बैंकिङ्ग तयारी गर्नेले जान्नैपर्ने : देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति

बैंकिङ्ग तयारी गर्नेले जान्नैपर्ने : देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.० प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३६.४ प्रतिशत र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजस्व संकलन ३०.५ प्रतिशतले बढेको छ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ३.६ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर २४.५ प्रतिशत रहेको छ ।

मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति

१. २०७५ कात्तिक महिनामा वार्षिक बिन्दगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो । खासगरी खाद्य तथा खाद्यजन्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडा आदिको मूल्य बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति केही बढ्न गएको हो ।

खाद्य तथा पेय पदार्थ मुद्रास्फीति

२. २०७५ कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उप–समूहका वस्तुहरुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो ।

गैर–खाद्य तथा सेवा मुद्रास्फीति

३. समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो ।

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति

४. २०७५ कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.५ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत, ३.२ प्रतिशत, ४.७ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति

५. २०७५ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत र भारतको २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.९ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो ।

थोक मुद्रास्फीति

६. २०७५ कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ०.८ प्रतिशत रहेको थियो । गैर–खाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएकोलेसमग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।

राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क

७. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ८.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.५ प्रतिशतले वृद्धि भएको छ ।

बाह्य क्षेत्र
वैदेशिक व्यापार

८. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु निर्यात ११ प्रतिशतले वृद्धि भई रु.२९ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.३ प्रतिशत, चीनतर्फ ८.९ प्रतिशत र अन्य मुलुकतर्फ २.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कपडा, दन्त मञ्जन, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता, जी. आइ. पाइप लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

९. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर रु.४८३ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३३.५ प्रतिशत, चीनबाट भएको आयात ४५.१ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाइजहाज, एम.एस. बिलेट, अन्य मेशिनरी उपकरण तथा पार्टपुर्जा, सवारी साधन तथा पार्टपुर्जा, धान चामल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ ।

१०. भन्सार नाकाका आधारमा कन्चनपुर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि आएको छ । त्यसैगरी, कन्चनपुर भन्सार कार्यालय बाहेक अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

११. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु व्यापार घाटा ३७.८ प्रतिशतले विस्तार भई रु.४५४ अर्ब ४८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत रहेको थियो ।

सेवा

१२. समीक्षा अवधिमा खुद सेवा आय रु.१३ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३ अर्ब १ करोडले घाटामा रहेको थियो ।

१३. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १०.३ प्रतिशतले वृद्धि भई रु.२५ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.२२ अर्ब ७२ करोड रहेको थियो ।

विप्रेषण आप्रवाह

१४. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

१५. समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो ।

१६. अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ ।

चालु खाता एवम् शोधनान्तर स्थिति

१७. समीक्षा अवधिमा चालु खाता घाटा रु.८८ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. ४८ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड ७ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको छ ।

१८. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ अर्ब ४० करोडले बचतमा रहेको थियो ।

१९. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.४ अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.४ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.६ अर्ब ४२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१० अर्ब १७ करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चिति

२०. कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको रु.११०२ अर्ब ५९ करोडबाट १.८ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा रु.१०८२ अर्ब ९१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ६.५ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा ९ अर्ब ४३ करोड पुगेको छ ।

२१. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ कात्तिक मसान्तमा रु.४४ अर्ब ८६ करोडले कमी आई रु.९४४ अर्ब ५४ करोड पुगेकोछ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरु (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ कात्तिक मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई रु.१३८ अर्ब ३७ करोड पुगेको छ । २०७५ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचकहरु

२२. आर्थिक वर्ष २०७५/७६ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६ प्रतिशत, ६५.८ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य

२३. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७४ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६१.१८ रहेकोमा २०७५ कात्तिक मसान्तमा ६.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६५.२९ पुगेको छ । त्यसैगरी, सुनको मूल्य २०७४ कात्तिक मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२८० रहेकोमा २०७५ कात्तिक मसान्तमा ४.५ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२२२.४० कायम भएको छ ।

विनिमय दर

२४. २०७५ असार मसान्तको तुलनामा २०७५ कात्तिक मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.१ प्रतिशतले अवमूल्यन भएको थियो । ट २०७५ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११४.८८ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३४ रहेको थियो ।

सरकारी वित्त स्थिति

वित्त घाटा/बचत

२५. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको वित्त स्थिति रु.५१ अर्ब १ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.३२ अर्ब १५ करोड रहेको थियो ।

सरकारी खर्च

२६. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.२०७ अर्ब ६८ करोड (वार्षिक बजेट अनुमानको १५.८ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७६ अर्ब ७० करोड रहेकोथियो ।

२७. समीक्षा अवधिमा चालू खर्च रु.१७३ अर्ब ७८ करोड (वार्षिक बजेट अनुमानको २०.६ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१५२ अर्ब १२ करोड रहेको थियो । समीक्षा अवधिमा रु.२६ अर्ब १ करोड (वार्षिक बजेट अनुमानको ८.३ प्रतिशत) पूँजीगत खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७ अर्ब ८६ करोड भएको थियो ।

सरकारी राजस्व

२८. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३०.५ प्रतिशतको वृद्धिसँगै रु.२५५ अर्ब २ करोड (वार्षिक लक्ष्यको २७ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १६.३ प्रतिशतले वृद्धि भई रु.१९५ अर्ब ४३ करोड पुगेको थियो ।

सरकारको नगद मौज्दात

२९. २०७५ कात्तिक मसान्तमा सरकारी ढुकुटीमा रु.२०६ अर्ब २५ करोड (स्थानीय तहको खातामा रहेको रु.७५ अर्ब ७७ करोड समेत) नगद मौज्दात कायम रहेको छ ।

मौद्रिक स्थिति
मुद्राप्रदाय

३०. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ ।

३१. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ५७ अर्ब ३३ करोड (५.४ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. २ अर्ब ४० करोड (०.२ प्रतिशत) ले बढेको थियो ।

३२. समीक्षा अवधिमा सञ्चित मुद्रा १५.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १४.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा सञ्चित मुद्रा ७.२ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जा

३३. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा यस्तो कर्जा २८.७ प्रतिशतले बढेको छ ।

३४. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ७.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २४.३ प्रतिशतले बढेको छ ।

निक्षेप संकलन

३५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ ।

३६. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३४.७ प्रतिशत र ४६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३६.२ प्रतिशत र ४२.३ प्रतिशत रहेको थियो ।

३७. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह

३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.७ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा ८.३ प्रतिशतले, विकास बैंकहरुको ११.२ प्रतिशतले र वित्त कम्पनीहरुको ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.५ प्रतिशतले बढेको छ ।

३९. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.२ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो ।

४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ११.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १४.५ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा १३.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२ प्रतिशतले तथा हायर पर्चेज कर्जा ३.१ प्रतिशतले बढेको छ ।

तरलता व्यवस्थापन

४१. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत्रु. ७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्पmत् रु. २० अर्ब ७० करोड प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१३५ अर्ब ७५ करोड तरलता प्रशोचन भएको थियो ।

४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रु. ५ अर्ब ४२ करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा रु. ५ अर्ब ५० करोड यस्तो सुविधा उपयोग गरेका थिए ।

४३. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ८७ करोड ९५ लाख खूद खरिद गरी रु.१०१ अर्ब ८६ करोड खूद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २७ करोड खूद खरिद गरी रु.१३० अर्ब ७४ करोड खूद तरलता प्रवाह गरिएको थियो ।

४४. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ३८ करोड, यूरो १ करोड ६० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड र जापानी येन १६ अर्ब बिक्री गरी रु.१६३ अर्ब ३ करोड बराबरको भारतीय रुपैँया खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ३६ करोड र यूरो ४ करोड बिक्री गरी रु.१४५ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

पुनरकर्जा

४५. उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ कात्तिक मसान्तसम्ममा यस बैंकको रु.१५ अर्ब ६३ करोड पुनरकर्जा लगानीमा रहेको छ ।

४६. भूकम्प पीडितहरुलाई बढीमा २.० प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ कात्तिक मसान्तसम्ममा रु.२ अर्ब २३ करोड पुनरकर्जा प्रदान गरिएको छ । यस्तो कर्जा १४०१ जना ऋणीले उपयोग गरेका छन् ।

४७. २०७५ कात्तिक मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ९७४९ जना ऋणीले उपयोग गरेका छन् । यस अन्तर्गत रु.१४ अर्ब ३८ करोड कर्जा बक्यौता रहेको छ भने रु.७५ करोड ८२ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।

अन्तर–बैंक कारोबार

४८. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा वाणिज्य बैंकहरुले रु.४२१ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरु बीच बाहेक) ले रु.४८ अर्ब ६९ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु.३२१ अर्ब १० करोड र रु.७ अर्ब १८ करोड कारोबार गरेका थिए ।

ब्याजदर

४९. २०७४ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.५५ प्रतिशत रहेकोमा २०७५ कात्तिकमा २.२० प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ कात्तिकको २.६८ प्रतिशतको तुलनामा २०७५ कात्तिकमा १.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर २०७४ कात्तिकको १०.११ प्रतिशतको तुलनामा २०७५ कात्तिकमा १०.२१ प्रतिशत कायम भएको छ ।

मर्जर/प्राप्ति

५०. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७५ कात्तिक मसान्तसम्म कुल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् ।

वित्तीय पहुँच

५१. ७५३ स्थानीय तहमध्ये २०७५ कात्तिक मसान्तसम्म ६८२ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति तालिका ६ मा प्रस्तुत गरिएको छ ।

५२. यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ कात्तिक मसान्तमा १५४ पुगेको छ । यस अनुसार २०७५ कात्तिक मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७५ कात्तिक मसान्तमा ७२१८ पुगेको छ ।

पूँजी बजार

५३. नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १९.१ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा १२०५ बिन्दुमा सीमित भएको छ । २०७४ कात्तिक मसान्तमा उक्त सूचकाङ्क १२.५ प्रतिशतले ह्रास भई १४८९.१ बिन्दु कायम भएको थियो । २०७५ असार मसान्तमा भने नेप्से सूचकाङ्क १२१२.४ बिन्दु कायम भएको थियो ।

५४. धितोपत्र बजार पूँंजीकरण वार्षिक बिन्दुगत आधारमा १५.७ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा रु. १४५६ अर्ब ९५ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ कात्तिक मसान्तमा ८.६ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ६५.४ प्रतिशत रहेको थियो ।

५५. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ कात्तिक मसान्तमा १९८ रहेको छ । एकतान्यूजबाट

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिए । शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन समेत शिक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

लेखा प्रणालीमा अत्यन्तै आवश्यक वासलात (Balance Sheet) भनेको के हो ?

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै पुँजी, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानुनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन, खाताहरुको निचोड वा सारांश हो । प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ । वासलातको दायित्व पक्षमा हुने प्रमुख बुँदाहरु तिर्नुपर्ने बिल (Bills Payable) बैंक ओभरड्राफ्ट ( Bank Overdraft) साहु ( Creditor) ऋण ( Loan) सुरक्षित कोष (Reserve Fund) पुँजी ( Capital) पुँजी फिर्ता (Drawings) खुद नाफा (Net Profit) खुद नोक्सान (Net Loss) वासलताको सम्पती पक्षमा रहने प्रमुख बुँदाहरु नगद मौज्दात (Cash in Hand) बैंक मौज्दात ( Cash at Bank) भुक्तानी पाउनुपर्ने बिल ( Bills Receivable) आसामी (Debtor) फर्निचर (Furniture) मोटर ( Motar) लगानी (Investment) भवन, हाता र पर्खाल (Business Premises) अदृश्य सम्पतिहरु (Intangible Assets) सामानको अन्तिम मौज्दात (Closing Stock) वासलातमा समावेश हुने समायोजनका केहि कारोबारहरु अन्तिम मौज्दात (Closing Stock) पेस्की खर्च ( Prepaid Expenses) भुक्तानी दिनुपर्ने खर्च ( Payable, Unpaid or Outstanding Expenses) ह्रास ( Depreciation)   बेंकिङखबरबाट साभार गरिएको

एसईईको परिक्षा तालिका सार्वजनिक(तालिका सहित)

  काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको हो । परीक्षा आगामी वैशाख ९ गते शुक्रबारबाट हुने कार्यालयले जनाएको थियो । परीक्षाको प्रथम दिन अनिवार्य अंग्रेजी परेको छ । सोही दिन अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा छ । त्यस्तै, दोस्रो दिन अनिवार्य गणितको परीक्षा राखिएको छ । परीक्षार्थीहरुले ११ वटा विषयको परीक्षा दिनुपर्नेछ । कार्यालयका अनुसार परीक्षा वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले हिजो एक सुचना जारि गर्दै वैशाख ९ गतेबाट परिक्षा संचालन गर्ने बताएको थियो ।

एसईई परीक्षा आगामी वैशाख ९ गते देखि हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक कार्यलयले वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने जानकारी गराएको छ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो  । परीक्षा २० वैशाखमा सकिने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने छ । कोरोनाले पठनपाठनमा असर गरेका कारण चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । गत दुई वर्ष कोभिडका कारण आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।

आजको मौसम

लोकप्रिय