प्रहरी स्कुलमा विद्यार्थीको रहस्यमय मृत्यु

प्रहरी स्कुलमा विद्यार्थीको रहस्यमय मृत्यु

काठमाडौं , चैत १८ । रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ। मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ।

उक्त स्कुलमा आठ कक्षामा अध्ययनरत १४ वर्षीय कुन्दन थापालाई मृत्यु अवस्थामा उनका आफन्तले प्रहरी अस्पतालमा भेटेका थिए। स्कुल व्‍यवस्थापनले तत्काल प्रहरी अस्पताल आउनु भनी खबर गरेपछि मृतकका आफन्तले त्यहाँ पुग्दा कुन्दन मृत अवस्थामा भेटिएका थिए ।

स्कुल व्यवस्थापनका अनुसार कुन्दनविरुद्ध उनी अध्ययनरत कक्षाकै एक छात्राबाट ‘कम्प्लेन’ आएपछि वार्डेन शर्मिला गुरुङले बुधबार यस विषयमा छलफल गर्न कुन्दनकी आमालाई फोन गरेकी थिइन्। तर कुन्दन आमाको फोन लिएर बाहिर हिँडेकाले शर्मिलाको फोन कुन्दनले नै उठाएका थिए। त्यसपछि कुन्दन आफै प्रहरी स्कुल पुगेका थिए जहाँ कम्प्लेन गर्ने छात्रा र उनका अभिभावक पनि उपस्थित थिए।

तर केही छिनको कुराकानीपछि अभिभावक बोलाएर ल्याउँछु भन्दै फर्किएका कुन्दन एक्कासी हाम फालेको विद्यालय व्यवस्थापनले जनाएको छ। ‘इन्स्पेक्टर शर्मिलाले दुवै पक्षका अभिभावकलाई बोलाएर कुराकानी गराउन खोज्नु भएको रहेछ।

कुन्दनले फोन उठाएकाले उनी आफै आएकाले पछि उनलाई अभिभावक बोलाएर ल्याउन भनिएको रहेछ। तर त्यहाँबाट फर्कने क्रममा एक्कासी हाम फालेको रिपोर्ट हामीलाई छ’, महानगर प्रहरी प्रमुख डीआईजी बम बहादुर भन्डारीले अन्‍नपूर्णसँग भने। मृतकका आफन्तले भने विदाको दिनमा समेत बोलाइनु, तेस्रो फ्लोरमा रगत भेटिनु शंकास्पद भन्दै हत्याको आरोप लगाएका छन्।

विदाको दिनमा विधाथीलाई मात्र किन बोलाईयो । अनि हाम फालेको मान्छेको रगतको टाटा कसरी तेस्रो फ्लोरमा भेटिन्छ। कुटेपछि तेस्रो फ्लोरबाट झारिएको हाम्रो आशंका छ’, मृत्यकका आफन्त सजिता रानाले भनिन्। कुन्दन कक्षा आठको परिक्षा दिएर बसेका थिए। उनी सजिताकै घरमा खाना खान भन्दै आमाको फोन लिएर दिउँसो निस्किएका थिए।

‘हाम्रोमा खाना खाएर केही बेरमा फर्किन्छु भन्दै निस्किएको भाईलाई अस्पतालमा मृत्य अवस्थामा भेटियो’, सजिताले भनिन्। कुन्दनले आफ्नै कक्षामा अध्ययनरत छात्राको नाममा फेक फेसबुक आईडी खोलेर अश्लिल सामग्री अपलोड गरेको आरोप लागेको थियो। ती छात्राका बुवा पुर्व प्रहरी कर्मचारी भएको जनाईएको छ।

घटनाको अनुसन्धानका लागि महानगर प्रहरीले महानगरिय अपराध महाशाखाको एसपी श्याम ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यिय छानबिन समिती गठन गरेको छ। समितीलाई सात दिनको समय दिईएको छ। समितीमा काठमाडौं प्रहरी परिसरका डीएसपी रिद्धिबिक्रम शाह लगायत दुई इन्स्पेक्टर र एकजना सई पनि छन्।

यो खबर आजको अन्न्पूर्ण पोस्टमा छ ।

धान उत्पादन चार प्रतिशतले बढ्यो

काठमाडौं । यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालुु आर्थिक वर्ष २०८१/८२ मा धानको उत्पादन ४.०४ प्रतिशतले बढेर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । गत आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो ।   धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कुल उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यस वर्ष बर्खे र चैते गरी १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भएको थियो, जुन गत वर्षभन्दा १.२८ प्रतिशतले कमी हो । गत वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएको थियो ।  यस वर्ष धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले रासायनिक मल, उन्नत जातको बिउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जानकारी दिनुभयो ।  धानको औसत मूल्य प्रतिकिलो ३२ रुपियाँका दरले हिसाब गर्दा यस वर्ष एक खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपियाँ बराबरको धान उत्पादन भएको छ । चालु आवका लागि सरकारले मोटा धान प्रतिक्टिन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा निर्धारण गरेको छ । यस वर्ष बाढीपहिरोका कारण केही प्रदेशमा धानको उत्पादन घटे पनि केही प्रदेशमा उत्पादन बढ्दा धानको राष्ट्रिय उत्पादन बढेको गोरखापत्र दैनिकमा समाचार छ ।   

लेखा समिति सभापतिका स्वकीय सचिव ठगी धन्दामा, पक्राउको तयारीपछि निष्काशन

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्नको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन् । संघीय संसद् सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई हटाएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका छन् । उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । परमादेश पुस ११ मा प्रमाणीकरण भएकोमा शुक्रबारसम्म सभापति पोखरेलको स्वकीय सचिवमा अनिल पोखरेलले नै काम गरिरहेका थिए । सभापति पोखरेलले संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, 'मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।' ‘माथिसम्म पहुँच रहेको’ भन्दै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिल पोखरेलले छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाइ चौधरीलाई हस्ताक्षर गराएका थिए । अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए । ऋषिकेश पोखरेले सांसद भएर सार्वजनिक लेखा समितिको सभापति बनेदेखि नै अनिलकुमार पोखरेल स्वकीय सचिव थिए ।

आज तीन प्रदेशमा मौसम बदली, तराई र उपत्यकामा हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।  तराईका धेरै स्थानसहित उपत्यका क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  तीन प्रदेशको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन।  ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

जनमत पार्टीले मनायो राष्ट्रिय धोती दिवस

काठमाडौं । काठमाडौं- जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त(सिके) राउतले लामो संघर्षपछि मुलुकमा गणतन्त्र आइसक्दा पनि पश्चगामी मानसिकता अझै कायम रहेकाले धोती दिवस मनाउन बाध्य भएको बताएका छन्। बुधबार माइतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नेपाल विविधतापूर्ण देश हो। यहाँ अनेकौँ, जातजातिहरु, भाषाभाषीहरु, भेषभुषा भएका मानिसहरु छन्। हाम्रो लागि त्यो कमजोरी होइन। यो हाम्रो लागि सम्पती हो। यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौँ,’ उनले भने,’नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्ठा गरियो। लामै संघर्ष गर्यौँ। त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ। त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ। आज कुनै एकल जाजातिको मात्रै भेषभुषा मनाउने दिवस होइन। सबैले आफ्नो मौलिक भेषभुषा लगाउने हो।’ उनले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पती भएको उल्लेख गरे। उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए। उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नो-आफ्नो पोशाक लगाइ पोशाक दिवस मनाउनुपर्ने बताए। उनले अरुलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए। राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरु धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए। उनीहरुले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

लोकप्रिय