राष्ट्रसङ्घीय महासचिवको भ्रमणले शान्ति मिसनमा जगाएको आशा

राष्ट्रसङ्घीय महासचिवको भ्रमणले शान्ति मिसनमा जगाएको आशा

काठमाडौं। नेपालको चारदिने औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हिजो उच्च सरकारी अधिकारी एवम् प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रसङ्घ र नेपालबीचको लामो मित्रवत् सम्बन्धका बारेमा चर्चा गरेका छन्। खासगरी नेपालले भोग्दै आएको जलवायु परिवर्तनबाट सिर्जित समस्याप्रति उनले गहिरो चिन्ता मात्र व्यक्त गरेनन्, आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी सङ्कटको आँधीमा फसेको नेपालजस्तै राष्ट्रलाई अत्यधिक अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको र यसका लागि विकसित राष्ट्र अगाडि आउनु जरुरत रहेको उल्लेख गरे । यसबाट उनमा नेपालप्रतिको स्नेह प्रष्ट झल्किन्थ्यो ।

उनले विगत ३० वर्षमा नेपालले एक तिहाइ हिउँ गुमाएको प्रसङ्गसमेत उल्लेख गर्दै यहाँका हिमनदी उच्च गतिमा पग्लिरहेकामा चिन्ता व्यक्त गरे । नेपाल र संयुक्त राष्ट्रङ्घले आपसी सहकार्य गरी काम गर्न खोजेको र यसबाट समस्याको पहिचान र समाधानका लागि अन्तर्राष्ट्रिय सहयोगको सम्भावना खोज्न सहयोग पुग्ने महासचिव गुटेरेसको भनाइले आगामी दिनमा राष्ट्रसङसँग नेपालको सम्बन्धलाई अझ फराकिलो तुल्याउन सहयोग पुग्ने आशा गर्न सकिन्छ ।

नेपालको सामाजिक आर्थिक विकासमा राष्ट्रसङ्घको सहयोग उत्तिकै महत्त्वूर्ण रहेको सन्दर्भमा शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकासका क्षेत्रमा पुर्‍याएको सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न सहज भएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । राष्ट्रसङ्घको नेतृत्वबाट १५ वर्षपछि भएको नेपाल भ्रमणले निकै महत्त्वपूर्ण अर्थ राख्दछ । संयोग नै मान्नुपर्छ प्रधानमन्त्री प्रचण्ड नै प्रधानमन्त्री भएका बेला यसअघि महासचिव बान्की मुनले नेपाल भ्रमण गरेका थिए। विश्वमा इजरायनल र हमासबीच युद्ध चर्किरहेको छ भने लेबनान, सिरियालगायत विभिन्न देश अशान्त बनिरहेका बेला पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणलाई प्राथमिकता दिनु आफैँमा पनि महत्त्वपूर्ण विषय हो ।

भ्रमणका बेला नेपालका सुरक्षाकर्मीले राष्ट्रसङ्घ मातहत रहेर विश्वका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याउँदै आएको शान्ति स्थापनाका बारेमा प्रधानमन्त्री, परराष्ट्र, रक्षा र गृहमन्त्री तथा प्रमुख राजनीतिक दलका नेतासँगको भेटवार्तामा पनि छलफल भएको थियो । यसले आगामी दिनमा थप शान्ति सैनिक पठाउन र युएनका माथिल्लो तहमा पनि नेपाली पदाधिकारीलाई पुग्नका लागि सहज हुने विश्वास गरिएको छ । नेपालको यस भ्रमणले कुनै न कुनैरूपमा नेपालको मुद्दा अन्तर्राष्ट्रिय समुदायमाझ पुर्‍याउन मद्दत गरेको छ । संयुक्त राष्ट्रसङ्घसँग नेपालको सम्बन्ध खासगरी शान्ति सेना, जलवायु परिवर्तन, दिगो विकास लक्ष्य, शान्ति प्रक्रिया अनि अन्य आर्थिक–सामाजिक विकासका मुद्दाका कारण गहिरो गरी जोडिएको छ ।

महासचिव गुटेरेसको भ्रमणले आगामी दिनमा विश्व शान्ति स्थापनामा नेपालले पुर्‍याउँदै आएको योगदानको उच्च कदर हुने वातावरण मिलेको छ । संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्बिलो साथ र सहयोग रहँदै आएको छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने संयुक्त राष्ट्रसङ्घको मुख्य उद्देश्य हासिल गर्न नेपाल सुरुदेखि नै सक्रिय छ । नेपालले संयुक्त राष्ट्रसङ्घको विश्वशान्ति प्रयासमा शान्ति सेना पठाएर आफ्नो औकातअनुसारको प्रभावकारिता देखाएको छ । संयुक्त राष्ट्रसङ्घको शान्ति सेना कार्यक्रम त्यसको एउटा मुख्य अङ्ग हो । नेपाली सेनाले जटिल खालका द्वन्द्वग्रस्त क्षेत्रमा गएर शान्ति, अन्तर्राष्ट्रिय सुरक्षा स्थापनामा छ दशकभन्दा बढी महत्त्वपूर्ण योगदान गरिसकेको छ ।

विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको योगदान उच्च छ । नेपाल भौगोलिक हिसाबले सानो, दुई शक्तिशाली छिमेकी राष्ट्रका बीचमा तरुलजस्तै रहेको भए पनि यसको वीरताको गाथालाई कसैले भुलेका छैनन् । पछिल्लो समयमा विश्वलाई चिनाउने गरी नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा काम गरिरहेको छ, जुन नेपालको गौरवको विषय हो । शान्ति सेनामा पुर्‍याएको योगदानकै कारण नेपालले सन् १९६९ र १९८८ मा दुई पटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य हुने अवसर पायो । त्यति मात्र होइन, विभिन्न विश्व मञ्चमा नेपालले आफ्नो विश्वशान्ति, मानवअधिकारको प्रत्याभूति र साना राष्ट्रको सवालमा प्रष्टसँग राख्ने अवसर पाएको छ । भगवान गौतम बुद्धको जन्मस्थल र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशबाट परिचित नेपाल पछिल्लो ६० वर्षदेखि उत्कृष्ट र अब्बल शान्ति सेनाको देशको नामबाट पनि चिनिन थालेको छ । विश्वशान्ति स्थापनामा सेनाबाट आर्जित शक्तिले विकास गरेको कूटनीतिकै कारण नेपाललाई आज विश्वले चिनेको छ ।

सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै नेपालले खासगरी विश्वशान्तिका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । सन् १९५८ मा राष्ट्र सङ्घको विशेष आग्रहमा नेपाल सरकारले पहिलो पटक द्वन्द्वग्रस्त मुलुक लेवनानमा पाँच नेपाली सैनिक पर्यवेक्षक टोली खटाएको थियो । सन् १९७४ मा इजिप्टमा नेपाली सेनाको श्री पुरानो गोरख गण पहिलो पटक कन्टिजेन्टका रूपमा खटिएको थियो । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । सात अगस्ट, २०२२ को तथ्याङ्कअनुसार संसारका १२ मिसनमा पाँच हजार पाँच सय ६८ र नेपाली सेना (जसमा दुई सय ९५ जना महिला) र यीमध्ये एक सय ९४ जना सशस्त्र प्रहरी बलबाट र ४२ जना प्रहरीबाट सहभागी भएका छन् । नेपाल संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा योगदान दिने दोस्रो देश बनेको छ ।

नेपाली सेनाले १० देशमा शान्ति स्थापना कार्यका लागि तैनाथ ११ विभिन्न मिसनमा सक्रिय सहभागी भई आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको छ । यस अवधिमा सेनाले उच्च पदस्थ सैनिक अधिकारीदेखि मिलिटरी कन्टिन्जेन्ट, पर्यवेक्षक र स्टाफ, अफिसर, मेडिकल डाक्टर तथा इञ्जिनियरसम्मका जनशक्तिले विश्वशान्ति स्थापनामा काम गरिसकेका छन् । ती द्वन्द्वरत मुलुकमा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकले पुर्‍याएको योगदान कम महत्त्वपूर्ण छैन ।

शान्ति सेनामा सक्रिय सहभागिताले मुलुकको कूटनीतिक इतिहासमा नयाँ इँटा थप्ने अवसर मात्र दिएको छैन, विश्व मञ्चमा आफ्नो उपस्थितिलाई सार्थक तुल्याउने महत्त्वपूर्ण अवसर पनि प्राप्त भएको छ । नेपालको परराष्ट्र नीतिको मार्गदर्शनका सिद्धान्तमा नै शान्ति र मानव अधिकार रहेकोले द्वन्द्वरत मुलुकमा खटिएर जाने सैनिकले पनि यसलाई नै मूलमन्त्र बनाएका छन् । विभिन्न द्वन्द्वरत देशमा नेपालले पुर्‍याएको योगदान संसारका शक्तिशाली, वैभवशाली, शान्तिकर्मी राष्ट्रहरूले नजिकबाट हेरिरहेकाले नेपाललाई ती देशहरूमा आफ्नो शान्तिप्रति प्रतिबद्धताको छवि विस्तार गर्ने राम्रो अवसर मिलेको छ । नेपालको परराष्ट्र नीतिको एउटा मुख्य आधार भनेको संयुक्त राष्ट्रसङ्घमा खेल्ने भूमिका हो । शान्ति सेनामा ठूलो सङ्ख्यामा भाग लिनुले नेपालको परराष्ट्र नीतिमा राम्रो सफलता भएको छ । राष्ट्र सफल हुन आन्तरिक र परराष्ट्र नीति दुवैमा सफल हुनुपर्छ । यी दुवै एकै सिक्काका दुई पाटा हुन् ।

विश्वशान्ति र मानव अधिकार संरक्षणमा सैनिक योगदानकर्ताका रूपमा नेपाल दोस्रो स्थानमा छ । नेपालबाट नेपाली सेनातर्फ छ हजार ६४, नेपाल प्रहरीबाट ४४ र सशस्त्र प्रहरी बलका एक सय ९४ जना गरी कुल छ हजार दुई सय ९९ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटिएका छन् । यो सङ्ख्या केबल पहिलो मुलुक बङ्गलादेशले पठाएका सुरक्षाकर्मीभन्दा ९८० ले मात्र कम हो ।

शान्ति मिसनमा महिला सैनिकतर्फ उच्च योगदान दिने राष्ट्रहरुको सूचीमा भने नेपाल विश्वमै एक नम्बरमा रहेको छ । नेपालले विश्वकै सबैभन्दा धेरै छ सय १२ जना शान्ति सैनिकमा पठाएको छ । पहिलो नम्बरमा रहेको बङ्गलादेशले पाँच सय ६६ र तेस्रोमा रहेको भारतको एक सय २५ जना महिला शान्ति सैनिक छन् । नेपाल सरकारले अब १० हजार शान्ति सैनिक पठाउने तयारी गरेको छ । नेपाली सैनिकको माग उच्च छ, जतिखेर पनि फेरि माग हुने भएकाले थप सैनिक पठाउन सक्ने गरी तयारी अवस्थामा रहेको सरकारको भनाइ छ । त्यति सङ्ख्यामा नेपाली सैनिकलाई पठाइएमा नेपाल पहिलो स्थानमा आउन सक्ने अवसर छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा पहिलो नम्बरको देश हुन सकेको अवस्थामा नेपालको आर्थिक, राजनीतिक र कूटनीतिक महत्व निहीत हुन्छ । आर्थिकरुपमा त्यहाँ खटिने सैनिकले पाउने पारिश्रमिकले उनीहरुको आर्थिकस्तरमा सुधार ल्याउन मद्दत नै पुग्दछ । राजनीतिक दृष्टिले विश्व शान्तिमा व्यावहारिक रुपमै योगदान दिनसक्ने हैसियतमा नेपालको वर्चस्व बढ्छ । कूटनीतिकरुपमा राष्ट्रसङ्घको महासभामा सुरक्षा परिषद्को अस्थायी सदस्यमा चुनाव लड्न थप बल पुग्छ । पछिल्लो समय कूटनीतिक रुपमा लबिङ गर्न नसक्दा महासभाको सभापति र सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि भएका निर्वाचनमा पराजय भोग्नुपरेको तीतो अनुभव छ ।

द्वन्द्वरत मुलुकमा शान्ति स्थापना नेपाली सेनाले प्रस्तुत गर्दै आएको कार्यकुशलता र व्यावसायिक दक्षताको राष्ट्रसङ्घले प्रशंसा गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हालै संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा विश्व शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय बन्दै गएको बताए । उनले विश्व शान्ति स्थापनामा नेपाल महत्वपूर्ण साझेदार रहेको र यो साझेदारी युगौँसम्म कायम रहने विश्वास पनि व्यक्त गरेका छन् । रासस

नेपाल र चीनको आतंकवादविरोधी संयुक्त सैन्य अभ्यास सुरु

चीन र नेपालले आतंकवाद विरोधी संयुक्त सेना अभ्यासको सुरुवात गरे, जसमा एक प्रकारको बलाकार अन्वेषण ड्रोनको पहिलो प्रदर्शन गरिएको छ। चिनियाँ समाचार एजेन्सी शिन्हुआका अनुसार, चोंगकिङ नगरपालिका, दक्षिण-पश्चिम चीनमा एक प्रशिक्षण आधारमा सगरमाथा मित्रता-२०२४ संयुक्त सेना अभ्यासको उद्घाटन समारोह आयोजना गरिएको थियो। यो चीन र नेपालका सैन्य बलबीचको सगरमाथा मित्रता श्रृंखलाका अभ्यासहरूको चौथो संस्करण हो, अघिल्लो अभ्यास २०१९ मा पाँच वर्ष पहिले गरिएको थियो। शहरका खण्डमा संयुक्त आतंकवाद विरोधी अपरेशन्सको विषयमा, संयुक्त प्रशिक्षणमा हल्का हतियार प्रहार, आतंकवाद विरोधी समूहका रणनीतिहरू, ड्रोन अपरेसन, आपतकालीन उद्धार र एक समग्र आतंकवाद विरोधी अभ्यास समावेश हुनेछ, जसको उद्देश्य बहुआयामिक खोज, मोबाइल प्रवेश र संयुक्त अपरेसनमा सशस्त्र उद्धारको क्षेत्रमा क्षमताहरूलाई वृद्धि गर्नु हो, शिन्हुआका अनुसार। अभ्यास अक्टोबर १ सम्म जारी रहनेछ, रिपोर्टमा भनिएको छ। उद्घाटन समारोह पछि, चिनियाँ पक्षले तीन श्रेणीमा २० भन्दा बढी उपकरण प्रदर्शन गर्यो, जसमा हल्का हतियार, आतंकवाद विरोधी मिशनका लागि अन्वेषण गियर र उपकरणहरू समावेश छन्, चीन सेंट्रल टेलिभिजनले रिपोर्ट गरेको छ। बुद्धिमान अन्वेषण उपकरणले विशेष ध्यान आकर्षित गर्यो, जसमा एक प्रकारको रोबोट कुकुर, एक प्रकारको भित्ता चिर्ने रडार र एक प्रकारको आत्म-प्रेरित बलाकार अन्वेषण ड्रोन समावेश छन्, रिपोर्टमा भनिएको छ। साना ड्रोनको लागत कम हुने अपेक्षा गरिएको छ, तर यसले खतरनाक वातावरणमा जनशक्ति उजागर हुने जोखिमलाई महत्वपूर्ण रूपमा कम गर्न सक्छ, विशेषज्ञले भने। अभ्यासको दौरान, दुवै पक्षले प्राकृतिक विपदहरू जस्तै भूकम्प, हिमपात र ढुंगा बग्ने घटनाहरूमा राहत अपरेशन्सको बारेमा आदान-प्रदान पनि गर्नेछन्, साथै आपसी विश्वास र बुझाइलाई सुदृढ गर्नका लागि विभिन्न सांस्कृतिक आदानप्रदानको श्रृंखला पनि हुनेछ, शिन्हुआले रिपोर्ट गरेको छ।

विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

प्युठान । प्यूठान ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिति प्युठानका सदस्य तथा झिम्रुक गाउँपालिकाका अध्यक्ष सन्दिप केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्युठानले रु.एक लाखको अक्षयकोष स्थापना गर्ने भएको छ। दिवंगत केसीको सम्झनामा उहाँले  अध्ययन गर्नुभएको  झिमरुक गाउँपालिका-७ स्थित श्री सत्य मावी तुषारामा पार्टी,अखिल (क्रान्तिकारी) प्युठान र घरपरिवार संरक्षक रहनेगरी अक्षयकोष स्थापना गरिने पार्टीले घोषणा गरेको नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसीले जानकारी दिनुभयो।साथै यहि शैक्षिक शत्रभित्रमा अक्षयकोष स्थापना गरिसक्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो। केसीको मृत्यु भएको नवौं दिनमा उहाँको निवासमा नेकपा (माओवादी केन्द्र) प्युठान, अखिल (क्रान्तिकारी)प्युठान, वाईसीएल प्युठान,दलित मुक्ति मोर्चा लगायतको संयुक्त आयोजनामा गरिएको शोक सभामा नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष प्रभात केसीले शोक मन्तव्य राख्दै दिवंगत सन्दिप केसीको विद्यार्थीहरुमाझ लोकप्रियता र विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अध्यक्ष केसीले दिवंगत केसीको घरपरिवारको सुखदुःखमा सिंगो जिल्ला पार्टी समिति एकताबद्ध भएको बताउनुभयो। अखिल (क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्ष सुशिला घर्ती मगरको अध्यक्षतामा भएको उक्त शोक सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसी,प्रदेश सदस्य उमा शर्मा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा,पार्टी झिमरुक गाउँ समितिका अध्यक्ष झक बहादुर जिसी,वाईसिएल प्युठानका अध्यक्ष मोहन परियार,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव बिक,अखिल क्रान्तिकारीका नेता बालाजी जिसी र प्रेमबहादुर विश्वकर्मा लगायत ३४ जना बढी पार्टी नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो। दिवंगत सन्दिप केसी लामो समयदेखी हृदय रोगले ग्रसित हुनुहुन्थ्यो। विगत ३ महिना अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछी अस्पतालपछि आफ्नै निवासमा बेड रेस्टमा हुनुहुन्थ्यो।केसीको गत भाद्र २९ गतेका दिन २४ वर्षको अल्पायुमै आफ्नै निवासमा देहावसान भएको थियो। सन्दिप केसी विं.सं २०५७ चैत २३ मा आमा बेला केसी र बुबा फत्य बहादुर केसीको कोखबाट  प्युठानको झिमरुक गाउँपालिका -७ तुषारामा जन्मिनुभएको थियो।सानै उमेरमा हृदय रोग देखिएपछी उहाँ परिवारको मायाले भरिपूर्ण हुनुभएको थियो।समय बित्दै जाँदा विभिन्न विद्यालयमा अध्ययन गर्ने क्रममा विभिन्न साथि संगिहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न माहिर हुनुहुन्थ्यो। दिवंगत सन्दिप केसीले अखिल क्रान्तिकारी स्वर्गद्वारी बहुमुखी क्याम्पस,झिम्रुक गाउँपालिकाका अध्यक्ष हुँदै  जिल्ला कमिटि सदस्यको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गर्नु भएको थियो। स्वर्गद्वारी बहुमुखी क्याम्पसको जेहेन्दार विधार्थीको रुपमा मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत उहाँ उक्त क्याम्पसको रेडक्रस सर्कलको उपसभापति समेत हुनुन्थ्यो भने विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुन्थ्यो। 

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

लोकप्रिय