पुनःनिर्माणमा पर्म विधि प्रभावकारी बन्दै

पुनःनिर्माणमा पर्म विधि प्रभावकारी बन्दै

नुवाकोट, वैशाख १० । पुनःनिर्माणमा श्रम आदानप्रदान (पर्म) विधि कति प्रभावकारी हुँदो रहेछ भन्ने जीवन्त र सशक्त उदाहरण किस्पाङ गाउँपालिकाअन्तर्गतका काउले र भाल्चेका भूकम्पपीडितले प्रस्तुत गरिरहेका छन् ।

यी दुई गाउँका बासिन्दाले भूकम्पपछि निजी घर आवास बनाउन हराउँदै र मासिँदै गएको पर्म विधिलाई सशक्त रुपमा ब्यूँताउँदा अन्यका लागि प्रेरणासमेत बन्न पुगेको छ । उसो त ‘महिलाले घर बनाउन हुँदैन’ भन्ने परम्परागत मान्यतालाई यहाँका महिलाले अन्त्य गर्दै महिलाको मात्र छुट्टै समूह गठन गरी सामूहिक रुपमा पर्म विधिद्वारा धमाधम घर निर्माण, आय आर्जन र जीविकोपार्जनका अन्य विविध कामसमेत गरिरहेका छन् ।

घडेरी सम्याउने, जग खन्ने, निर्माणका लागि आवश्यक सामग्री निर्माणस्थलसम्म जम्मा गर्नेदेखि लिएर दक्ष डकर्मीलाई आवश्यक पर्ने सहयोग गर्ने काम महिलाले यहाँ गरिरहेका छन् । काउले वडा नं ३ मा गठित महिला समूहकी ४५ वर्षीया सार्की तामाङले भन्नुभयो– “समूहमा बसेर यति छिटो घरको छाना हाल्ने दिन आउँछ भन्ने लागेकै थिएन ।” उनी एक्लै भएपनि पर्म लगाएर समूहले बनाएको घरको छाना हाल्न मात्र बाँकी रहेको छ ।

उनका दुई छोरा घरबाहिर छन् । बूढा अशक्त छन् । गाउँमा आवास निर्माण समूह गठन पर्दा उनी समूहमा आबद्ध भइन् । काउलेमा निजी आवास निर्माण गर्न गठन भएका आठवटा समूहमध्ये तीनवटा समूह त महिलाका मात्र रहेका छन् । समूहमा आबद्ध सबैले पर्मद्वारा धमाधम दिनरात, घाम पानी नभनी ‘आफ्नो लागि आफ्नाले’ नै घर बनाइरहेका छन् ।

यसैगरी भाल्चेमा पनि निजी आवास निर्माण गर्न सातवटा समूह सक्रिय रहेको छन् । ती समूहमा रहेका सबैले नै पर्मद्वारा नै आवास निर्माणमा जुटिरहेका छन् । उसो त नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा ती दुई गाउँका एक हजार ९५८ निजी आवास निर्माण, जीविकोपार्जनलगायत अन्य आय आर्जन बढाउन उनीहरुलाई आर्थिक एवम् प्राविधिक सहायता प्रदान गरिरहेको छ ।

भूकम्प प्रतिकार्य कार्यक्रम, नुवाकोट जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाका अनुसार हाल ती दुई गाउँका अधिकांशले पहिलो किस्ताबापतको रकम प्राप्त गरिसकेका छन् । डिपिसीसम्म सम्पन्न ४३० लाभग्राहीमध्ये २४४ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझिसकेका र बाँकीको प्राविधिक अनुगमनका साथ घर बनाउन तीव्रता दिइरहेका छन् ।

समाजशास्त्रीसमेत रहनुभएका खतिवडा पर्म प्रणालीले सामाजिक एकता र सहिष्णुतालाई बलियो बनाउँदै विपद्का समयमा समुदाय एकजुट भई सामना गर्ने, धैर्य धारण गर्ने र पुनःनिर्माणमा एकजुट हुन प्रेरित बनाउने हुँदा यसप्रति समाजलाई थप उत्साहित, जागरुक बनाउने बताउनुहुन्छ ।

सात हजार निजी आवास निर्माणमा तीव्रता

सोसाइटीले भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरु गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ओखलढुङ्गा र रामेछापमा विभिन्न देशका रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

विपद्को सामना गर्न सक्नेगरी समुदायको क्षमता विकास गराउने, विपन्न तथा सङ्कटापन्न समुदायलाई मानवीय सहायताको उपलब्ध गराई पुनः पहिलेकै सुरक्षित अवस्थामा पु¥याउने सो कार्यक्रमको मुख्य ध्येय रहेको कार्यक्रमका केन्द्रीय संयोजक उमेश ढकालले जानकारी दिनुभयो ।

