प्रधानमन्त्री प्रचण्ड काममा व्यस्त, उच्च तहका कर्मचारी घुमघाममा मस्त !

प्रधानमन्त्री प्रचण्ड काममा व्यस्त, उच्च तहका कर्मचारी घुमघाममा मस्त !

काठमाडौ, चैत १९ । प्रधानमन्त्री कार्यालयका २ जना सचिव सहित केही सहसचिव र केही उपसचिवको समूह गएको शनिबारदेखि हराएको गाईगुईँ थियो । उनीहरु कुन प्रयोजनका लागि कहाँ गएका हुन भन्ने कुरा तल्लो तहमा कतै थाहा भएन । बिहीबार अर्थ मन्त्रालयले बजेटका विषयमा राखेको छलफलमा प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयबाट प्रशासन महाशाखाका दामोदर रेग्मी सहभागी हुनुपर्ने भएपनि उनी कार्यालयमा भेटिएनन् । सोधखोज गर्दै जाँदा बल्ल थाहा भयो उनी दक्षिण अफ्रिका पुगेका रहेछन् । उनी नभएपछि फेरी खोजीभयो अर्का सह सचिव डिल्लीराज शर्माको । उनीपनि भेटिएनन र थाहा भए उनी पनि विदेश भ्रमणमै छन् ।
बिहीबार भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा हराएका कर्मचारीको सूचि तयार भयो । यो घटनाले प्रधानमन्त्री पुष्पकमल दाहाल आफू योजना निर्माण, अनुगमन र निर्देशनमा दौडधुप गरीरहँदा कार्यालयका कर्मचारी भने पत्तै नदिई विदेश घुम्ने गरेको रहस्य फेला प¥यो । उच्च तहका कर्मचारी घुमघाममा हिँडेपछि कामकाज ठप्प भएको छ ।

चार सचिव मध्ये तीन जना बिदामा
सह सचिव दामोदर रेग्मीको खोजी गर्दै जाँदा तीन जना सचिव समेत एकैपटक विदामा बसेको भेटिएको हो । चार जना सचिवको व्यवस्था हुने प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका तीनजना एकैपटक विदामा बसेपछि कामकाज पूरै ठप्प भएको छ ।

सचिव रामकुमार शर्मा विरामी विदामा बसे पनि मन्त्रीपरिषद सचिवालयको आर्थिक तथा पूर्वाधार विकास शाखाका सचिव टंकमणी शर्मा र शासकीय सुधार योजना तथा अनुगमन र सामाजिक विकास शाखाका सचिव दिनेश थपलिया सुटुक्क अफ्रिका भ्रमणमा निस्केको फेला प¥यो । उनीहरुले घुम्नका लागि सहसचिव तथा प्रवक्ता दामोदर रेग्मी र डिल्लीराज शर्मा, तथा उपसविचहरु हिरामणी शर्मा र प्रेम लामिछानेलाई पनि दक्षिण अफ्रिका पु¥याएका छन् । मन्त्रालयका अर्का पनि बिदामा छन् ।

पोल खुल्ने डरले आफै टिप्पणी उठाएर हिँडे
नियमत मातहतको प्रशासन शाखाबाट टिप्पणी उठाएर उनीहरुको भ्रमण स्विकृत हुनुपर्ने हो । तर तल्लो तहमा घुम्न हिँडेको पोल खुल्ने डरले सचिव थपलियाले आफै टिप्पणी उठाएर विदेश पुगेको भेटिएको छ । ‘कामका लागि जाने हो भने कमसेकम प्रकृयागत ढंगले त जानुपर्ने हो तर हामी एउटै महाशाखाका कर्मचारीलाई थाहा छैन’ शासकिय सुधार महाशाखाका एक अधिकृतले भने ‘लुकेर लुकाएर हिँड्नुपर्ने भएपछि यहाँ कुनै गडबढी छ, तपाईँहरु खोज्नुस ।’
सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीलाई योजना अनुसार काम गर्न नदिएर हायलकायल पारेपछि उनलाई कार्कीले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेका थिए । थपलियाको सरकारलाई असहयोग गर्ने र विदेश सयर गर्ने धन्दा प्रधानमन्त्री कार्यालयमा समेत नहटेको ति कर्मचारीले बताए ।

