रक्सीका कारण मर्ने र कुटिने घटना बढे रोल्पामा
उमा केसी/रासस
रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् ।
जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो । मादक पदार्थ सेवनकै कारण विभिन्न घटनामा परी २०७३ सालमा २९ जनाको मृत्युभएको थियो । चालु वर्षको मंसिर मसान्तसम्म यो संख्या १५ जना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
जिल्लामा भवितव्यअन्तर्गत सूचीकृत हुने अधिकांश घटना मदिरा सेवनकै कारण हुने देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
मदिरा सेवनले लैंगिक हिंसाका घटनासमेत बढिरहेको देखिएको छ । कर्तव्य ज्यानदेखि जबर्जस्ती करणीसम्मका घटनाको कारकसमेत मादकपदार्थ सेवन देखिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ ।
मादक पदार्थ न्यूनीकरणका लागि आमा समूहको सक्रियतामा विभिन्न अभियान सञ्चालन गरिएपनि सार्थकता पाउन नसकेको आमा समूहकी गौमाया केसीले बताउनुभयो । प्रहरीको सहयोगमा मादक पदार्थ न्यूनीकरणका अभियान सञ्चालन गरे पनि अभियानले सार्थकता पाउन सकेन केसीले भन्नुभयो ।
परिवार विखण्डन, मृत्यु, हत्या तथा लैंगिक हिंसाको कारक मादक पदार्थ भए पनि यसको न्यूनीकरण हुन नसक्नु दुःखद् रहेको केसीको भनाइ छ । आमा समूहको सक्रियतामा महिलाको सहभागितामा घरघर पुगेर घरेलु मादक पदार्थ नष्ट गर्ने अभियान चलाउँदा विभिन्न आरोप खेप्न परेको केसीले दुखेसो पोख्नुभयो ।
जिल्लामा घट्ने लैंगिक हिंसाका शतप्रतिशत घटना मादक पदार्थ सेवनकै कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि आफूहरुले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको लैंगिक हिंसा न्यूनीकरणविरुद्धको जिल्ला कार्यकारी सञ्जालका अध्यक्ष श्रीकुमारी रोकाले बताउनुभयो ।
मादक पदार्थ सेवनको मात्रा जिल्लामा अत्यधिक मात्रामा बढिरहेको देखिएकाले यसको न्यूनीकरणका लागि सडक नाटकलगायतका चेतनामूलक कार्यक्रम चलाएका छौँ, रोकाले भन्नुभयो । प्रहरीसँगको समन्वयमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिरहेको भए पनि परिणाम अपेक्षाकृत उपलब्धिमूलक हुन नसकेको रोकाको भनाइ छ । अभियान आक्रामक नहुँदासम्म उपलब्धि हासिल गर्न नसकिने उहाँको सुझाव छ ।
जिल्लामा धर्म, जाति र संस्कारका नाममा मादक पदार्थ सेवनमा छुट दिँदा विकृति बढिरहेको महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताउनुभयो । मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हिँडडुल गर्ने तथा घरेलु मादक पदार्थ उत्पादन गर्ने सबैलाई हदैसम्मको कारबाही नहँुदासम्म यसको न्यूनीकरण हुन नसक्ने आचार्यको भनाइ छ ।
आमा समूहहरुले स्वतःस्फूर्त रुपमा सञ्चालन गरेको मादक पदार्थविरुद्धको अभियानलाई सहयोग गर्नुपर्ने आचार्यको भनाइ छ । अन्य सामाजिक अभियानजस्तै मादक पदार्थ सेवनविरुद्धको अभियानलाई समेत राज्यले प्राथमिकता दिनुपर्ने आचार्यले सुझाव दिनुभयो ।
मादक पदार्थ सेवनलाई लागुऔषधको रुपमा लिइएकाले यसको न्यूनीकरणका विभिन्न उपाय चालिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । लागुऔषध नियन्त्रण जिल्ला कार्यकारी सञ्जालमार्फत यसको न्यूनीकरणको कार्ययोजना तयार गरी काम थालनी गर्न लागिएको फुयाँलले बताउनुभयो ।
जिल्लामा हुने अधिकांश घटनाको कारक तत्व मदिरा नै भएको आफूहरुले पहिचान गरिसकेको हुँदा नियन्त्रणका लागि विशेष अभियान चाल्ने उहाँको भनाइ छ । जिल्लामा मादक पदार्थ सेवन संस्कारकै अभिन्न अंग रहेको फुयाँलले बताउनुभयो । सामुदायिक प्रहरी सेवा समितिमार्फत अभियानलाई सशक्त बनाउने पनि फुयाँलले जानकारी दिनुभयो ।
माओवादी र भ्रष्टहरू आमनेसामने हुने स्थिति बनेको छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र भ्रष्ट तत्व आमनेसामने हुने स्थिति बनेको बताउनुभएको छ । शनिबार दाङमाको घोराहीमा माओवादीको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले त्यसविरुद्ध माओवादीले शान्तिपूर्ण संघर्ष गर्ने समेत बताउनुभयो। ‘दलाल पूँजीपति, नोकरशाही, बिचौलिया, भूमाफिया र सबै जालीझेलीहरुका विरुद्ध आमनेसामने भएका छौं,’ प्रचण्डले भन्नुभयो, ‘यतिबेला सशस्त्र त होइन, शान्तिपूर्ण संघर्षको बेला हो।’ उहाँले थप्नुभयो, ‘शान्तिपूर्ण संघर्षमा एकतर्फ दलाल, बिचौलिया र भ्रष्ट तत्वहरु र अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको छ।’ प्रचण्डले गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिने समेत बताउनुभयो। ‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ। ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु।’उहाँले भन्नुभयो ।
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक : अध्यक्ष प्रचण्ड
घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उहाँले यस्तो धारणा राख्नुभएको हो। शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने उल्लेख गर्दै उहाँले शिक्षालाई सिप र सिपलाई जीवनसँग जोड्नुपर्ने बताउनुभयो । त्यसका लागि स्थानीय जनतासँग सहकार्य गर्दै पठनपाठन प्रभावकारी उहाँले शिक्षालय परिवारलाई आग्रह गर्नुभयो। सहिद कृष्णसेनको नाममा स्थापित शिक्षालय देशकै धरोहर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेन कवि र पत्रकार मात्र नभई देशकै आदर्श र प्रतिक भएको नेपाली समाजमा स्थापित भइसकेको बताउनुभयो । सो क्रममा अध्यक्ष प्रचण्डले शिक्षालयको परिसरमा स्थापित सहिद कृष्णसेन इच्छुकको प्रतिमामा माल्यर्पण गर्नुभएको थियो।
रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै
बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै छन्।बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो, पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए, सो हाजिरी जमानीमा रिहा भएका थिए। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा छाडेका थियो, जसका कारण उनी बिहिबार अदालतमा उपस्थित भए पनि थुनछेक बहस भने सकिन पाएन। सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो। प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथी उजुरी गरिएको हो। उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन। बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका अधिकांश भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ भने मधेश, बागमती र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ । यस्तै कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।