पाँच वर्षका लागि आएको हुँ, स्पष्टीकरण सोध्ने आधार छैन : ज्ञवाली

पाँच वर्षका लागि आएको हुँ, स्पष्टीकरण सोध्ने आधार छैन : ज्ञवाली

काठमाडौं, पुष २१ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले आफूलाई स्पष्टीकरण सोध्नुपर्ने कारण र आधार नभएको जवाफ सरकारलाई दिएका छन् ।

कानुनले तोकेको दायरा नाघेर कुनै काम नगरेको जिकिर पनि उनले गरेका छन् । ‘प्रमुख कार्यकारी अधिकृतका रूपमा मैले सम्पादन गरी आएको भूमिकालाई सन्तोषजनक नरहेको भन्न कुनै पनि आधार, कारण र अवस्थाले मिल्ने देखिँदैन,’ ज्ञवालीले भनेका छन् ।

आफ्नो क्षेत्राधिकारबारे मन्त्रिपरिषद् जानाकार रहेको भन्दै ज्ञवालीले निर्देशक समितिबाट भएका निर्णय तथा प्राप्त निर्देशनहरूको कार्यान्वयन गर्ने–गराउने प्रक्रिया तदारुकताका साथ अवलम्बन गरेको दाबी पनि गरेका छन् । ‘निर्देशक समितिले प्राधिकरणलाई दिएको निर्देशन पालना गर्ने तथा अन्य मन्त्रालय तथा निकायलाई दिएको निर्देशन पालना गर्न–गराउन मैले ताकेता गर्ने र समन्वय गर्ने हो,’ उनले भनेका छन्, ‘तर, मन्त्रालयको वा स्वयं मन्त्रिपरिषद्को जिम्मेवारीको विषयमा म स्वयंले अरूको अधिकार क्षेत्रको अतिक्रमण गरी निर्णय हुन नमिल्ने कुरामा मन्त्रिपरिषद् जानकार छ ।’

ज्ञवालीले आफूले सम्बन्धित निकायसँग गरेको समन्वय र अनुगमनकै कारण ४१ हजार घर निर्माण सम्पन्न भई नियमानुसार किस्ता रकम भुक्तानी गर्ने प्रक्रियामा रहेको उल्लेख गरेका छन् । १८ हजार घरको पुनर्निर्माण जारी रहेको उनले स्पष्टीकरणमा लेखेका छन् । ‘मन्त्रिपरिषद्ले मलाई स्पष्टीकरण सोध्ने दिन नै स्वीकृत गरेको अनुदानसम्बन्धी कार्यविधिबमोजिम यथाशीघ्र दोस्रो र तेस्रा किस्ता अनुदान वितरण हुने हो,’ उनले भनेका छन्, ‘यही रफ्तारमा काम गर्ने हो भने प्राधिकरणलाई तोकिएकै समय सीमा तथा व्यवस्थापिका–संसद्बाट पारित नीति तथा कार्यक्रममा उल्लेखित लक्ष्यबमोजिम तोकिएको समयावधिभित्र निजी आवास पुनर्निर्माण अभियान आधारभूत रूपमा सम्पन्न भइसक्नेछ ।’

१२ पानाको स्पष्टीकरण : ७२ पानाको जवाफ
१३ पुसको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई पाँचबुँदे स्पष्टीकरण सोधेको थियो । एक साताको म्याद राखेर सोधिएको स्पष्टीकरणको जवाफ ज्ञवालीले बुधबार दिउँसो ३ः५० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ज्ञवालीले १२ पानाको स्पष्टीकरण र थप ६० पानाको अनुसूचीसहति ७२ पाना लामो पत्र बुझाएका हुन् ।

‘पाँच वर्षका लागि आएको हुँ’
स्पष्टीकरणको सुरुमै ज्ञवालीले आफू पाँच वर्षका लागि प्राधिकरणको सिइओमा नियुक्त भएको भन्दै पहिलो एक वर्षमा गर्नुपर्ने काम गरेको उल्लेख गरेका छन् । ‘भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ ले प्राधिकरणको समय पाँच वर्षको तोकेको र प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा म पाँच वर्षका लागि नियुक्त भएअनुसार पहिलो वर्षभित्र सम्पन्न गर्नुपर्ने कार्य आधारभूत रूपमा सम्पादन भइसकेको,’ ज्ञवालीले भनेका छन् । उनले सरकारले सोधेका प्रश्नको वस्तुगत र सीधा जवाफ पठाएका छन् । प्राधिकरणको कामबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुरुदेखि नै सन्तुष्ट थिएनन् । अर्कोतर्फ प्राधिकरणका अध्यक्ष ज्ञवाली प्रधानमन्त्रीसँग पनि रुष्ट रहेको स्पष्टीकरणले देखाएको छ । यदि सरकारले आफूलाई पदबाट हटाए कानुनी लडाइँका लागि तयार रहेको संकेत ज्ञवालीले गरेका छन् । प्राधिकरणमा अध्यक्ष र प्रमुख कार्यकारीको सम्बन्ध राम्रो नहुने हो भने पुनर्निर्माणको काम प्रभावित बन्न सक्छ ।

झन् मर्कामा पीडित
उपल्लो तहमा देखिएको विवादको पीडा भूकम्पपीडितले खप्नुपर्ने निश्चित छ । भूकम्पका कारण घर गुमाएका करिब पाँच लाख पीडितको घर बनेको छैन । दुईवटा जाडो र दुईवटा बर्खा पाल र टहरोमा बिताएका उनीहरूले अझै कति कष्ट सहनुपर्ने हो ? कुनै टुंगो छैन । सरकार प्राधिकरणको सिइओको विवादमा अल्झँदा पुनर्निर्माण अवरुद्ध हुने निश्चित छ । यसले आवास अनुदान वितरण, बस्ती स्थानान्तरण तथा अन्य सम्पदानको पुनर्निर्माणमा ढिलाइ हुनेछ । प्राधिकरणले कार्ययोजना पनि तयार पारेको छ । त्यस कार्ययोजनाअनुसार कामसमेत अब हुन सक्दैन । जसका कारण पाँच वर्षमा पुनर्निर्माण सक्ने सरकारी लक्ष्य अलपत्र हुने देखिन्छ ।

सरकारको प्रश्न, सिइओको जवाफ
भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ ले प्राधिकरणको समय पाँच वर्षको तोकेको र प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा म पाँच वर्षका लागि नियुक्त भएअनुसार पहिलो वर्षभित्र सम्पन्न गर्नुपर्ने कार्य आधारभूत रूपमा सम्पादन भइसकेको छ । प्रमुख कार्यकारी अधिकृतका रूपमा मैले सम्पादन गरी आएको भूमिकालाई सन्तोषजनक नरहेको भन्न कुनै पनि आधार, कारण र अवस्थाले मिल्ने देखिँदैन । स्पष्टीकरण सोधिनुपर्ने कुनै आधार र कारण छैन । निर्देशक समितिले प्राधिकरणलाई दिएको निर्देशन पालना गर्ने तथा अन्य मन्त्रालय तथा निकायलाई दिएको निर्देशन पालना गर्न–गराउन मैले ताकेता गर्ने र समन्वय गर्ने हो । तर, विभिन्न मन्त्रालयको वा स्वयं मन्त्रिपरिषद्को जिम्मेवारीको विषयमा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको रूपमा म स्वयंले अतिक्रमण गरी निर्णय गर्न नमिल्ने कुरामा मन्त्रिपरिषद् जानकार छ ।

पुनर्निर्माणसँग सम्बन्धित निकायबीच समन्वयन गर्न किन सक्नुभएन ?
ज्ञवाली : समन्वयात्मक रूपमा भूमिका निर्वाह गरेको तथ्य विश्व बैंक, जाइका, डिएफआइडी, युएसएआइडी, स्विस डेभलपमेन्ट नियोगलगायतका प्रमुख दातृ निकायहरूले प्राधिकरणको काम सन्तोषजनक रहेको भनी उल्लेख गरिसकेका छन्।

कर्मचारीलाई उपयुक्त ढंगले परिचालन गर्न किन सक्नुभएन ?
ज्ञवाली : थप कर्मचारी उपलब्ध गराउन सामान्य प्रशासनमन्त्रीज्यू एवं सचिवहरूज्यूसँग पटक–पटक भेट गरी विभिन्न चरणमा छलफल गरी अनुरोध गरे पनि आवश्यकताअनुसार कर्मचारी उपलब्धता नभएकाले यसको दोष लगाउन मिल्दैन ।

निर्देशक समितिको निर्णय किन कार्यान्वयन गर्नुभएन ?
ज्ञवाली : निर्देशक समितिबाट प्राधिकरणले गर्नुपर्ने भनिएको निर्णयहरू कार्यन्वयन भई परिणाम देखिएको कारणले नै प्राधिकरणबाट भएको कार्य सन्तोषजनक रहेको भन्ने १० असोज ०७३ गतेको सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा रहेको निर्देशक समितिबाट निर्णय भएको हुँदा प्रस्तुत स्पष्टीकरणमा उल्लेखित व्यहोरा स्वतः खण्डित हुन्छ ।

भूकम्पपीडितलाई आवास अनुदान उपलब्ध गराउन किन सक्नुभएन ?
ज्ञवाली : सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार ४५ दिने अनुदान वितरण अभियान सफलतापूर्वक सञ्चालन गर्दै पाँच लाख ३१ हजार लाभग्राहीमध्ये जम्मा चार लाख ७७ हजार लाभग्राहीसँग अनुदान सम्झौता गरिएको । यस कार्यलाई निर्देशक समितिको १० असोज ०७३ को बसेको बैठकले अनुदान सम्झौता तथा अनुदान वितरणका क्रममा देखापरेका विभिन्न प्रतिकूलताका बाबजुद प्राधिकरणको संयोजनमा सम्बद्ध मन्त्रालय तथा कार्यान्वयन निकायद्वारा भएको कार्यप्रगति अवस्था सन्तोषजनक रहेको भनी उल्लेख भएकै छ ।

सिइओको पदावधिसम्बन्धी व्यवस्था :
भूकम्प प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ११ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पदावधि नियुक्त भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । सरकारले आवश्यकताअनुसार सिइओको पदावधि एक वर्षका लागि थप गर्न सक्ने व्यवस्था पनि छ । सोही दफाको उपदफा ४ मा सिइओको काम सन्तोषजनक नभएमा सरकारले निजलाई जुनसुकै वेला पदबाट हटाउन सक्ने, तर त्यसरी हटाउनुअघि सफाइ पेस गर्ने मौका दिनुपर्ने उल्लेख छ ।

यो खबर आजको नयाँ पत्रिकामा छ ।

कृषकहरूको समस्यामा सरकार गम्भीर बनोस्  : अध्यक्ष प्रचण्ड

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले सहकारीमार्फत साना किसानलाई बजारको सहज पहुँच प्रदान गर्न आग्रह गरे। प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, “धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभएर यो हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी पनि हो ।” नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान करिब ५० प्रतिशतभन्दा बढी छ । यो हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको अध्यक्ष दाहालले बताए । यस वर्षको नारा ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ले धानखेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता दर्शाउने उनले उल्लेख गरे । समयमा मल, बीउ र सिँचाइको अभावले किसानले ठूलो कठिनाइ भोगिरहनुपरेको  अध्यक्ष दाहालको भनाइ छ । सन्देशमा अगाडि भनिएको छ, “मैले नेतृत्व गरेको सरकारको पालामा, हामीले रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका थियौँ, ठूला, मझौला र साना सिँचाइ परियोजनालाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्याउन सघन प्रयास गरेका थियौँ ।” उनले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको बताए।  धानबालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै धान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धानखेतीमा परनिर्भरताको अन्त्य गर्नुपर्नेमा जोड दिए । “सरकारले यो विषयमा गम्भीर बनेर किसानलाई न्याय गर्न माग गर्न चाहन्छु, सरकारसँग धानबालीमा सघनता ल्याउन बीउ, मल, सिँचाइ र धान जोनमा पर्याप्त लगानी सुनिश्चित गर्न सकिन्छ”, अध्यक्ष प्रचण्डले भने ।”

संसदीय समितिमा पारित भएका विधेयकमाथि छेडखानी नहोस् : अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गर्नुभएको हो। अध्यक्ष प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो।” संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराउनुभयो। उहाँले थप्नुभयो, “संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौं।” अध्यक्ष प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिनुभयो। उहाँका अनुसार, विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र संघीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ। “यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु। तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ,” उहाँले भन्नुभयो। उहाँले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी अधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो। अध्यक्ष प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गर्नुभयो ।

रास्वपा र रविमाथि अन्याय नहोस् भनेर लागिरहेको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्ने हेतुले अन्तिमसम्म प्रयास गरेको बताएका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै  प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपाले देखाएको असहमति र सत्ता साझेदारहरूबीचको सहमतिका विषयमा प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। “रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो। अझै गर्दैछु। रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ,” प्रचण्डले भने। उनले अहिले पनि रास्वपामाथि टिप्पणी गर्न नचाहेको जनाउँदै परिस्थितिको गम्भीरतालाई महसुस गरिरहेको संकेत दिएका छन्। यसअघि रास्वपाले सरकारले ल्याएको अध्यादेशसहितका विषयहरूमा असहमति जनाउँदै सार्वजनिक रूपमा असन्तुष्टि प्रकट गरेको थियो। सोही दिन  प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए। भेटमा संसदको वर्तमान अवस्था र समाजवादी मोर्चाको आगामी दिशा सम्बन्धमा छलफल भएको बताइएको छ । “सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ। समाजवादी मोर्चालाई कसरी अगाडि लैजाने र दुई पार्टीबीचको सम्बन्धबारे सामान्य छलफल हो, गम्भीर विषयमा होइन,” प्रचण्डले जानकारी दिएका छन्। यसले हालको सत्ता समीकरणमा देखिएको असमझदारी र सम्भावित फेरबदलको संकेत समेत दिएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

शिक्षकका मागमा सरकार बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : अध्यक्ष प्रचण्ड

काठमाडौं - नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँकै निवास खुमलटारमा भेटवार्ता गर्नुभयो। भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राख्नुभयो । शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेशा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेशा भएको उल्लेख गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनकि यो एक सम्मानित पेशा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ।” उहाँले थप्नुभयो, “सरकार र शिक्षक महासंघबीच भएका सहमति कार्यान्वयन नहुने अवस्था सिर्जना भएको छ। हामीले सदनको अवरोध हटाउने निर्णय पनि सरकारलाई ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना नबनाउन सकोस् भनेर गरेका हौं।” अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामी ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमा लाग्नेछौं।” उहाँले प्रारम्भिक बालविकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो। भेटका क्रममा शिक्षक महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयनमा पहल लिइदिन आग्रह गर्नुभयो।

लोकप्रिय