पहिलोपटक नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

पहिलोपटक नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

काठमाडौ‌। काठमाडौ‌ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ ।

उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन् । उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ सो स्थानमा राख्न गृहकार्य सुरुआत गरेको छ । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसंँग संवाद गरिसकेको छ ।

नगरप्रमुख घनश्याम गिरीले भने, “काठमाडौ‌ उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ । प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?” उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ । यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मेसिनको करिब रु दुई करोड ५० लाख पर्ने जनाइएको छ ।

उनका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आह्वानसमेत गरेको छ । नगरप्रमुख गिरीले भने, “यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन । यसबाट समग्र उपत्यकाको सबै पालिका एवं सङ्घीय सरकारलाई समेत फाइदा पु¥याउँदछ । यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ । सम्भव भए नगरपालिका आफैँले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ नत्र अन्य उपाय अवलम्बन गर्छौ ।”

‘काठमाडौँ उपत्यका मेयर फोरम’ ब्युँतिदै

उपत्यकाका पालिकाबीचमा सहकार्य गर्न पुनः उपत्यकाका मेयर फोरमलाई सक्रिय बनाइन लागिएको छ । पहिलो स्थानीय तहको निर्वाचन पछि गठन भएको सो सस्थाको पहिलो पटक चन्द्रागिरिमा नै बसेको थियो । यसका लागि चन्द्रागिरि नगरपालिकाले सक्रियता देखाएको छ । फोहरमैला व्यवस्थापन, खानेपानी, कर, ट्राफिक व्यवस्थापन र पर्यटनका क्षेत्रमा साझा अवधारणा तय गरी काम गर्न फोरमले सहयोग पुग्ने नगरप्रमुख गिरीले जानकारी दिए ।

उनले भने, “उपत्यका मेयर फोरमको बैठकको आतिथ्यता चन्द्रागिरिले गर्ने छ । बैठक राख्न मैले समन्वय गरिराखेको छु । छिट्टै फोरमको बैठक हुन्छ । त्यही बैठकमा उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा स्क्यानिङ मेसिन राख्नेलगायत विषयमा कुरा राख्छु ।”

काठमाडौं महानगरपालिकाले नागढुङ्गामा स्क्यानिङ मेसिन राख्न सकारात्मक रहेको जनाएको छ । शनिबार फोहर व्यवस्थापनसम्बन्धी कुराकानी गर्न चन्द्रागिरि पुगेका कामपाका प्रमुख बालेन्द्र साहले भने, “नागढुङ्गामा भेइकल स्क्यानिङ मेसिन राख्ने चन्द्रागिरिका मेयरसावको प्रस्तावमा म सकारात्मक छु । मेसिन खरिदमा कसरी सहकार्य गर्ने भन्ने विषय अध्यन गरौँ । सम्भव हुन्छ भने नाकामा नै ‘वासिङ मेसिन’ पनि राखौँ ।”

कलङ्की–नागढुङ्गा राजमार्गमा गुड्ने ठूला सवारी साधन तथा स्थानीय बसमा समेत अनिवार्य फोहर राख्न ‘डस्टबिन’राख्नुपर्ने प्रावधानलाई नगरपालिकाले कडाइ गर्ने जनाएको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर सङ्कलनका लागि नगरवासीलाई झोला वितरणको तयारीसमेत गरेको चद्रागिरि नगरप्रमुख गिरीले बताए।

नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडकखण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो । यसबाट सो राजमार्गमा सडक दुर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो ।

नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ ।

उनले भने, “पहिलो चरणमा उक्त सडकखण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडकबत्ती जडान गरिएको थियो । यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ ।”

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय