वाईसीएल र युवासंघ नेपालबीच एकता चाँडै : पर्शुराम बस्नेत

वाईसीएल र युवासंघ नेपालबीच एकता चाँडै : पर्शुराम बस्नेत

नेकपा एमालेका नेता तथा युवासंघ नेपालका सचिव पर्शुराम बस्नेतसंग गरेको कुराकानी :

देशमा राजनीतिक मुद्दा सकिएर समृद्धिको एजेण्डालाई आत्मसाथ गर्दैगर्दा वाम गठबन्धनलाई सरकार निर्माणको लागि स्पष्ट बहुमत आएको छ । विकास र समृद्धि हासिल गर्नका लागि युवासंघ कसरी अगाडि बढ्दैछ ?

मुलुकमा तीन चरणका निर्वाचन सम्पन्न भइसकेका छन् । तपाईले भनेजस्तै राजनीतिक उपलब्धीका आन्दोलनहरु सकिसकेका छन् । हामीले अब समृद्धि, स्थायित्व र विकासको एउटै मुद्दालाई अगाडि बढाइरहेका छौँ । वाम गठबन्धनको पक्षमा नेपाली जनताले जुन उत्साहले मत दिनुभएको छ । त्यसले संघीय प्रणालीमार्फत समृद्धि पस्कने उद्देश्यलाई पूरा गर्छ ।

तपाई प्रदेश नं १ बाट प्रतिनिधित्व गर्नुहुन्छ । सबैभन्दा धेरै जिल्ला समेटिएको प्रदेश पनि त्यही हो । कसरी सम्भव हुनसक्छ समृद्धि ?

एक नं प्रदेश आफैमा समृद्ध प्रदेश छ । यसलाई जलस्रोतको हिसाबले पर्यटनको हिसाबले, कृषियोग्य जमिनका हिसाबले, धार्मिक पर्यटनका हिसाबले सबैभन्दा राम्रो भविष्य भएको प्रदेशका रुपमा लिन सकिन्छ । यसकारण एक नं. प्रदेशले अन्य छ वटै प्रदेशलाई मार्गनिर्देश गर्छ भन्ने हाम्रो विश्वास छ । यहाँ वाम गठबन्धनको लगभग दुई तिहाई मत भएकाले सहज रुपमा प्रदेश सञ्चालन गर्न सकिन्छ ।

निर्वाचन आयोगले प्रक्रिया टुंग्याउना साथ एक नं प्रदेशले हामीजस्तै युवा नेतृत्व पाउँछ । एक नं. प्रदेशको पहिलो मुख्यमन्त्री हुने सौभाग्य शेरधन राईले पाउनुहुनेछ । यसले युवा वर्गमा उत्साह थपेको छ । जसरी भारतमा गुजरातले एउटा सन्देश प्रदान गरिरहेको छ, त्यसैगरी एक नं प्रदेशले विकास र समृद्धिको मोडल सहितको एउटा खाका प्रस्तुत गर्छ ।

सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको छैन् । लामो समयदेखि प्रदेश नं एकको राजधानी धनकुटा बनाउनुपर्छ भनेर त्यहाँका वासिन्दाहरुले आन्दोलन गरिरहेका छन् । तपाईलाई कसरी टुंगिन्छ जस्तो लाग्छ यो कुरा ?

प्रदेशको राजधानी अहिले अस्थायी रुपमा तोकिदैछ । भौतिक संरचनादेखि लिएर सरकार निर्माण गर्न सहज हुने ठाउँमा सरकारले अस्थायी राजधानी तोक्छ । तर स्थायी राजधानी वैधानिक हिसाबले संविधानमा भए बमोजिम प्रदेश सभाका सदस्यहरुको बहुमतको आधारमा उपयुक्त ठाउँमा तोकिन्छ । त्यस कारण हामीले अहिले नै त्यो कुरामा दाबी गरिरहनु उचित हुँदैन जस्तो लाग्छ ।

पार्टी एकताको कुरा आइरहेको छ । माओवादीबाट पनि वाईसीएल छ । एमालेबाट तपाईहरु हुनुहुन्छ । अब कसरी अगाडि बढ्नुहुन्छ ?

युवासंघ देशभरि नै शसक्त छ । पार्टी एकतापछि वाईसीएल र युवासंघको पनि एकता महाधिवेशन हुन्छ । त्यो महाधिवेशनले देश विकासका लागि तथा समुन्नत समाज निर्माणका लागि सहयोग गर्छ । यसले राजनीतिमा युवाको वितृष्णालाई चिर्नका लागि यसले सहयोग गर्छ । पर बसेर राजनीतिलाई धारे हात लगाउने भन्दा पनि राजनीतिभित्र छिरेर शुद्धिकरण गर्नका लागि हामी युवाहरुलाई प्रोत्साहन गछौैँ । यस्तै अन्य योजनाका साथ हामी आउँदैछौँ ।

अन्त्यमा, नयाँ सरकार गठनपछि देश नयाँ दिशातिर उन्मुख हुन्छ भन्नका लागि तपाईको भनाई के हुन्छ ?

अहिले अड्किएको राजनीतिलाई सबै मिलेर समाधानको बाटोमा जानुपर्छ । राष्ट्रियसभा निर्वाचनको कार्यातालिका सार्वजनिक भइसकेकाले यो प्रक्रिया निर्धारित मितिमा नै हुन्छ । सम्भव त फागुनसम्ममा सबै कानुनी जटिलताको अन्त्य भएसंगै जनमत अनुसार वाम गठबन्धनको सरकार बन्छ । त्यो सरकारले जनताको चाहाना, भावना अनुसार देशलाई समृद्धिको दिशामा हिडाउँछ । मुलुकले स्थायित्व र समृद्धिको ढोका खोल्छ । -हिमालपाेष्टबाट

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

पत्रकारलाई कैद सजाय प्रकरणः पत्रकार महासंघले उठायो आदेशमाथि प्रश्न

काठमाडौं ।  अनलाइन न्युज पोर्टल सिधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ । सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’ सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्ने मान्यता महासंघले राखेको उनलले बताएका छन् । महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने पनि भनेको छ । ‘सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च अदालतले आफैंले प्रतिवेदन उठान गरेर, निवेदन दर्ता गरी आफैंले पत्रकारलाई जेल पठाउने फैसला गरेकोमा महासंघको गम्भीर चासो र चिन्ता छ । महासंघ कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ उनले भनेका छन् ‘संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन महासंघ आग्रह गर्दछ ।’ सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई पनि ६ महिना कैद सजाय सुनाएको थियो । त्ययसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्रै कैद बस्नुपर्ने कुरा फैसलामा उल्लेख छ ।

माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरुले दश/दश दिनको पारिश्रमिक दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो। हिजो बसेको कार्यालय (पदाधिकारी) बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीहरुलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ। सो केन्द्रीय राहतकोषमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुले दश दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ । त्यस्तै पार्टीका प्रदेश समितिहरुले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपत व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ। विपतको सामना गर्न पार्टी पंक्ति, जबस र मोर्चाहरुलाई विपत् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ।

अखिल क्रान्तिकारीमा उम्मेदवारको उमेरहद टुंग्याउन मतदान गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ । उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको छलफलपछि सो निर्णय गरेको हो । अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुने र लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प दिइने बताउनुभयो । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।  अखिल क्रान्तिकारीले यसपटक नेतृत्व चयनमा मात्रै होइन, विधानमै मतदान गर्ने नयाँ अभ्यास गर्ने भएको छ । इञ्चार्ज शर्माले नीति र नेतृत्व चयन दुबै प्रक्रियामा लोकतान्त्रिक विधि अपनाइने बताउनुभयो ।  यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा नभएको उहाँले स्पष्ट गर्नुभयो ।  अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन गर्न निर्देशन दिएको इञ्चार्ज शर्माले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै हलले जे भन्छ, त्यही मान्न विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको थियो । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ ।

लोकप्रिय