोजन नपच्ने बेथा लाग्दाको पेट दुखाइ छुट्टै खालको हुन्छ । कहिलेकाहीँ बिना कारण वा पेटमा हुने माइग्रेनको कारण पनि घरिघरि पेट दुख्छ । त्यसलाई गम्भीर रुपमा लिनु पर्दैन । जीर्ण प्रकारको पेट दुखाइ लामो समयदेखिको हुन्छ । बालबालिकाहरुको अभिभावकसंग राम्ररी सोधपुछ गरेर तथा विरामीको शारीरीक जाँच गरेर पेट दुख्नुको कारण पत्ता लगाउन सकिन्छ । त्यसपछि दिसा, पिसाबको सामान्य जाँच, रगतको जाँच, एक्सरे, इन्डोस्कोपी तथा अल्ट्रासाउन्डको मद्धतले ठ्याक्कै पेट दुख्नुको कारण पत्ता लगाउन सकिन्छ । पेट दुखाइको कारण अनुसार नै औषधी खुवाएर वा शल्यक्रिया गरेर पेट दुख्ने समस्याको निराकरण गर्नुपर्दछ । त्यसैले कारण पत्ता नलगाइकन दुखाइ कम हुने औषधी दिइहाल्नु हुँदैन । स्वास्थ्यख़बर डट कमबाट साभार