माघ २२ गते संसद्को हिउँदे, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

माघ २२ गते संसद्को हिउँदे, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

“माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।

यसअघि कार्तिक १६ गते संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो ।

यी हुन् २०८० माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः

१. जापान सरकारबाट Koteshwor Intersection Improvement Project कार्यान्वयनका लागि प्रस्तावित चौतिस अर्ब उनन्पचास करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने ।
२. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने ।
३. २०८० माघ २२ गते ४:०० बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

सार्वजनिक संस्थान निजीकरण गर्दै ओली सरकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थप सार्वजनिक संस्थान निजीकरण प्रक्रिया अघि बढाएको छ । कम्तिमा आठ संस्थान निजीकरण गर्न खोजिएको छ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो। उपप्रधानमन्त्री एवम्‌ अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज (सोमबार) बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौंडा कपडा उद्योग वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखाकाली रबर उद्योग, उदयपुर र हेटौंडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्बाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्यांकनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएकी छन् । आइतबार बसेको बढुवा समितिको बैठकले थापाको नाम सिफारिस गरेको हो ।बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा कार्यरत छिन् । एआईजी श्याम ज्ञवालीले २५ भदौमा अवकाश पाएपछि रिक्त दरबन्दीमा उनी बढुवा सिफारिस भएकी हुन् ।

यी भूभागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। त्यसैगरी, आज राती देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २९ मिनेटमा हुनेछ ।

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा)मा एक लाख २२ हजार १७१ विद्यार्थी सहभागी भएका थिए। सहभागी परीक्षार्थीमध्ये ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। परीक्षामा दुईजनाको नतिजा रद्द गर्नुका साथै तीनजनाको परीक्षा स्थगित भएको थियो। सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

लोकप्रिय