सो कार्यक्रम विशेष गरी अति विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक एवम् सामाजिक जीवनस्तर माथि उठाउन टेवा पु¥याउन छवटा विषयगत क्षेत्र आवास निर्माण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य, जीविकोपार्जनका साथमा नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को संस्थागत विकास गर्न कार्यक्रम केन्द्रित रहेको छ ।
हाल सो कार्यक्रमले ओखलढुङ्गाको हर्कपुर गाविसमा ३२७ र प्राप्चा गाविसमा १९३, रामेछापको रामपुर गाविसमा ६४३, मन्थली दुईमा ४२६, सिन्धुलीको शीतलपाटी गाविसमा ८८० मा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घको आर्थिक एवम् प्राविधिक सहयोगमा आवास निर्माणमा सहयोग गरिरहेको संयोजक ढकालले बताउनुहुन्छ ।

यसैगरी सोसाइटीले जापानिज रेडक्रस सोसाइटीको आर्थिक एवम् प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको थाम्पालकोटमा ६८३, थाम्पाल धापमा ८१०, अमेरिकन रेडक्रस सोसाइटीको आर्थिक एवम् प्राविधिक सहयोगमा नुवाकोटको काउले ९५३, भाल्चेमा एक हजार पाँच, रसुवाको ठूलोगाउँमा ४४३ र मकवानपुरको गोगनेमा ६३७ भूकम्पपीडितलाई आवास निर्माणमा सहयोग गरिरहेको छ ।

कार्यक्रमले अतिप्रभावित १४ वटै जिल्लाका चार हजार २०० जनालाई भूकम्प प्रतिरोधी घर बनाउन डकर्मी तालिम प्रदान गरिसकेको छ । यस्ता डकर्मी हाल निर्माणमा जुटिरहेका छन् । करिब ४४ हजार व्यक्तिलाई सुरक्षित रुपमा आवास निर्माण कसरी गर्ने भन्ने विषयमा प्राविधिक ज्ञान प्रदान गरिएको कार्यक्रम संयोजक ढकालले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्र निर्माण हुँदै

अर्काेतर्फ भूकम्पले क्षति पु¥याएका स्वास्थ्य संस्थाको पुनःनिर्माणमा सोसाइटीले सहयोग गरिरहेको छ । भूकम्प प्रतिकार्य कार्यक्रमका स्वास्थ्य संयोजक डा मौसम बोहराका अनुसार भूकम्प अतिप्रभावित धादिङ, सिन्धुपाल्चोक र काभ्रे जिल्लाका विभिन्न २९ स्वास्थ्य चौकीका पुनःनिर्माण जारी रहेकामध्ये चारवटा सम्पन्न भइसकेका छन् । रसुवाको जिल्ला अस्पताल निर्माणाधीन रहेको छ ।

स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सेवा सञ्चालन गर्न, स्वास्थ्य संस्थाको स्तरोन्नति, समुदायमा आधारित स्वास्थ्य प्रवद्र्धनको लागि प्राथमिक उपचार, पोषण, पूर्णखोप, सुरक्षित मातृत्व, स्वास्थ्य व्यवहार तालिम सञ्चालन एवम् मनोसामाजिक सहायता जारी रहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी सोही कार्यक्रमले भूकम्पले क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनःनिर्माण, थप खानेपानी आयोजना सञ्चालन, खानेपानी उपभोक्ता समूहलाई आवश्यक तालिम, शौचालय पुनःनिर्माण, स्वच्छता प्रवद्र्धनसम्बन्धी गतिविधि सञ्चालन तथा खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने सरकारको अभियानमा सहयोग गर्ने कार्य पनि अगाडि बढाइरहेको छ ।

जीविकोपार्जनअन्तर्गत कृषि तथा पशुपालनसम्बन्धी तालिम, पशु नश्ल सुधार, पशुधन बिमा प्रवद्र्धन, स्थानीय सीप, स्रोत साधनमा आधारित साना व्यवसाय सञ्चालन, स्थानीय बजारमा भएका गैरकृषि उत्पादन प्रवद्र्धन, सिँचाइ सुविधाजस्ता १५ हजारभन्दा बढी योजना १४ जिल्लामा सञ्चालनमा रहेका र यसले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याएको कार्यक्रमका संयोजक ढकालले जानकारी दिनुभयो ।

नेपाल रेडक्रसलाई रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घको अगुवाइमा ५० भन्दा बढी देशका रेडक्रस सोसाइटी तथा दातृ निकायले साथ दिएका छन् । तीमध्ये अमेरिकन, अस्ट्रेलियन, बेल्जियम, ब्रिटिस, क्यानेडियन, डेनिस, जर्मन, जापानिज, कोरियन, नर्वेजियन, स्पेनिस, स्विस, कोरियन, मोनाको रेडक्रस सोसाइटी रहेका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय