योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल भन्छन् –‘चितवनका समस्यालाई ‘स्टन्ट’ बनाउनेलाई चुनावमा सबक सिकाउ’

योजना आयोगका पूर्वउपाध्यक्ष पौडेल भन्छन् –‘चितवनका समस्यालाई ‘स्टन्ट’ बनाउनेलाई चुनावमा सबक सिकाउ’

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले चितवनका जनताका समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेलाई उपनिर्वाचनमा हराएर सबक सिकाउन आह्वान गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई इंगित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले वैशाख १० गते हुने उपनिर्वाचनमा रविलाई हराउनुपर्ने बताएका हुन्। तर उनले नाम उल्लेख नगरी रविको नागरिकता मुद्दाको विषय उठाएका छन्।

उनले रविलाई हराएर नेपाली कांग्रेसका उम्मेदवार जितनारायणलाई जिताउन अनुरोध गरेका छन्।

‘जितनारायण ‘स्टन्टबाज’ हैनन्, यी अगाडि–पछाडि क्यामेरा लगाएर ‘स्टन्ट’ गर्दैनन्, अध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन्,’ पौडेलले लेखेका छन्, ‘चितवनमा यसपाली जनताको समस्यालाई ‘स्टन्ट’ को विषय बनाउनेहरूलाई हराऔँ र सबक सिकाऔँ।’

उनले कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई साधारण मान्छेको छोरोका रूपमा चित्रण गर्दै भोलि चाहिने समयमा सजिलै उपलब्ध हुने नेता भएको उल्लेख गरेका छन्।

‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नुभयो, स्थानीयको सुख(दुःखमा साथ दिनुभयो। सबैलाई खुशी बनाउन खोज्नुभयो,’ पौडेलले लेखेका छन्, ‘गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो। भोलि चाहिँदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान, ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ।’

जनमतको कदर गर्नुपर्नेमा जोड दिँदै उनले विगतको निर्वाचनमा गोजीमा नागरिकता नभएका व्यक्तिको गफमा जनता भुलेको टिप्पणीसमेत गरेका छन्।

जनमतको कदर गर्नुपर्ने तर गोजीमा नागरिकता नभएको व्यक्तिको देश बनाउने गफमा जनता भुलेर गएको निर्वाचनमा चितवनमा डा. सूर्यकान्त घिमिरे, डा. भोजराज अधिकारी, डा. विश्व पौडेल (म आफैँले) हारेको उनले उल्लेख गरेका छन्। उनले भनेका छन्,‘हामीले हार्दा कस्ता ‘क्षमतावान’ ले जिते, जगजाहेर छ।’

उनले रास्वपा सभापति लामिछानेलाई सम्पर्क कार्यालयमा कर्मचारी राख्नका लागि गरेको विज्ञापनमाथि पनि प्रश्न गरेका छन्।

‘सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सीईओ राख्ने नौटंकीरु पानी ओसार्ने नौटंकीरु कोही स्थानीयले सीईओको जागिर पाए? एयरपोर्ट गएर कसैलाई ल्याइयो?,’ पौडेलले प्रश्न गरेका छन्।

उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।  काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।

कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।

बाराको गढीमाई मन्दिरमा मेला शुरु

बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।

लोकप्रिय