वाम गठबन्धनको कडा विरोध गरेकाे कांग्रेसको घोषणापत्रमा के छ ?

वाम गठबन्धनको कडा विरोध गरेकाे कांग्रेसको घोषणापत्रमा के छ ?

काठमाडौँ, कात्तिक १४ । प्रमुख सत्तारुढ नेपाली काँग्रेसले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हालै भएको चुनावी गठबन्धन सत्ता स्वार्थको कम्युनिष्ट गठबन्धन भएको आरोप लगाएको छ ।

काँग्रेसले आज विशेष समारोहका बीच आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्दै कम्युनिष्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने उद्देश्य रहेको उक्त गठबन्धनलाई सफल हुन नदिने दृढता व्यक्त गरिएको छ ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको उक्त घोषणा पत्रमा आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीहरु बीच चुनावी तालमेल गर्ने, अन्ततः एउटै कम्युनिष्ट पार्टी बनाउने, कम्युनिष्ट पार्टीको वर्चस्वको सरकार बनाउने र संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिष्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको उल्लेख छ ।

संसारभरि असफल सिद्ध भइसकेको कम्युनिष्ट शासनलाई नेपालमा स्थापना गर्न खोजिएको कम्युनिष्ट गठबन्धनको यस्तो प्रयोग देश र जनताका लागि किमार्थ स्वीकार नहुने भन्दै काँग्रेसले पार्टीका लाखौँ ऊर्जाशील युवा र समर्थकहरुको पंक्तिले लोकतन्त्र स्थापनाका लागि सबै किसिमका निरंकुश शासन र हिंसाका विरुद्ध पटक–पटक संघर्ष गर्दै आएको अवगत गराउँदै डटेर सामना गर्ने उल्लेख गरेको छ ।

एमाले राष्ट्रिय एकताको बाधक, माओवादी केन्द्र अवसरवादी
काँग्रेसले एमाले र माओवादी केन्द्रको वर्चस्वको सरकार रहुुञ्जेल स्थानीय तह निर्वाचनको राजनीतिक वातावरण विल्कुलै बन्न नसकेको, मधेश अशान्त र आन्दोलन कायम रहेको, आदिवासी–जनजाति, थारु आन्दोलन सम्बोधन गर्ने अग्रसरता समेत सरकारले लिन नसकेको आरोप लगाएको छ ।

एमालेको अदूरदर्शी नेतृत्व, असहिष्णु र आक्रामक व्यवहारका कारण संवाद र सहमतिको प्रयास समेत प्रारम्भ हुन नसकेको जनाउँदै काँग्रेसले एमाले नेतृत्वको सरकार केवल सत्ताको चरम एमालेकरण र साधन स्रोतको दूरुपयोग गर्नमा केन्द्रित रहेको घोषणा पत्रमा उल्लेख गरेको छ ।

यस्तो असहज परिस्थितिको अन्त्य गर्न काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्णायक अग्रसरता लिएको र फलस्वरुप स्थानीय तहको निर्वाचन सम्पन्न गर्न, मधेशका मुद्दाहरुलाई सम्बोधन गर्ने गरी संविधान संशोधन गर्न तथा संविधानको कार्यान्वयन गर्न काँग्रेस–माओवादी एवं अन्य दलहरु को संयुक्त सरकार गठन भएको घोषणा पत्रमा उल्लेख छ ।

“मधेश केन्द्रित दलहरुसँग संविधान संशोधनका विषयहरुमा समझदारी बन्यो, कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारद्वारा संविधान संशोधन प्रस्ताव संसदमा निर्णयार्थ पेश भयो, काँग्रेसको अग्रसरतामा संवाद र सहमतिको सार्थक प्रयासका कारण देशमा ठूलो उत्साहपूर्वक र व्यापक सहभागितासहित स्थानीय तहको शान्तिपूर्ण निर्वाचन सम्पन्न हुन सकेको काँग्रेसको ठम्याइ छ ।”

एमाले संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरुप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रहेको जनाउँदै काँग्रेसले मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएका एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको टिप्पणी गरेको छ ।

त्यस्तै पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि माओवादी केन्द्रको परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्धत हुने, कहिले एमालेसँग सरकार बनाउने र कहिले काँग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टीको रुपमा बन्दै आएको घोषणा पत्रमा जनाइएको छ ।

