ऋण माग्दै कृषि तथा पशुपन्छी मन्त्रालयमा डिडिसीको निवेदन

ऋण माग्दै कृषि तथा पशुपन्छी मन्त्रालयमा डिडिसीको निवेदन

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी मन्त्रालयमा निवेदन दिएको छ ।

दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण लामो समयदेखि किसानको भुक्तानी गर्न नसकेको डिडिसीले सो भुक्तानीका लागि ऋणको आवश्यकता रहेको भन्दै कृषि मन्त्रालयमा निवेदन दिएको छ । डिडिसीका महाप्रबन्धक सञ्जीव झाका अनुसार डिडिसीसँग ७२ करोड रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको जानकारी कृषि मन्त्रालयलाई जानकारी गराएको छ । मौज्दात रहेको दुग्ध पदार्थ धरौटी राखेर ऋण उपलब्ध गराइदिन आग्रह गरिएको उनले बताए ।

त्यसबापत कम्तीमा ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराइदिन आग्रह गरिएको महाप्रबन्धक झाले बताए । केही दिनपहिले कृषिमन्त्री डा। वेदुराम भुसालले डेरी उद्योगीसँग छलफल गर्दै मौज्दातका आधारमा आफूले सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने र त्यसका लागि मौज्दातको तथ्याङ्क मन्त्रालयलाई उपलब्ध गराउन आग्रह गरेका थिए । डेरी उद्योगीसँग मौज्दात रहेको दुग्ध पदार्थ बैङ्कमा धरौटी राखेर ऋण उपलब्ध गराउन पहल गर्ने मन्त्री भुसालले आवश्वासन दिएका थिए।

आग्रह गरेको दुई महिनाभन्दा बढी भइसक्यो तर हालसम्म निजी क्षेत्रका डेरी उद्योगीले तथ्याङ्क उपलब्ध नगराएको कृषि मन्त्रालयले जनाएको छ ।

डिडिसीबाहेकका कुनै पनि उद्योगीले मौज्दातको अवस्थाबारे तथ्याङ्क उपलब्ध नगराएको कृषि मन्त्रालयका एक अधिकारीले बताए। डिडिसीले मात्र किसानलाई भुक्तानी गर्न ७० करोड रुपियाँ बाँकी रहेको छ भने निजी क्षेत्रका कतिपय उद्योगीले पनि किसानको भुक्तानी दिएका छैनन् । किसानको भुक्तानी दिन कृषिमन्त्रीले उद्योगीलाई पटक पटक आग्रह गर्दै आएका छन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय