चौधरीले आफ्नो ट्वीटरमार्फत् बिहीबार औपचारिकरुपमा ‘वाइवाइ युरोप’ सुरू भएको र सर्वियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले यसको उद्घाटन गरेको बताएका हुन्।
नेपालको पहिलो ब्रान्डको रुपमा वाइवाइ युरोपेली राष्ट्रबाट पनि उत्पादन भएको हो। ‘सिजी फुड्स युरोप’ नामबाट सर्वियाको रुमा सहरमा रहेको वाइवाइ प्लान्टबाट व्यवसायिकरुपमा यसको उत्पादन हुन्छ।
हाल विश्वभर वर्षमा २ अर्ब २० करोडभन्दा बढी बिक्री भइरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा ६ र भारतमा आठ प्लान्टमार्फत उत्पादन भइरहेको वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ। चौधरी ग्रुप बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा छ ।
नेपालका एकमात्र ‘फोर्ब्स’ सूचीकृत अर्बपति विनोद चौधरीले विसं २०४१ सालमा थाइल्यान्डबाट वाइवाइ भित्र्याएका हुन्। त्यतिबेलै उनले यसको अन्तराष्ट्रिय ब्रान्ड अधिकार पनि आफूसँगै ल्याएका थिए। यो तीन दशक अवधिमा ललितपुरको भैंसेपाटीबाट सुरु भएको वाइवाइ नवलपरासीको उद्योग ग्राम हुँदै बर्दियासम्म फैलिएको छ। अब पूर्वी क्षेत्रका लागि इटहरीमा छुट्टै प्लान्ट बनाउने उनको तयारी छ।
त्यस्तै भारतमा सिक्किम (रम्पो) बाट सुरु भएको वाइवाइ उत्पादन उत्तराखण्ड (रुद्रपुर), आसाम (गुवाहाटी र सिल्चर), बिहार (पूर्णिया) हुँदै आन्द्राप्रदेश (चित्तुर) सम्म पुगिसक्यो।
सन् २०२० भित्र एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका १० वटा देशमा वाइवाइ उत्पादन सुरु गर्ने योजना बनाएको ग्रुपले सर्बिया लगत्तै साउदी र बंगलादेशबाट पनि उत्पादन सुरु गर्ने भएको छ।
त्यसपछि रुस, पोल्यान्ड, इरान, टर्की, मेक्सिको, इजिप्ट र केन्याबाट पनि उत्पादन सुरु गरिने र वाइवाइलाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्ने चौधरी ग्रुपको योजना छ।