माओवादीविरुद्ध मुद्दा हालेर देशलाई गृहयुद्धतिर लैजाने षड्यन्त्र भइरहेको छ : पौडेल

माओवादीविरुद्ध मुद्दा हालेर देशलाई गृहयुद्धतिर लैजाने षड्यन्त्र भइरहेको छ : पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले माओवादी आन्दोलनको जगमा आएका परिवर्तन उल्टाउने षड्यन्त्र भइरहेको बताएका छन्।माओवादीले लडेर ल्याएको व्यवस्था उसैलाई साक्षी राखेर उल्ट्याएर देशलाई गृहयद्धतर्फ लैजाने षड्यन्त्र भइरहेको पौडेलको भनाइ छ।

‘माओवादीलाई नै उभ्याएर देशी विदेशी शक्तिहरुले माओवादीलाई कमजोर बनाउने खेल भइरहेको छ,’ उनले भने, ‘त्यसैको संकेतका रुपमा अदालतको प्रकरण बुझ्न सकिन्छ, यसको हामी प्रतिवाद गर्छौं।’२०७६ माघ १ गते प्रचण्डले बोलेको कुरा राजनीतिक भाषा भएको बताउँदै त्यसलाई अदालतले हेर्न नमिल्ने जिकिर गरे।

‘प्रचण्डले त्यतिबेला बोलेको कुरा ‘पोलिटकल’ भाषा हो, त्यसलाई अदालतमा लैजानु गम्भीर त्रूटि हो,’ उनले भने, ‘हामीले राजनीतिक, वैचारिक हिसाबले प्रतिवाद गर्छौं’

शान्तिप्रक्रिया टुंग्याउन माओवादीहरु एकठाउँमा आउनुको विकल्प नभएको उनले बताए।अहिले प्रचण्ड र माओवादीमाथि षड्यन्त्र गरी राज्यलाई भड्खालोमा हाल्न देशी–विदेशी शक्ति लागिपरिरहेको बताउँदै उनले पूर्वमाओवादीहरु एक ढिक्का हुनुपर्ने बताए।

‘माओवादी आन्दोलनका साथीहरु एक ठाउँमा हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘हामी छुट्टिँदा हाम्रा मुद्दा कमजोर भए, गम्भीर समिक्षा गरेर अघि बढ्छौं।’विगतमा शान्ति प्रक्रियासँग नजोडिएका प्रतिगामी शक्तिहरुले न्यायलयलाई प्रभावित पार्ने काम भएको उनले आरोप लगाएका छन्।

‘शान्ति प्रक्रियामा भूमिका नभएकाले न्यायलयलाई प्रभावित पार्न खोजेका छन्,’ उनले भने, ‘बृहत् शान्ति सम्झौता, पछिल्लो परिर्वतन, अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उनीहरुलाई रुचेको छैन।’माओवादी आन्दोलन र तत्कालीन ७ दलको सहमतिविपरीत केही तत्वहरुले अहिलेको प्रणालीको मजा लिइरहेको उनले बताए। पौडेलले हिजो भएका सहमति उल्लंघन गर्नु गम्भीर गल्ती भएको बताए।

सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गर्न ढिलाइ गरेको बताउँदै सहमति भएका मुद्दा उल्टाएर देशलाई गृहयुद्धतिर धकेल्न खोजिएको बताए।‘द्वन्द्वकालीन मुद्धा टुंग्याउन ढिला भएका छन्,’ उनले भने, ‘तिनैलाई आधार मानेर अराजक तत्वहरुले देशलाई फेरि द्वन्द्वमा धकेल्ने षड्यन्त्र गरिरहेका छन्। यसको प्रतिवादका लागि माओवादीहरु एकठाउँ हुन आवश्यक छ।’

वृहत् शान्ति सम्झौतमा हस्ताक्षर गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भूमिका खेल्ने दलहरुबीच सहकार्य र एकताको आवश्यकता रहेको उनको भनाइ छ।संक्रमणकालिन न्यायका मुद्दा टुंग्याउने विषयमा अन्तर्राष्ट्रिय विषय पनि जोडिएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत चाँडै यी विषय टुंग्याइने बताए।

राजतन्त्र फर्काउन कहिले कञ्चनपुर, कहिले झापाबाट गम्भीर वक्तव्य र क्रियाकलाप भइरहेको बताउँदै देशलाई गृहयुद्धतिर धकेल्दै राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको बताए।‘न्यायपालिकालाई सम्मान गर्छौं, व्यक्ति र व्यक्तित्वले हमला दिएर देशमा भएको सहमतिलाई उल्लंघन गर्न खोजिएको छ त्यसको सबैठाउँबाट सशक्त प्रतिवाद गर्छौं’, उनले भने।

मंगलबार द्वन्द्वकालीन सम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा दर्ता भएपछि बृहत शान्ति सम्झौताभन्दा बाहिरबाट शान्ति प्रक्रिया अगाडी बढ्न नसक्ने आवाज उठ्न थालेका छन् । २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्धन्द्धमा मारिएका नागरिकहरुबारे माओवादीलाई मात्रै दोष लगाउने काम भएको भन्दै पाँच हजारको जना माओवादी पक्षबाट मारिएको भएपनि बाँकि १२ नागरिक राज्यपक्षबाट मारिएको बताएका थिए ।

प्रचण्डको त्यही अभिव्यक्तिलाई लिएर कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले मंगलबार रिट दायर गरेका छन्।

त्रि.वि सुधारको माग गर्दै विद्यार्थीहरू धर्नामा,यस्ता छन् माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका छन् । त्रिवि सुधारको आफ्ना माग ३ दिन भित्र पुरा गर्न माग गर्दै विद्यार्थीहरुले धर्ना सुरु गरेका हुन् । त्रिभुवन विश्व विद्यालयले सुधार गर्न सक्ने कामहरु समेत नगरेर विश्वविद्यालय र आम विद्यार्थीहरुको भविष्य धरापमा पारेको आन्दोलनरत विद्यार्थी प्रविन दाहालले बताउनुभयो । उहाँले विद्यार्थीका जायज माग ३ दिन भित्र सम्बोधन नभए आन्दोलनका तर्फबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार त्रि.वि. स्वयं हुने चेतावनी समेत दिनुभयो । यस्ता छन् विद्यार्थीका मागहरू  १) आजसम्म  year Gap र Year Overlapping(एकै वर्षमा २ वर्षको परीक्षा)  का कारण ट्रान्स्कृप्ट नपाएका सम्पुर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउने सम्बन्धि निर्णय गर्नुपर्ने ।  २) नियम विपरित रहेर विद्यार्थीको भलाे गराउने क्याम्पस र परिक्षा दिलाउने प.नि.का. का सम्बन्धित पक्षहरुलाई कानून अनुसार कारबाही गरिनुपर्ने ।  ३) प्राज्ञिक परिषद्‌ले मिति २०१०-१२-०४ गते विद्यार्थीलाई ट्रान्स्कृप्ट उपलब्ध गराउने सम्बन्धि गरेको निर्णयको स्पष्टिकरण दिनुपर्ने । ४) विद्यार्थीको भविष्य अन्धकार बनाउने सबै निति  नियमहरु यथासिघ्र सिनेट बैठक राखि सच्याउनु पर्ने ।  

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

लोकप्रिय