नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन गरिने

नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन गरिने

विराटनगर । भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरीसमक्ष समन्वय अगाडि बढाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको अनुसन्धान गर्न आग्रह गरेको जानकारी दिए ।

भारतीय सहर जोगबनी गएर फर्कंदै गरेका विराटनगर ८ मधुमाराका २८ वर्षे निर्दोष सङ्ग्रौलालाई भारतीय भूमिमा साँझ पौने ६ बजे गोली प्रहार भएको थियो । सङ्ग्रौलाको दाहिने तिघ्रामा गोलीको छर्रा लागेको र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घाइते युवा खतरामुक्त रहेको प्रवक्ता दाहालले जानकारी दिए ।

युवामाथि कसले किन गोली प्रहार ग र्‍यो भन्ने विषय अहिलेसम्म खुलिसकेको छैन । ‘भारतीय भूमिमा (दशगजा भन्दा करिब १५० मिटर पर) घटना भएकोले नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न मिलेन, हामीले भारतीय पक्षसँग समन्वय गरेर घटनाको बारेमा चासो लिएका छौं,’ प्रवक्ता दाहालले भने, ‘यो घटना भारततर्फ भएको हुँदा छानबिन र कारबाहीका लागि पीडितले भारतमै गएर जाहेरी दिनुपर्छ र उतैको प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’

घाइते संग्रौलाको उपचारमा सहयोग गर्ने र भारतीय समकक्षीसँग समन्वय गर्ने काम मात्र नेपाल प्रहरीले गर्ने उनले जानकारी दिए। घाइते अस्पतालमा उपचाररत भएका कारण प्रहरीले बयान लिएर थप विवरण बुझिसकेको छैन । तर प्रहरी स्रोतका अनुसार घाइते युवा लागुपदार्थ प्रयोगकर्ता भएको र लागुपदार्थ सेवन गरी फर्किने क्रममा भारतीय युवाहरुसँग विवाद हुँदा गोली प्रहार भएको हो । घाइते युवाले पनि आफू पूर्व लागुऔषध प्रयोगकर्ता भएको स्वीकार गर्नुभएको छ । ‘म पूर्वलागुऔषध प्रयोगकर्ता हुँ तर अहिले प्रयोग गर्दिंन,’ घाइते सङ्ग्रौलाले भने ‘चिनी लिएर फर्किंदै थिएँ केही केटाहरुले यसलाई गोली हान्दिउँ भनेको सुनेपछि ल हान न त भनेको थिएँ हानी नै पो दिए ।’

सङ्ग्रौलामाथि जोगबनीस्थित रेल्वे स्टेसन उत्तरतर्फ गोली प्रहार भएको थियो । नेपालीहरुका लागि खुला आवतजावत गर्न नमिल्ने बाटो प्रयोग गरेर संग्रौला नेपालतर्फ आउँदै गरेको पाइएको छ । त्यसआधारमा पनि लागुऔषध प्रयोग गरेर फर्केको वा त्यस्ता साथीहरुको साथमा आउँदै गर्दा उक्त बाटो प्रयोग गरेको प्रहरीको अनुमान छ । नेपाल प्रवेश गर्ने मूल बाटो छोडेर अन्यत्रबाट हिँड्दा प्रहरीले नै शङ्कास्पद मानेको छ । सङ्ग्रौलामाथि भारतीय युवाहरुकै समूहले गोली प्रहार गरेको प्रहरीको अनुमान छ ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय