रौतहटका ३६०० नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

रौतहटका ३६०० नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

गौर, भदौ १६ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मधेश अभियानको चौंथो दिन रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरी ३६०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बिहीबार रौतहट जिल्लाका चार स्थानमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राजपा, लोकतान्त्रिक फोरम, नेपाल परिवार दल, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी ३६०० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

बिहीबार बिहान रौतहटको गौरमा गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरको नेतृत्वमा विभिन्न क्षेत्रका २०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । गौरपछि रौतहटकै राजपुर नगरपालिकामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।

राजपुरको प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १७०० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कार्यक्रममा एमाले नेता शेख जावेर अलि, राजपा नेता अच्छेलाल साह, कांग्रेस नेता इसा महम्मद, कांग्रेस नेता महादेव साह लगायतको नेतृत्वमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

दिउँसो गरुडामा आयोजना गरिएको प्रवेश कार्यक्रममा राजपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष शेरनुरुल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाल, एमालेका संघीय मामिला सदस्य सुधिर यादव, एमाले जिल्ला कमिटी सदस्य देवकी नेपाल, नेपाल परिवार दलका केन्द्रीय सदस्य नथुनी चौधरी, राजपा महिला जिल्ला अध्यक्ष मीना जैसवाल लगायतका नेताहरुको नेतृत्वमा १२०० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

त्यसैगरी कनकपुर नगरपालिकामा आयोजित बिशाल चुनावी सभामा ५०० जना स्थानीय नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

आगुन्तकहरुलाई अध्यक्ष प्रचण्ड, नेता मातृका यादव, सहरी विकास मन्त्री प्रभू साह लगायतले पार्टी प्रवेश गराउनु भएको थियो ।

पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले हिमाल, पहाड र मधेश मिलेर बनेको नेपालको राष्ट्रिय एकताका पक्षमा उभिन सबैलाई अपील गरे । प्रचण्डले भने, ‘नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो, हाम्रो राष्ट्रियता हाम्रा लागि धेरै मूल्यवान् छ । हामी देशलाई जोड्न चाहन्छौं ।

राष्ट्रिय एकता, जनताको मुक्ति एवं स्वाभिमान र देशको आर्थिक विकास नै हाम्रो मिसन हो । यही मिसनका लागि म तपाईहरुको बीचमा आएको छु । पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उचाल्ने र जनताको बीचमा भीडन्त गराएर राजनीतिक स्वार्थ पूर्ति गर्ने अतिवादी र नश्लवादीहरुलाई चिन्नुस् र माओवादी केन्द्रले उठाएको पहिचान र राष्ट्रिय एकताको पक्षमा उभिनुस् ।’

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड

चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´  उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो- `तपाइहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।´ चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उहाँले बोटे संस्कृतिसँग साक्षत्कार गर्नुभएको थियो ।

बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो । झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

बालेनको कटाक्ष -'टुँडिखेल र खुल्लामन्च पनि एमाले-कांग्रेसका कार्यकर्तालाई दिने अध्यादेश पास भएछ'

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी भएकोमा सत्तारू दल एमाले र कांग्रेसप्रति तिव्र असन्तुष्टि जनाएका छन्।  राष्ट्रपतिले भूमि सम्बन्धी अध्यादेश जारी गरेको केही समयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बालेनले असन्तुष्टि जनाएका हुन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ यसअघि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्न अस्वीकार गरेका थिए ।  तर राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश प्रधानमन्त्रीको अनुरोधमा जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्।

देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् ।  मन्त्रीहरुसँग सामूहिक छलफल गर्न  उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।

लोकप्रिय