नेका केन्द्रीय समिति बैठकः काँग्रेस हतोत्साहित र विचलित भएको छैन

नेका केन्द्रीय समिति बैठकः काँग्रेस हतोत्साहित र विचलित भएको छैन

काठमाडौँ, असोज २० । नेपाली काँग्रेस केन्द्रीय समितिको आजको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ ।

पार्टीले उम्मेदवार छनोट र मापदण्ड तय गर्दा स्थानीय निर्वाचनमा उम्मेदवार भएका, सो निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध उठेका, उनीहरुलाई सहयोग नगरेका र यस अगाडि समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा टिकट नदिने विषयमा केन्द्रीय समितिको पहिलो चरणको बैठकमा मोटामोटी सहमति जुटेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश केसले प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनमा पार्टीको उम्मेदवार छिटोभन्दा छिटो छनोट गर्न जोड दिएको थियो ।

उनीहरुले वाम एकताले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनलाई नै कमजोर पार्ने चिन्ता व्यक्त गर्दै आगामी दिनमा प्रजातान्त्रिक–लोकतान्त्रिक एकताको खाँचो औँल्याएको थियो ।

बैठकले यही असोज २५ गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्न नेतृत्व वर्गलाई सुझाव दिएको नेकाका केन्द्रीय सदस्य दिलेन्द्र बडूले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले भने, “नेकाको आजको केन्द्रीय समितिको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ ।”

वाम एकता र ध्रुवीकरणले अगामी निर्वाचन समयमै सम्पन्न नहुने हो कि भन्ने आशंका बैठकमा उठेको जानकारी दिँदै नेता बडूले यसलाई चिर्न निर्वाचन समयमै सम्पन्न गर्ने र बृहत् लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने आवश्यकताको बोध बैठकमा भएको बताए ।

बैठकपछि नेकाका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वाम एकता प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्श विपरीत रहेको प्रतिक्रिया दिँदै यो एकता उनीहरुको सत्ता प्राप्तिको साधन मात्र हो भने ।

उनले भने, “वाम एकताले नेका विचलित र हतोत्साहितसमेत हुने छैन, बरु नेकाको नेतृत्वमा वामबाहेकका शक्तिबीच बृहत् लोकतान्त्रिक प्रजातान्त्रिक एकता र सहकार्य आगामी निर्वाचनमा हुनेछ ।”

अर्का केन्द्रीय सदस्य महेश आचार्यले वाम एकताले शान्ति प्रक्रियाका बाँकी काम र संविधान कार्यान्वयनमा जटिलता थपेको उल्लेख गर्दै यसले अतिवादी सोचलाई प्रश्रय दिएको धारणा व्यक्त गरे ।

उनले भने, “नेका आगामी निर्वाचनलाई समयमै सम्पन्न गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउँदै सबैको भावनालाई समेटी अगाडि बढ्न चाहन्छ ।”

अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले वाम एकताले लोकतन्त्रलाई नै समाप्त गर्ने हुँदा लोकतन्त्रलाई बचाउने दायित्व पुनः काँग्रेसको काँधमा आएको बताउनुभयो । उनले भने, “संविधान कार्यान्वयन गर्न सहमति, सहकार्य र एकताको जरुरी छ, यसका लागि काँग्रेस गम्भीर छ ।”

बैठकको शुरुमा नेका सभापति एवं प्रम देउवाले पछिल्लो राजनीतिक घटनाक्रमको संक्षिप्तरुपमा जानकारी दिएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको पनि उपस्थिति रहेको थियो । केन्द्रीय समितिको अर्को बैठक आज साँझ पुनः बस्नेछ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय