वातावरणीय योजना निर्माण अन्तिम चरणमा

वातावरणीय योजना निर्माण अन्तिम चरणमा

बैतडी, असोज २९ । पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयवासीसँग छलफल गरी विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माण कार्य अन्तिम चरणमा पुर्याइएको हो ।

परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनल प्रालिले वातावरणविद्, कृषि विज्ञ र सामाजिक विज्ञको टोली अध्ययन अनुसन्धानबाट पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो ।

अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरण प्रभाव मूल्यांकनको आधार मानेर उच्च बाँध निर्माणस्थलको अध्ययन अनुसन्धान गरी प्रतिवेदनलाई अन्तिमरुप दिने तयारी गरेको थियो ।

स्थानीयवासीको सुझाव संकलन

नेपाली परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनलले गत भदौमा आयोजनाको प्रभावित क्षेत्र बैतडी र दार्चुलाका स्थानीय तहमा गएर नागरिकसँग छलफल गरी सुझाव संकलन गरेको थियो ।

स्थानीयवासीको सुझावपछि प्रारम्भिक योजना बनाएको विज्ञहरुको टोलीले अहिले बैतडी र दार्चुला जिल्लामा जिल्लास्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर सरोकारवालाहरुको सुझाव संकलन गरेको हो ।

आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजनालाई अब अन्तिमरुप दिने परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनलका वातावरण विज्ञ अजयभक्त माथेमाले बताए । “एक्सपट टोलीबाट लामो समयपछिको अध्ययनपश्चात् यो योजनालाई अन्तिम रुप दिने तयारी गरेको छौँँ, उनले भने ।

जलाशय क्षेत्रमा व्यापक असर, २२ हजारभन्दा बढी विस्थापित हुने

प्रारम्भिक प्रतिवेदनमा बैतडीको पञ्चेश्वरमा बन्ने विश्वकै दोस्रो उच्च बाँधस्थल क्षेत्रमा ठूलो र व्यापक वातावरणीय तथा सामाजिक असर पर्न सक्ने उल्लेख गरिएको छ ।

विशाल तथा जटिल निर्माणको चरण र आयोजना सञ्चालनको चरणमा बस्ती विस्थापन, करिब ९९४ हेक्टर खेतीयोग्य जमिन डुबान क्षेत्रमा पर्ने, भौतिक संरचना निर्माणको क्रममा वनजंगल नष्ट भई भूक्षय, भू–अस्थिरता, वन्यजन्तु र जडीबुटीको विनाश हुने तथा निर्माणस्थलमा विभिन्न महामारी हुन सक्ने खतरा औँल्याइएको छ ।

जलाशयको निर्माणले करिब दुई हजार ९२६ घरधुरीका २२ हजार ७६५ नागरिक स्थानान्तरण गर्नुपर्ने परामर्शदाता कम्पनीका सामाजिक विज्ञ शिव ढकालले बताए । यस्तै सो क्षेत्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहर नष्ट हुने ढकालले बताए । “आयोजना निर्माण र सञ्चालनका क्रममा सामाजिक र वातावरणीय क्षेत्रमा ठूलो हलचल हुन्छ”, उनले भने ।

उच्च बाँधको निर्माणपछि यस्ता फाइदा

पञ्चेश्वर उच्च बाँधको निर्माणबाट आयोजना क्षेत्रका नागरिकलाई असरसँगै विभिन्न फाइदा पनि हुने विस्तृत वातावरणीय व्यवस्थापनको योजनामा उल्लेख गरिएको छ ।

बाँध निर्माणको क्रममा हजारौँ नागरिकले रोजगारी पाउनेछन् ,बाँध निर्माणका लागि आठ हजारभन्दा बढी कर्मचारीको आवश्यकता पर्ने बताइएको छ । यस्तै निर्माणकै क्रममा पनि होटल व्यवसाय पनि फस्टाउने छ भने आयोजना क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लामो समय रोजगारी मिल्नेछ ।

जलाशय निर्माणपश्चात् पानीको सतहको क्षेत्रफल तथा आयतन बढ्दा मत्स्य उत्पादनमा वृद्धि हुने, पर्यटनको विकासमा टेवा पुग्ने, रोजगारी वृद्धि भई नागरिकलाई जीविकोपार्जन गर्न सहज हुने तथा गरिबी निवारणमा टेवा पुग्ने विज्ञहरुको भनाइ छ । “जलाशयबाट माछापालनको ठूलो सम्भावना छ”, कृषि विज्ञ गोपीकृष्ण सेंडाईले भन्नुभयोे, “पर्यटनको विकासले पनि फड्को मार्ने देखिन्छ ।”

यस्ता छन् व्यवस्थापनका मुख्य योजना

विस्तृत वातावरणीय व्यवस्थापन योजनामा असरहरु औँल्याएर समाधानका लागि पनि १० वटा मुख्य उपयोजना बनाइएको छ ।

निर्माण प्रभाव व्यवस्थापन योजना, जल ग्रहण क्षेत्र व्यवस्थापन योजना, प्रदूषण व्यवस्थापन योजना, वन संरक्षण तथा व्यवस्थापन योजना, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन योजना, माछा व्यवस्थापन योजना, जडीबुटी व्यवस्थापन योजना, कृषि सहयोग योजना, पञ्चेश्वर सहयोग योजना र पर्यटन विकास योजना तयार गरिएको छ ।

यी योजनामा प्रभावित क्षेत्रमा देखिने सबै किसिमका असर तथा प्रभावबाट उत्पन्न समस्या समाधानका लागि गरिने कार्य तथा गतिविधि सूचीकृत गरिएको छ । विकास हुने संरचना निर्माणको क्रममा हुने वातावरणीय क्षतिलाई व्यवस्थापन गर्दै आयोजनालाई दिगो बनाउन यी योजना लागू हुने बताइएको छ ।

यो विस्तृत योजनालाई पञ्चेश्वर विकास प्राधिकरण र त्यसअन्तर्गतका एकाइ, परामर्शदाता, निर्माण ठेकेदार, विशेषज्ञ टोलीले कार्यान्वयन गर्नेछ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय