वसन्तपुर हुँदै कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग ठप्प

वसन्तपुर हुँदै कञ्चनजङ्घा हिमालसम्म पुग्ने पदमार्ग ठप्प

तेह्रथुम, माघ २० । एकै स्थानमा धेरै प्रजातिका गुराँस फुल्ने भएकै कारण पूर्वको पर्यटनमा ख्याति कमाएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ ।

तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग मासेर सडक निर्माण गरिएपछि पदमार्ग भएर आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न छाडेको व्यवसायीको भनाइ छ ।

सुविधा भए पनि बढी जोखिम मोल्नुपर्ने भएपछि आएका पर्यटक पनि वसन्तपुरबाटै फर्कने गरेका छन् । “सबै कुरा भौतिक विकास मात्र होइन रहेछ,” बसन्तपुरका मिलन थापाले भन्नुभयो– “सडकको विस्तारसँगै पर्यटकीय यो थलो ओझेलमा पर्यो ।”

नेपाल पर्यटन बोर्डले गरेको नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलमा सूचीकृत यो क्षेत्र यतिबेला सडक विस्तारका कारण क्षतविक्षत् भएको उहाँले बताउनुभयो ।

गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न सरकारले लामो समयदेखि अध्ययन गरिरहेको टिएमजे क्षेत्रको महत्वपूर्ण पदमार्ग सडक मार्गका कारण मासिँदै गएको छ । वर्षको छ महिना कुमारी रहने टिएमजे क्षेत्रको पदमार्ग निर्माणाधीन वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने सडकका कारण कुरूप बनेको पर्यटन विकास तथा प्रवद्र्धन समितिले जनाएको छ ।

यो क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले निर्माणाधीन सडकका कारण अन्यत्रैबाट ओहोरदोहोर गर्न थालेका छन् । एउटै उचाइको रमणीय यो पदमार्ग पछिल्लो समय सडक मार्गका कारण सङ्कटमा परेको पदमार्गमा रहेको चौकी बजारका सुरेशकुमार पाठकले बताउनुभयो ।

“पदमार्ग भएर आउने पर्यटकले प्राकृतिक विविधतालाई नजिकबाट हेर्न रुचाउँछन्”– काठमाडौँको धापासीमा रहेको एडभेन्जर गो ट्रेक टाभल्स एन्ड टुर्सका पर्यटन व्यवसायी तथा पथप्रदर्शक लाक्पा शेर्पाले भन्नुभयो । उहाँ विदेशी पर्यटकलाई घुमाउन यस क्षेत्रमा समय समयमा आइरहनुहुन्छ ।

यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारीका साधन सञ्चालन हुन थालेका छन् । पदमार्ग भएर हिँड्दा पाइने प्राकृतिक आनन्द मोटर बाटोमा नपाइने जर्मनीको एक कारागारमा प्रहरी अफिसरका रूपमा काम गर्ने स्टेफिन सेलीले बताउनुभयो । “पदमार्ग मासिएपछि यहाँको पर्यटन व्यवसायमा पनि असर पर्न सक्छ”– उहाँले भन्नुभयो ।

मोटरबाटो निर्माणका कारण यहाँसम्म आइपुगेका पर्यटक आफ्नो बसाइ अवधिसमेत घटाउन थालेका छन् जसले गर्दा स्थानीय स्तरमा यसअघि हुने आर्थिक कारोबारमा समेत कमी आएको चौकी बजारका होटेल व्यवसायी उदयकुमार लोले बताउनुभयो । उहाँका अनुसार पर्यटकको बसाइ अवधि छोटिएकाले पहिलेको तुलनामा व्यापारिक कारोबारमा समेत ह्रास आएको छ ।

यस क्षेत्रमा आउने पर्यटकको तथ्याङ्क राख्ने आधिकारिक निकाय नभए पनि गत वर्षको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको स्थानीय बासिन्दाको अनुभव छ । पर्यटकको आकर्षण देखेर यो पदमार्गको दर्जनौँ स्थानमा खुलेका बजारमा समेत अहिले कारोबार न्यून छ ।

वर्षको तीन महिनासम्म फुलिरहने २८ भन्दा बढी प्रजातिका गुराँस, विविध प्रजातिको कुहिरे वन, लोपोन्मुख जडीबुटी र वन्यजन्तु, सिमसार, पोखरी तथा चराचुरुङ्गी र मनोरम प्राकृतिक दृश्य यस क्षेत्रका पर्यटकीय आकर्षण हुन् ।

यो क्षेत्र कुम्भकर्ण, मकालु र कञ्चनजङ्घा हिमाल आरोहण गर्न जानेहरुको पदमार्गसमेत हो ।

अखिल क्रान्तिकारीमा नीति र नेतृत्व छान्न देशैभरि चुनाव हुने

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका शीर्ष नेता, निवर्तमान अध्यक्ष, फ्याक्सन इन्चार्ज, निर्वाचन आयोगका पदाधिकारीसहितको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।  पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । त्यसका लागि पुस १३ गते निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए । शर्माका अनुसार दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । शर्माका अनुसार उमेर हदसम्बन्धी निर्वाचन ७७ जिल्लामा हुनेछ ।  नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो ।  दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।  

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला । हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए ।   यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ ।  जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए ।  जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।  सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् । रासस

संसदका तीन वटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।

सातवटै प्रदेशमा वर्षाको सम्भावना,  चिसो बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणालीका कारण हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहने छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली शुरु भएको र यो बिस्तारै पूर्वतिर फैलिँदै गरेको महाशाखाले जनाएको छ । यो प्रणाली आज राति कर्णाली प्रदेश हुँदै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउनेछ । पूर्वतर्फ फैलिँदै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिनेछ । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । हाल वर्षा भइसकेको छैन तर आज राति र भोलि बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने तथा अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । अहिले देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गत मंसिरको अन्तिम साता चिसो अत्यधिक बढेर विस्तारै घट्दै गएपनि सोमबारदेखि पुनः चिसो बढ्न थालेको हो । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । यसैगरि अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दै गएको महाशाखाले जनाएको छ।

लोकप्रिय