त्यस्तै काँग्रेसले मधेश केन्द्रित दलसँग संवाद र सहकार्य तथा राप्रपा ९प्रजातान्त्रिक० र राप्रपासँग विश्वसनीय सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

काँग्रेसको नेतृत्वमा नयाँ संविधान
काँग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भएको घटना लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको घोषणा पत्रमा उल्लेख छ ।

यस संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ । सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रको अभ्यास गर्ने, राजनीतिक र धार्मिक स्वतन्त्रता भएको, भय र गरिबीबाट मुक्त समाज निर्माण गर्ने काँग्रेसको विचार र संकल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको छ ।

काँग्रेसले सात दशकसम्म लोकतन्त्र र लोकतन्त्र पुनःस्थापनाका पक्षमा निरन्तर संघर्ष गर्ने नेपाली जनताको गौरवपूर्ण र दुर्लभ इतिहास रहेको भन्दै नेपालमा राष्ट्रिय पुनःजागरणको नयाँयुग प्रारम्भ गर्ने घोषणा गरेको छ । त्यसका लागि काँग्रेसले समावेशी लोकतन्त्र र मानव अधिकार, आर्थिक समृद्धिको अभियान, आध्यात्मिक–सांस्कृतिक वैभव, युवा जनशक्ति र आधुनिक नेपाल, जल, जडीबुटी र जैविक विविधता, पर्यटनको माध्यमबाट अन्तर्राष्ट्रिय परिचय, छिमेकी मुलुकसँग सम्मानजनक सम्बन्ध र सहकार्य गर्ने जनाएको छ ।

विगत २५ वर्षको विकास प्रतिफल
काँग्रेसले घोषणा पत्रमा विगत २५ वर्षमा आफ्नो नेतृत्वमा भएको विकासको फहेरिस्त उल्लेख गरेको छ । विस २०४८ मा ४९ प्रतिशत रहेको गरिबी २०७३ मा २१ प्रतिशतमा झरेको, साक्षरता ५० बाट ९० प्रतिशत पुगेको, औषत आयु ५४ वर्षबाट ७१ वर्ष पुगेको, खानेपानीको सुविधा ३६ बाट ८४ प्रतिशत जनसंख्यामा पुगेको, सडक सात हजार ३३० किमीबाट बढेर ८१ हजार ३७१ किमी पुगेको, सिँचाइ ५ दशमलव ४ हेक्टरबाट बढेर १५ लाख हेक्टर पुगेको, टेलिफोन ७१ हजार ५६० बाट दुई करोड ७८ लाख ५० हजारमा पुगेको उल्लेख छ ।

विकास, दृष्टि र लक्ष्य
काँग्रेसले निर्वाचनबाट विजयी भई आगामी १० वर्षमा दु्रत र फराकिलो आर्थिक वृद्धि हासिल भई अर्थतन्त्रको आकार प्रचलित मूल्यमा रु १०० खर्बको हाराहारीमा पुग्ने र लाखौँ नयाँ रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनको अनुपातमा औसत पाँच प्रतिशत ९वार्षिक रु एक खर्बदेखि पाँच खर्ब० बराबरको विदेशी प्रत्यक्ष लगानी भित्रिने घोषणा पत्रमा उल्लेख छ । गरिबीको रेखामुनि रहेका जनताको हिस्सा तीन प्रतिशत भन्दा कम हुने, नेपालमा कुपोषण र भोकमरी निर्मूल हुने, प्रत्येक नेपालीको स्वास्थ्य बीमा गरिने र औसत आयु ७७ वर्ष पुग्ने उल्लेख गरेको छ ।

त्यस्तै १५ हजार मेगावाट भन्दा बढी ऊर्जाको उत्पादन हुनेछ । आन्तरिक खपतभन्दा बढी ऊर्जा निर्यात गरिनेछ र नेपालको अन्तर्राष्ट्रिय छवि ‘शत प्रतिशत स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्र’को हुने घोषण पत्रमा उल्लेख छ ।

काँग्रेसले ‘काठमाडौँ–मधेश एक्सप्रेस वे’ लगायत चारदेखि छ लेनका एक हजार किमीभन्दा बढी द्रुत–मार्ग, ५०० किमीभन्दा बढी रेल्वेलाइन, ५० हजार किमी भन्दा बढी कालोपत्रे सडक संजालले राष्ट्रलाई जोड्ने महत्वकांक्षी योजना अघि सारेको छ । त्यस्तै पाँच वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, प्रत्येक वर्ष ३२ लाख भन्दा बढी पर्यटक नेपाल भित्रिने र पचास लाख नेपालीले पर्यटन उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाउने प्रक्षेपण गरेको छ ।

सामाजिक सुरक्षा भत्ता दोब्बर
नेपाललाई न्यायपूर्ण एवं समतामूलक बनाउने काँग्रेसको समाजवादी नीतिको मूल ध्येय रहेको जनाउँदै काँग्रेस नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य क्षेत्रका सामाजिक कार्यक्रमका अतिरिक्त वृद्धवृद्धा भत्तामा वृद्धि, एकल महिला भत्ता, केटाकेटीलाई विद्यालय पठाउने महिलालाई खाजाभत्ता, पिछडिएका वर्गलाई निःशुल्क पढाइको व्यवस्था, विभिन्न घातक रोगको निःशुल्क र सहुलियतपूर्ण उपचारलगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक सुरक्षाका कार्यक्रम कार्यान्वयनमा ल्याएको घोषणा पत्रमा उल्लेख छ ।

ज्येष्ठ नागरिकलाई दिइँदै आएको भत्तामा दोब्बर वृद्धि, एकल महिला, अपांग, सीमान्तकृत र पिछडिएका वर्ग एंव दलितलाई भत्ता तथा सुविधाको व्यवस्था, महिला साक्षरता कम भएका जिल्लामा प्राथमिक शिक्षामा प्रोत्साहन गर्न मासिक भत्ताको व्यवस्था, कर्णालीका जनताका लागि रोजगारीको व्यवस्था जस्ता प्रोत्साहन र सामाजिक न्यायका कार्यक्रम कांग्रेस सरकारमा हुँदा ल्याइएको स्पष्ट पारिएको छ ।

काँग्रेस नै किन ?
घोषणा पत्रमा कम्युनिष्ट आवरणमा उदाउन खोजेको भ्रष्टचरित्रको अधिनायकवादी दुःस्वप्नलाई परास्त गर्दै असल शासन प्रत्याभूत गर्ने मध्यमार्गी लोकतन्त्रको सवलीकरणका लागि, अर्को दशक राष्ट्रिय पुनःजागरणको कालखण्ड हुने र नेपाललाई दिगो विकासमा अग्रणी, मध्यम आय भएको मुलुक बनाउन अभूतपूर्व गतिमा पूर्वाधार निर्माण एवं नीतिगत सुधारका कार्यक्रममार्फत स्वदेशी र विदेशी पुँजी परिचालन र रोजगारी सिर्जना गर्न काँग्रेसको नेतृत्व आवश्यक पर्ने उल्लेख छ ।

त्यस्तै विपी कोइरालाको आदर्शअनुरुप लोकतान्त्रिक समाजवादी राज्य जहाँ स्तरीय शिक्षा र स्वास्थ्य सेवालगायत चुस्त सार्वजनिक सेवा सुनिश्चित हुन्छ, त्यस्तो समतामूलक समाज स्थापना गर्दै जोखिममा बाँच्ने नेपालीहरुको संख्या न्यून हुनेगरी २१ औं शताब्दी अनुकूल सामाजिक सुरक्षा प्याकेजको महत्वकांक्षी योजना कार्यान्वयन गर्न काँग्रेस चाहिने उल्लेख छ ।

अगामी निर्वाचनका लागि काँग्रेसले पर्याप्त स्रोत साधन, अधिकार, क्षमता र जवाफदेहीसहितका स्थानीय, प्रादेशिक र संघीय सरकार जसले एकीकृत राष्ट्रिय अर्थतन्त्रमार्फत हिमाल, पहाड र मधेशलाई एकताको मालामा उन्नेछन्, तिनको सफल सञ्चालनका लागि तथा छिमेकी राष्ट्रहरुसँग सन्तुलित र सम्मानजनक कूटनीतिक सम्बन्ध कायम गर्दै आर्थिक अन्तर्निर्भरता, जलवायु परिवर्तन र आतंकवाद जस्ता साझा मुद्दामा सहकार्य गर्न अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि काँग्रेस चाहिने जिकिर घोषणा पत्रमा गरिएको छ । रासस

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय