पर्यटन मन्त्रालय र मातहतका कर्मचारीले पशुपति सफाई गर्नुपर्ने
काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र त्यसमातहतका २१ वटा निकायका कर्मचारीले हरेक शनिबार दुई घन्टा पशुपतिनाथको सरसफाइ गर्नुपर्ने भएको छ । पशुपतिनाथको मन्दिर क्षेत्र फोहोर भएका कारण तीर्थयात्री घटेपछि मन्त्रालय सो निर्देशन दिएको हो ।
पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले मंगलबार कर्मचारीहरूलाई सरसफाइका लागि बाध्य बनाइएको मन्त्रालयले जनाएको छ ।
‘आराध्यदेव पशुपतिनाथको मन्दिर रहेको पाशुपत क्षेत्रमा नियमित सरसफाइ हुने नगरेको छ, यसै कारणले पशुपति क्षेत्रमा भक्तजनहरुको आवतजावतमा कमी हुँदै आएकाले मन्त्रालय र हामी मातहत उपत्यकामा रहेका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ कार्यक्रम गर्ने निर्णय भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘सामूहिक सफाइमा पशुपति क्षेत्र विकास कोषले सफाइमा प्रयोग हुने सरसामग्री उपलब्ध गराउनु पर्नेछ ।’
मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सबै निकायलाई सहभागिताका लागि निर्देशन दिएको छ । अब हरेक शनिबार बिहान पशुपति सफाइमा पर्यटन विभाग, पूरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारी सहभागी हुनुपर्ने छ।
त्यस्तै, पर्यटन बोर्ड, हनुमानढोका दरबार संग्राहलय हेरचाह विकास समिति, पाटन दरबार संग्रहालय हेरचाह विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थान प्रतिष्ठान, नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समिति, तारागाउँ विकास समिति, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारी पनि सरसफाईमा सहभागी हुनुपर्ने मन्त्रालयले जनाएको छ ।
पर्यटनमन्त्री सुदन किरातीले मातहतका सबै निकायलाई सेवाग्राहीहरुको हितका लागि नियमित सरसफाइ गर्न यसअघि निर्देशिका जारी गरेका थिए ।
उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।
कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।
बाराको गढीमाई मन्दिरमा मेला शुरु
बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।