भरतपुर महानगरद्वारा महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइ
भरतपुर । भरतपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकाश पाएका महिला स्वयंसेविकालाई बिदाइ गरिएको हो ।
भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वयंसेविकालाई बिदाइ गरिएको थियो । गत वर्षदेखि महानगरले महिला स्वयंसेविका कार्यको सम्मान गर्दै बिदाइ गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ ।
त्यस्तै प्रदेश सरकारले पनि बिदाइ गर्दा रु २० हजार दिने गरेको छ । बिदाइ कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रशंसा गरिन् । जनचेतना फैल्याउने कार्य स्वास्थ्य स्वयंसेविकाले गरेको कार्यले धेरैले नयाँ जीवन पाएको मेयर दाहालको भनाई थियो । अवकाश पाएका स्वास्थ्य स्वयंसेविकालाई अझै पनि समुदायमा हुँदै आएको कार्य र सेवा भावलाई निरन्तरता दिन उनले आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज हुँदै
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । भोलि बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय सिमा तोकिएको छ । भोलि नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।
उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।
कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।