मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउन आवश्यक : मन्त्री शर्मा

मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउन आवश्यक : मन्त्री शर्मा

धनकुटा।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएकी छिन् ।

मध्यपहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्क उद्घाटन गर्दै उनले देश विकासका लागि डिजिटलाइजेसन आवश्यक रहेको र डिजिटलाइजेसनका लागि डिजिटल पूर्वाधारको विकास अनिवार्य रहेको बताइन् ।

नेपाल दूरसन्चार प्राधिकरणको ग्रामीण दूरसन्चार विकास कोषको लगानीमा नेपाल टेलिकमले ६८३ किलोमिटर सडकमा अप्टिकल बिछ्याइएपछि यो खण्डमा सूचना महामार्ग तयार भएको हो । यो महामार्गको सहप्रयोगबाट जुनसुकै इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि इन्टरनेट सेवा विस्तार गर्न पाउने छन् ।

मन्त्री शर्माले यो आयोजना मध्यपहाडी लोकमार्गको सबै खण्डमा विस्तार गरिने जानकारी पनि दिइन् । माओवादी सरकारमा आएपछि सुरु भएको मध्यपहाडी लोकमार्ग गणतन्त्र नेपालको उपहार भएको उल्लेख गर्दै मन्त्री शर्माले मध्यपहाडी राजमार्गलाइ लक्षित गरेर निर्माण गरी सञ्चालनमा ल्याइएको यो सूचना महामार्गले मध्यपहाडी राजमार्ग परियोजनालाई पूर्णता दिंदै मध्यपहाडी क्षेत्रका बासिन्दालाई दूरसञ्चारको मूल प्रवाहमा जोड्ने सरकारले विश्वास लिएको बताइन् ।

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिदै उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएको उल्लेख गरिन् ।यसमा पनि अझ अप्टिकल फाइवरमा आधारित फाइवर टु द होम सेवा विस्तारलाई जोड दिएको उल्लेख गर्दै मन्त्री शर्माले यो वर्षमा मात्रै सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा सेवा विस्तार गरेर एफटिटिएच पुगेका जिल्लाको संख्या ७३ पुर्याएको जानकारी दिइन् ।

नेपाल टेलिकममार्फत प्रारम्भ गरिएको फोरजी सेवा ७३९ स्थानीय तहमा पुर्याइएको र देशको कूल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको जानकारी दिदै उनले यसलाई शत प्रतिशत क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको बताइन् । सेव विस्तारसँगै सेवा गुणस्तर कायम गर्नु अर्को अनिवार्य शर्त भएको औंल्याउँदै उनले नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन विहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिइन् ।

मन्त्री शर्माले नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुलाई नमूना दूरसञ्चार सेवाको रुपमा विकास गर्नका लागि १९ जिल्लालाई छनौट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार सेवाको वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको र यो नमूना जिल्ला कार्यक्रमले ती जिल्ला मात्र होइन, आसपासका जिल्लाहरुमा पनि सेवा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले दूरसञ्चार क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन नीति र प्रशासनिक दुुबै खालका काम अघि बढाइएको र नयाँ फ्रिक्वेन्सी नीति २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी अघि बढाइएको जानकारी दिइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल दूरसञ्चार कम्पनीका अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षता भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेललगयतले बोलेका थिए ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय