राष्ट्र र जनताको समृद्धिका लागि सिर्जनशील सामग्री उत्पादन र प्रकाशनमा जोड दिनुपर्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रको उत्थान र जनताको समृद्धिका लागि पत्रकारिताको माध्यमबाट सिर्जनशीलरुपमा सामग्री उत्पादन र प्रकाशनमा अझै मेहनत गर्न सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् ।
गोरखापत्र दैनिकको १२३ औं तथा गोरखापत्र संस्थानको ६१ औं वार्षिकउत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले पत्रकारिता मार्फत सरकार र आमजनताका बिचमा सम्बन्धको जोड्ने काम गर्नु पर्ने बताउँदै पत्रकारिताका आधारभूत मूल्य मान्यतालाई आत्मसात गर्दै समग्रमा राज्यलाई नीति नियमलाई जनताबिच लैजानुको साथै जनताका आवश्यकता राज्यसम्म पुर्याउने काममा यसले आफ्ना उत्पादनहरु केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याइन ।
मन्त्री शर्माले भनिन्, गोरखापत्र र संस्थानका अन्य प्रकाशन भावी पुस्ताका बौद्धिक सम्पत्ति हुन् । तिनको संरक्षणका लागि संस्थानले पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण गर्न सुरु गरेकोमा खुशी लागेको छ । यसलाई आम्दानी वृद्धिको स्रोत बनाउनतिर ध्यान दिन आग्रह गर्दछु । अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ् खरो रुपमा उतार्न यो संस्थाले अझ् जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई प्रस्तुत गर्नुपर्छ । त्यसका लागि म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु– आन्तरिक ब्यवस्थापन बलियो बनाउनुपर्छ । यसमा कार्यरत सबै जनशक्तिलाई संस्थानप्रति अपनत्व कायम गराएर एकताबद्धता बनाउँदै परिचालन गर्न सक्नुपर्छ ।
उनले सूचना तथा सञ्चार प्रविधिको विकासले यसलाई विधागत र प्रविधिगत आधारमा अझ फराकिलो दायरामा विस्तार गरेको बताइन । मन्त्री शर्माले भनिन, नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको यस पत्रिकाको इतिहास जति गौरवशाली छ, वर्तमान र भविष्यमा त्यो प्रतिष्ठा कायम राख्नु चुनौतीको विषय हो । बजारमा प्रतिष्पर्धी मात्र होइन, अगुवा पत्रिकाको रुपमा स्थापित गर्न आन्तरिक व्यवस्थापन सवल बनाउन जरुरी छ ।
आर्थिक र जनशक्ति व्यवस्थापन दुबै हिसाबले आन्तरिक व्यवस्थापन सवल बनाउन सके गोरखापत्र संस्थानको भविष्य उज्यालो हुने उनको भनाई छ । मन्त्री शर्माले संस्थानको पुनरसंरचना जरुरी रहेको भन्दै गोरखापत्र संस्थानको संरचना गत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्नेमा जोड दिइन ।
भूकम्पबाट क्षतिग्रस्त पुरानो मूल भवनको पुनरनिर्माण तथा लामो समयदेखि अल्झिएको बिनियावलीलाई चाँडो टुंगो लगाएर कर्मचारी वृत्ति विकासलाई सुनिश्चित गर्न मन्त्रालयबाट पनि पहल भइरहेको उनको भनाइ छ ।
मन्त्री शर्माले गोरखापत्र संस्थानमा कार्यरत संचारकर्मी तथा कर्मचारीहरुलाई विश्वासमा लिएर आन्तरिक समस्याका समाधानका लागि प्रभावकारी पहल गर्न व्यवस्थानलाई निर्देशन दिइन ।
विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी
लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो । पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।