प्रधानमन्त्रीको निर्देशन एकातिर कर्मचारीको काम अर्कातिर
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएदेखि जनतालाई जतिसक्यो बढि सहज र सरल तरीकाले सेवा दिन र विकासका काम तिब्र रुपमा अगाडी बढाउन कर्मचारीलाई निर्देशन दिएको कुरा पटक पटक सार्वजनिक भयो । आफू कहिले राष्ट्रिय गौरवका योजना अनुगमनमा पुग्छन्, कहिले भेटघाट र छलफलमा बसेर विभीन्न योजनाहरु बनाउने र कार्यान्वयनका लागि निर्देशन दिन्छन् । प्रधानमन्त्रीको निर्देशन अनुसार अन्य मन्त्रालय, विभाग र अन्य कार्यालयको काम तिब्र रुपमा भएको जनताले महसुस गरेपनि प्रधानमन्त्री तथा मन्त्रीपरीषदकै कार्यलयका उच्च तहका कर्मचारी भने प्रधानमन्त्रीको निर्देशन पूरै वेवास्ता गरेर बसेका छन् । यो घटनाले उच्च तहका कर्मचारीहरुले घुमघाम र आलटालमा समय विताएको पुष्टि भएको छ ।

हप्तादेखि दर्जनौँ फाईलहरु पेण्डिङ्गमा
कार्यसम्पादन गर्नुुपर्ने सचिवहरु भ्रमणमा हिँडेपछि उनीहरुको महाशाखामा दर्जनौँ फाईलहरु त्यतिकै थुप्रिएका छन् । ‘प्रधानमन्त्री भएर के गर्नु सचिव, सहसचिव र उपसविच नभएपछि काम ठप्पजस्तो छ’ सम्बन्धित शाखाका अधिकृहरुको एउटै भनाई छ ‘बजेट छलफलमा सरोकारवाला हुँदैनन र अरुलाई पठाउनुपर्छ, कामका फाईलहरु थुपार्ने बस्ने भएको छ ।’

नियतबस असहयोग
अघिल्लो तुलनामा काम कार्यान्वयन धेरै भएको यो बेला उच्च तहका कर्मचारीको असहयोगले हैरानी ब्यहोर्नुपरेको अन्य कर्मचारीहरुको गुनासो छ । सचिवहरुले असहयोग गर्ने नियतले नै कार्य सम्पादन समयमा नगर्ने गरेको गुनासो धेरै अधिकृतहरुको छ । ‘एकैछिनमा हुने कामको फाईल पनि हप्तौँ अड्किन्छ, सोधखोज ग¥यो भन्नेवित्तीकै कहाँ हुन्छ भन्ने जवाफ आउँछ’ एक अधिकृतले गुनासो गरे ‘यसो विचार गर्दा त सरकारलाई असहयोग गर्ने नियत नै हो कि जस्तो पो लाग्छ ।’

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै, छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। “परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। आज तपाईंहरूले संघीय निजामति विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ,” उहाँले भन्नुभयो, “यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं।” अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याउनुभयो। “यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्‍यौं। अहिले पनि त्यो प्रवृत्ति जारी छ,” उहाँले स्पष्ट पार्नुभयो। सो अवसरमा अध्यक्ष प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गर्नुभयो। “वाइसिएल नेपाल पार्टीको उत्तराधिकारी संगठन हो, प्रतिक्रियावादी षड्यन्त्रलाई चिर्ने शक्ति हो,” उहाँले भन्नुभयो, “पार्टीको आठौं महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक छ।” उहाँले वाइसिएलसँग जनताका समस्या समाधान गर्ने संघर्षमा सधैं अग्रपङ्क्तिमा रहनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो। “युवा आन्दोलनको इतिहास जनताको समस्या समाधान गर्दै अघि बढेको हो,” उहाँले भन्नुभयो, “भित्र र बाहिर अहिले जटिल परिस्थिति छ, जुन जनयुद्धका समयमा पनि भोगिएको थियो । त्यसमा नेतृत्व र विचारको रक्षामा वाइसिएल एकताबद्व भएर लाग्न जरूरी छ ” अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा वर्गसंघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै, विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। “महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्व र विचारको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो। उहाँले वर्षायाम पछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिंदै  त्यसपछि सुरु गरिने संगठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। वाइसिएलले जुजारु भूमिका खेल्ने गरी काम गर्नुपर्ने र संगठन निर्माणलाई प्राथमिकता दिनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।

कृषकहरूको समस्यामा सरकार गम्भीर बनोस्  : अध्यक्ष प्रचण्ड

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले सहकारीमार्फत साना किसानलाई बजारको सहज पहुँच प्रदान गर्न आग्रह गरे। प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, “धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभएर यो हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी पनि हो ।” नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान करिब ५० प्रतिशतभन्दा बढी छ । यो हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको अध्यक्ष दाहालले बताए । यस वर्षको नारा ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ले धानखेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता दर्शाउने उनले उल्लेख गरे । समयमा मल, बीउ र सिँचाइको अभावले किसानले ठूलो कठिनाइ भोगिरहनुपरेको  अध्यक्ष दाहालको भनाइ छ । सन्देशमा अगाडि भनिएको छ, “मैले नेतृत्व गरेको सरकारको पालामा, हामीले रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका थियौँ, ठूला, मझौला र साना सिँचाइ परियोजनालाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्याउन सघन प्रयास गरेका थियौँ ।” उनले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको बताए।  धानबालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै धान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धानखेतीमा परनिर्भरताको अन्त्य गर्नुपर्नेमा जोड दिए । “सरकारले यो विषयमा गम्भीर बनेर किसानलाई न्याय गर्न माग गर्न चाहन्छु, सरकारसँग धानबालीमा सघनता ल्याउन बीउ, मल, सिँचाइ र धान जोनमा पर्याप्त लगानी सुनिश्चित गर्न सकिन्छ”, अध्यक्ष प्रचण्डले भने ।”

संसदीय समितिमा पारित भएका विधेयकमाथि छेडखानी नहोस् : अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गर्नुभएको हो। अध्यक्ष प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो।” संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराउनुभयो। उहाँले थप्नुभयो, “संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौं।” अध्यक्ष प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिनुभयो। उहाँका अनुसार, विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र संघीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ। “यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु। तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ,” उहाँले भन्नुभयो। उहाँले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी अधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो। अध्यक्ष प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गर्नुभयो ।

रास्वपा र रविमाथि अन्याय नहोस् भनेर लागिरहेको छु : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्ने हेतुले अन्तिमसम्म प्रयास गरेको बताएका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै  प्रचण्डले भिजिट भिसा प्रकरणमा रास्वपाले देखाएको असहमति र सत्ता साझेदारहरूबीचको सहमतिका विषयमा प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। “रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो। अझै गर्दैछु। रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ,” प्रचण्डले भने। उनले अहिले पनि रास्वपामाथि टिप्पणी गर्न नचाहेको जनाउँदै परिस्थितिको गम्भीरतालाई महसुस गरिरहेको संकेत दिएका छन्। यसअघि रास्वपाले सरकारले ल्याएको अध्यादेशसहितका विषयहरूमा असहमति जनाउँदै सार्वजनिक रूपमा असन्तुष्टि प्रकट गरेको थियो। सोही दिन  प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमै भेटवार्ता गरेका थिए। भेटमा संसदको वर्तमान अवस्था र समाजवादी मोर्चाको आगामी दिशा सम्बन्धमा छलफल भएको बताइएको छ । “सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ। समाजवादी मोर्चालाई कसरी अगाडि लैजाने र दुई पार्टीबीचको सम्बन्धबारे सामान्य छलफल हो, गम्भीर विषयमा होइन,” प्रचण्डले जानकारी दिएका छन्। यसले हालको सत्ता समीकरणमा देखिएको असमझदारी र सम्भावित फेरबदलको संकेत समेत दिएको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

लोकप्रिय