महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
गृह मन्त्रालयले आज आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा बोल्दै मन्त्री श्रेष्ठले ‘महिलामाथि हुने हिंसाका दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिन सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
गृहमन्त्री श्रेष्ठले आफूले गृह मन्त्रालयमा पदभार ग्रहण गरेसँगै शान्ति सुरक्षा, अपराध नियन्त्रणसँगै महिला हिंसा अन्त्य र पीडकलाई कारबाहीको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै गल्ती गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउने बताए ।
पछिल्लो समय गृह मन्त्रालयले भ्रष्टाचारीविरुद्ध लिएको नीतिप्रति सकारात्मक टिप्पणी प्राप्त भइरहेको उनको भनाइ थियो । उनले पछिल्लो समय मुलुकका विभिन्न तहमा महिला सहभागिता बढ्नु खुशीको कुरा भएको बताए । उनले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय स्तरमा समिति बनाएर कार्यान्वयन गरिने स्पष्ट पारे ।
आज यस्तो रहने छ मौसम
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ आगामी २४ घण्टामा कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नेपाल–भारत सैन्य सहकार्य वार्ता हुँदै
काठमाडौं । नेपाल र भारतका सैनिकबिच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आउनु भएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलिबच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले आजै द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । गत १६ गते असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
तोलामा एक हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
आजको मौसम
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।