पाटन अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि विवाद

पाटन, माघ २२ । नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच विवाद भएको छ । अस्पतालको लापरवाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि पाटन अस्पतालमा विवाद जन्मिएको हो ।
कास्की पोखराकी प्रमा थकाली श्रेष्ठको नवजात शिशुको शुक्रबार मध्यराति अस्पतालमै मृत्यु भएको घोषणा अस्पतालले गरेको थियो । आफन्तहरुले भने अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै सत्यतथ्य छानबीन गर्न माग गरेपछि विवाद चर्किएको हो ।
आफन्तहरुले मृतकको शव अहिलेसम्म बुझेका छैनन् । मृतक नाबालककी हजुरआमा अनिता धितालले अस्पतालले सुत्केरी हुँदादेखि अहिलेसम्मको रिपोर्ट उपलब्ध गराउन अस्पतालले नमानेको बताइन । पोखरा घइ भई हाल बसुन्धारा बस्ने प्रमाले अस्पताल भर्ना भएको गत माघ १७ गते दुई छोरा जन्माएकी थिइन् ।
उनको दुई नाबालकमध्ये पहिले जन्मेका बच्चालाई अस्पतालले शुक्रबार राति मृत्यु भएको घोषणा गरेको थियो । बालकलाई भएको समस्याबारे अस्पतालले बताउन नचाहे पनि उनलाई आइसीयूमा राखेर उपचार गराइएको थियो ।
मृतकका आफन्तले एन्टिवायटिक औषधि बढी खुवाएका कारण नाबालकको मृत्यु भएको आरोप लगाएका छन् ।
उनीहरुका अनुसार बच्चा जन्मेको १७ घण्टापछि औषधि दिइएको थियो । सामान्य प्रसुतीबाट जन्मेको बच्चाको मृत्यु हुन पुगेकाले सत्यतथ्य छानबिन गर्न मृतक नवजात शिशुका बुबा आशिष श्रेष्ठले माग गरे ।
उनकाअनुसार प्रमा थकाली पाटन अस्पतालमै चार महिनादेखि निरन्तर स्वास्थ्य जाँचमा थिइन् ।
सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।
श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड
ललितपुर , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै, त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। “घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भन्नुभयो, “हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौं। अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौं।” जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दृढतापूर्वक भन्नुभयो, “जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुनेछैन।” कार्यक्रममा उहाँले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
पैदलयात्री अभियान्ताले भेट अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुग्नुभएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्नुभएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो। उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको दर १३८ रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९असार ८० का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा तोकिएको छ। अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ: स्वीस फ्र्यांक: खरिददर १६९.०७, बिक्रीदर १६९.८० अस्ट्रेलियन डलर: खरिददर ८९.६४, बिक्रीदर ९०.०३ क्यानेडियन डलर: खरिददर १००.८६, बिक्रीदर १०१.३० सिंगापुर डलर: खरिददर १०७.५८, बिक्रीदर १०८.०५ जापानी येन (१० यन): खरिददर ९.५०, बिक्रीदर ९.५४ चिनियाँ युआन: खरिददर १९.२५, बिक्रीदर १९.३४ साउदी रियाल: खरिददर ३६.८४, बिक्रीदर ३७.०० कतारी रियाल: खरिददर ३७.९२, बिक्रीदर ३८.०९ यूएई दिराम: खरिददर ३७.६४, बिक्रीदर ३७.८१ मलेसियन रिंगेट: खरिददर ३२.५१, बिक्रीदर ३२.६५ त्यस्तै, भारतीय रुपैयाँ १०० को विनिमयदर १६० रुपैयाँ खरिददर र १६० रुपैयाँ १५ पैसा बिक्रीदरमा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने पनि जानकारी दिएको छ।