महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छ : अर्थमन्त्री डा.महत

महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छ : अर्थमन्त्री डा.महत

नुवाकोट । अर्थमन्त्री डा.प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताएका छन् ।

नुवाकोट पञ्चकन्या ४ स्थित थप्रेकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा.महतले भने, महिलाहरु पुरुषको तुलनामा काममा बढी समर्पित हुन्छन् । पुरुषहरु एउटा जिम्मेवारीमा केन्द्रित हुन सक्दैनन् । महिला दिदीबहिनीको हातमा कुनै जिम्मेवारी पर्यो भने, त्यसलाई गम्भीररुपमा लिनुहुन्छ, परिणाम ल्याउन रातदिन काम गर्नुहुन्छ ।’

उक्त सहकारी संस्था ४ वर्ष अगाडि स्थानीय महिला दिदीबहिनी मिलेर निर्माण गरेका हुन् । सानातिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको हो । सहकारीमा बचत भएको रकम जसलाई आवश्यकता पर्छ, उसले प्राप्त गर्छन् । सरकारले यसमा सहयोग पनि गरिरहेको कार्यक्रममा अर्थमन्त्री डा। महतले बताए ।

उनले भने, ‘आफूले उत्पादन गर्न खोजेको वस्तु पूँजीको अभावमा समस्या भोग्नुपर्थ्यो, त्यसको निराकरण गर्न सहकारीको ठूलो भूमिका देशैभरि रहेको छ । पछिल्लो समय सहकारी बद्नाम पनि भयो । कतिपय सहकारीले ठूलो आकार लियो, ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा हुँदैन, बचतकर्ता देशैभरि छन् । व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे ।’

साना किसान सहकारी स्थानीय तहमा केन्द्रित छ । आफै मिलेर बचतलाई संरक्षण गर्छ त्यसलाई नेतृत्व चुनिन्छ, जिम्मेवारी पाउँछ, जसले गर्दा यसको दुरुपयोग हुन पाउँदैन, मन्त्री डा. महतले भने ।

युवाहरु विदेशिएका छन्, सहर पसेका छन् । घर सञ्चालनको जिम्मेवारी महिला दिदीबहिनीमा आएको छ । घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएका मन्त्री डा। महतले बताए ।, ‘महिला दिदीबहिनी समाजको महत्वपूर्ण अंग बनेको स्मरण गर्नुहुँदै मन्त्री डा.महतले भने, ‘महिलाहरु घर बाहिर उत्पादन र व्यवसायमा लागिरहेका छन् । अब हामीले महिला उद्यमशीलतामा ज्यादा जोड दिनुपर्छ ।’

गाउँघरको विकास अब महिला दिदीबहिनीको नेतृत्वमा अगाडि बढ्छ । जति पनि विकास निर्माणको काममा महिलाको चासो र चिन्ता बढेको छ मन्त्री डा. महतले बताए ।

उपनिर्वाचनको उमेदवार बन्न के गर्नुपर्ला, यस्तो छ अयोग्यतासम्बन्धी व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले सरकारको स्वामित्वमा रहेका वा सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति उपनिर्वाचनमा उमेदवार बन्न नपाउने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको स्वामित्वमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति पनि उमेदवार बन्न नपाउने जानकारी गराएका छन् । उनका अनुसार, त्यस्ता व्यक्तिको उमेदवारी मनोनयन हुने छैन । स्थानीय तहका रिक्त ४२ पदमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । यस्तो छ अयोग्यतासम्बन्धी व्यवस्था 

मानव तस्करी प्रकरणमा थप दुई पक्राउ

काठमाडौं । कोशी प्रदेशका तत्कालीन मन्त्रीसहित मिलेर जापानमा मानव तस्करीको प्रयास भएको कसुरको अनुसन्धानमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । भिसाका लागि नक्कली कागजपत्र बनाउनेलाई पक्राउ गरिएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले बताए ।  यसअघि प्रहरीले पूर्वमन्त्री लीलाबल्लभ अधिकारीसहित सातजनालाई पक्राउ गरिसकेको छ। उनीहरूले तीनजनालाई सरकारी कर्मचारी भएको नक्कली परिचयपत्र बनाएर मन्त्रीसँगै जापान पठाउने प्रयास गरेका थिए। तर, जापान अध्यागमनले फर्काइदिएको थियो। नक्कली छाप तथा कागजपत्र बनाउनेहरूलाई प्रहरीले पक्राउ गरेको हो। गिरोहमा संलग्न अझै केही व्यक्तिहरू फरार छन् ।  मन्त्री अधिकारीसहित धादिङ त्रिपुरासुन्दरी गापा– ६ का महेश पाण्डे, नुवाकोटको विदुर नपा– ७ का जुगल रिजाल र दोलखाको जिरी नपा– ९ का वीरबहादुर सुनुवार, खोटाङ ऐँसेलुखर्क गापा– २ का दावा शेर्पा, खोटाङकै केपिलासगढी गापा– ४ का जनक राई र रसुवाकाे कालिका गापा– ५ का कञ्चन देवकोटा हाल प्रहरी हिरासतमा छन् ।

पूर्वमन्त्री दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । मंगलबार बिहान उनलाई राजधानीको कम्फर्ट हाउजिङ सितापाइलाबाट प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापाका अनुसार उनलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो । ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेश सभा सदस्य मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो । जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए । दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि गत मंगलबार न्यायालयले अन्तिम फैसला गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो । यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ ।

हरिबोधिनी एकादशीको के छ महत्व ?

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।    प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदै छ ।  आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।     हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।  तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिंगा गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।     आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।      तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।   तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ ।       कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।     आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।        किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।  ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।     कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले बताए ।        विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।       आजका दिन काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्छ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।  आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।  बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

लोकप्रिय