विदेशमा एक वर्षमा ८७८ नेपालीको मृत्यु, सबैभन्दा बढी साउदीमा

विदेशमा एक वर्षमा ८७८ नेपालीको मृत्यु, सबैभन्दा बढी साउदीमा

काठमाडौँ — वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, यूएईमा १ सय ३, कुवेतमा ४८, दक्षिण कोरियामा २६, ओमनमा ११, बहराइनमा १०, जोर्डनमा ४, इजरायलमा ३, युगान्डा र नाइजेरियामा एक/एक नेपालीको ज्यान गएको छ ।

श्रमिकलाई पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए । ‘अभिमुखीकरण तालिम नाउँ मात्रैको भयो,’ उनले भने, ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’

कार्यक्षेत्रबाहिर बढ्दोउल्लिखित तथ्यांकमध्ये झन्डै ७.७४ प्रतिशत अर्थात् ६८ जनाको मात्रै कार्यक्षेत्रमा मृत्यु भएको हो ।

गन्तव्य देशका सरकारले कार्यक्षेत्रको दुर्घटना दर नियन्त्रण गरेकाले त्यहाँको मृत्युदर कम देखिएको राजदूतहरूको बुझाइ छ । ‘हाम्रा श्रमिकको ठूलो संख्या निर्माण क्षेत्रमा छ । मृत्युदर निर्माण क्षेत्रभन्दा बाहिर बढी छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘क्याम्पभित्रको मृत्युदर चिन्ताजनक छ ।’

काम सकेर क्याम्पमा आराम गरिरहेका बेला मृत्यु हुनेको संख्या २४.०३ प्रतिशत अर्थात् २ सय ११ छ । दिनभर सकुशल काम गरेका श्रमिक अचानक हृदयाघात, मस्तिष्कघातको सिकार हुने गरेका छन् । ‘कोही त खाना खाइवरि बेडमा पल्टेकाहरू बिहान मृत अवस्थामा फेला पर्छन्,’ कोइरालाले भने, ‘यस्तो हुनुको ठ्याक्कै कारण छैन ।’

कतिपयले अस्वस्थ बसाइ र खानपिन अनि दिनभर चर्को घाममा काम गरेर चिसो कोठामा बस्दा यस्तो हुने बताउने गरेका छन् । श्रमिकहरू भने खानपिन र बसाइलाई मूल कारण ठान्छन् । ‘राति पाकेको खाना भोलिपल्ट दिउँसो खानुपर्छ । त्यो विषमा परिणत हुन्छ,’ गैरआवासीय नेपाली संघ, साउदीका अध्यक्ष नारायण पासवानले भने, ‘श्रमिकले स्वस्थ खाना नै पाउँदैनन् । फेरि बेलाबेला स्वास्थ्य परीक्षण गराउने बानी छैन ।’

मलेसियाको अवस्था झन् डरलाग्दो छ । चिसो मौसम भए पनि अस्वस्थ खानपिनका कारण यहाँ सबैभन्दा बढी ३६.७ प्रतिशतको मृत्यु भएको छ । यहाँ सहज रूपमा पाइने अस्वस्थ मदिराको सिकार न्यून आम्दानीका श्रमिक भइराखेको नेपाली दूतावासको भनाइ छ । ‘कम आय भएका श्रमिकले उच्चकोटिको मदिरा खाँदैनन् । उनीहरू घरेलु रूपमा उत्पादित मिसावटयुक्त मदिरा पिउँछन् । यसले भित्रभित्रै शरीरलाई खत्तम पारेको थाहा पाउँदैनन्,’ एक अधिकारीले भने, ‘ती श्रमिकलाई कसले सम्झाउने ?’

आत्महत्या र सडक दुर्घटना
दूतावासहरूका अनुसार श्रमिकको आत्महत्या दर डरलाग्दो रूपमा बढिरहेको छ । कार्यस्थलमा रोजगारदाताले गर्ने दुव्र्यवहार र पारिवारिक मनमुटाव यसको मूल कारण औंल्याइएको छ । एक वर्षमा १५.२६ प्रतिशत अर्थात् १ सय ३४ श्रमिकले आत्महत्या गरे ।

‘कोरियामा धेरै आर्थिक आम्दानी छ तैपनि उनीहरू खुसी देखिँदैनन् । कोरियाको डरलाग्दो अवस्था नै आत्महत्या हो,’ कोरियास्थित श्रम सहचारी डिल्ली बाँस्तोलाले भने, ‘श्रमिकलाई मानसिक समस्या धेरै देखिन्छ ।’

कोरियापछि बढी आत्महत्या मलेसिया (४३), यूएई (३३) र कतार (२०) मा देखिन्छ । ‘एकातिर सोचेजस्तो काम र तलब हुँदैन । ऋणको भार थपिएको हुन्छ । अर्कातिर परिवारसँग पनि मनमुटाव भइरहन्छ,’ मलेसियास्थित श्रम काउन्सेलर बद्री कार्कीले भने, ‘विदेशमा रहेका श्रीमान्/श्रीमतीलाई घरपरिवारबाट पनि अनावश्यक तनाव पुग्ने काम गर्नुभएन ।’

एक वर्षमा सडक दुर्घटनामा १७.१९ प्रतिशत अर्थात् ६८ जनाको ज्यान गयो । जेद्दास्थित नेपाली महावाणिज्यदूत रेवती पौडेलले बाटो काट्न नजान्दा अकालमा ज्यान गइरहेको बताए । ‘गाडी १ सय २० को गतिमा दौडिरहेको हुन्छ । फेरि नेपालमा जस्तो दायाँ होइन, बायाँ साइडबाट गाडी कुदाइन्छ । गाडी परै छ भनेर फराकिलो सडक काट्न दौडिन्छ । कतिखेर कुन गाडीले भेट्छ पत्तै पाइँदैन,’ पौडेलले भने ।

सुनुवाइ हुँदैन
श्रमिकको सुरक्षाका लागि सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ नहुने राजदूतहरूको गुनासो छ । ‘हरेकले भाषणमा दैनिक विमानस्थलमा कतिवटा शव आउँछन् भनेर फलाकिरहेको हुन्छ । हामीले न्यूनीकरणका लागि सुझाव पठाउँछौं, कतै सुनुवाइ हुँदैन,’ एक अधिकारीले भने ।

कुवेतका लागि राजदूत यज्ञ हमाल अभिमुखीकरण गुणस्तरीय बनाउनुको विकल्प नभएको बताउँछन् । ‘अहिले जसरी अभिमुखीकरण गरिन्छ, यो ठीक छैन,’ उनले भने, ‘हरेक देशको आफ्नै खालको विशिष्टता छ । पेसागत हिसाबले थाहा पाउनुपर्ने कुरा अलगअलग छन् । यी सबैलाई समेट्ने तालिम दिनुपर्छ ।’

दूतावासले जागरण कार्यक्रम चलाए पनि पर्याप्त छैन । ‘हामीले श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आइरहेका छौं,’ ओमनका लागि राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘श्रमिकहरू गन्तव्य मुलुकमा आउने बेलामै आवश्यक सूचना दिन जरुरी छ । यता सबै श्रमिक रहेको ठाउँमा पुग्न जटिल छ ।’

श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई जोखिमयुक्त बनाउन कार्ययोजना बनाएर सुधार गरिरहेको बताए । ‘श्रमिकको जीवन सुरक्षित बनाउन हामीले गन्तव्य देशका सरकारसँग नजिकबाट काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले त श्रम सम्झौतालाई नै परिमार्जन गर्नेदेखि नयाँसग श्रम्झौता गर्ने काम भइरहेको छ ।’ उनले अभिमुखीकरण तालिमकोपाठ्यक्रम परिमार्जन गरिएको बताए ।

पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा केजिन राई चयन

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले उपाध्यक्षहरुमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिव शेरबहादुर परियार, उपमहासचिवमा कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश  गौतम (साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भोला लामिछाने (स्पेन), वाइबी गुरुङ (डेनमार्क), कमल पराजुली (स्पेन), किशोर सुब्बा (पोर्चुगल), सन्जु काउछा (फिनल्यान्ड), दिपक भण्डारी (पोर्चुगल), बिनोद अधिकारी (क्रोएसिया), दिपक खतिवडा (पोर्चुगल), जसमान दर्नाल (जर्मनी), प्रकाश बगाले (माल्टा), पुस्तक रेग्मी (पोर्चुगल), लाक्पा तेन्जी शेर्पा (रोमानिया), धनराज विक (माल्टा), जनक बराल (बेल्जियम), नवराज दवाडी (पोर्चुगल), सेन्छेलुङ पतङ्वा (जर्मनी), बलराम राइ (पोर्चुगल) कमल पन्थी (हंगेरी) माधव पोखरेल (इटाली), घनश्याम गौतम (स्पेन), सुभाष चाम्लिङ (बेल्जियम), तुलसा घिमिरे (पोर्चुगल), सर्मिला गुरुङ ठकुरी (पोर्चुगल), अमृता राई (रोमानिया), मनि तमु रहेका छन् । बुधबार सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ बलियो र एकताबद्ध बनाउनुपर्ने बताए । उनले त्यसो भएमा मात्रै पत्रकारहरु दरिलो हुने र जस्तोसुकै अप्ठ्यारोमा लड्न सकिने बताए ।  कार्यक्रममा बेनेलक्स तथा युरोपियन युनियनकालागि राजदूत गेहेन्द्र राजभण्डारी, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल, प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल ,समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपाल केन्द्रीय उपाध्यक्ष देविका घर्ती, फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राई, नेपाल अमेरिका पत्रकार संघ (नेजा) अध्यक्ष सुरज भण्डारी, पत्रकार महासंघ जापान शाखा अध्यक्ष शान्त पहारी,  प्रेस सेन्टर नेपाल केन्द्रीय उपमहासचिव राजेश चाम्लिंग राई, प्रवास इञ्चार्ज इञ्चार्ज आरबी खड्का, प्रवास अध्यक्ष हरि नेपाली, एनआरएनए अभियन्ताहरु रामशरण सिंम्खडा, प्रवासी नेपाली मञ्च युरोप संयोजक मुक्त गुरुङ, जनसम्पर्क समिति युरोप महामन्त्री  गंगाधर गौतम ,नेपाली जनप्रगतिशिल मञ्च युरोप उपाध्यक्ष गंगाप्रसाद भुसाल, प्रवासी नेपाली एकता मञ्च युरोप इन्चार्ज सुवास पोखरेल, एनपिपीएृफ आयरल्याण्ड महासचिब मिलन छन्त्याल, एनपिपीएफ जर्मनी अध्यक्ष गोबिन्द भण्डारी , राप्रपा पोर्चुगल निबर्तमान अध्यक्ष दिपक शर्मा , प्रेस युनियन पोर्चुगल सभाति बसुदा सत्याल ,प्रवासी पत्रकार महासंघ बेलायत पूर्व अध्यक्ष चिरन शर्मा, प्रवास नेपाली सम्पर्क विभाग९रास्वपा० भोला लामिछाने, पोर्चुगलकालागि पर्यटन नेपाली प्रवर्द्धक रमेशराज बाँस्तोला, एनआरएनए बेल्जियम  एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, अनेसास पोर्चुगल महासचिव एनबी अन्जान, पानी अभियान्ता मित्रलाल पार्देलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले अधिवेशनको सफलताको शुभकामना दिएका थिए।  पत्रकार महासंघले तोकेका केन्द्रीय प्रतिनिधि नरेश खपांगी मगर तथा पत्रकार महासंघ केन्द्रीय सचिव श्रृजना अर्यालको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुनिल खड्का, रमेश खतिवडा ,सरिता बराईली, केसी लामिछाने तथा रिंकु कुमारी मिश्र रहेको निर्वाचन समितिले नयॉ कार्यसमिति चयनको प्रक्रिया पूरा गर्दै बन्द सत्र सम्पन्न गरेको थियो। उक्त कार्यक्रमको सभापतित्व प्रेम परियार, संचालन द्रोण रिजाल र स्वागत मन्तव्य राजकुमार थापाले गरेका थिए । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले १० बुँदे प्रस्तावहरू पारित समेत गरेको छ। पारित प्रस्तावहरुः १. युरोपमा रहेका नेपाली दूतावासहरु, कुटनीतिक निकायहरु, विभिन्न सामाजिक संघसंस्थाहरु गैर आवासीय नेपाली संघ, विभिन्न राजनैतिक, सामाजिक, क्षेत्रीय, जातीय, भाषिक संघसंस्थाहरुसंग नेपाल र नेपालीको हकहित रक्षाको पक्षमा सहकार्य तथा समन्वय गरेर अघि बढ्नेमा हामी दृढ़ छौं । प्रेस स्वतन्त्रता, पत्रकारिता र पत्रकारको उचित सम्मान र मर्यादा राख्न सम्बन्धित सबै पक्षसंग यो अधिवेशन अपील गर्दछ । २. प्रवासमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघका शाखाहरुलाई नेपालकै शाखासरह मान्यता दिन र केन्द्रीय महाअधिवेशनमा प्रवासमा रहेका सदस्यहरुलाई पनि मतदान गर्न पाउने ब्यवस्था गर्न तथा प्रवासमा रहेका पत्रकारहरुलाई पनि महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन यो अधिवेशन माग गर्दछ।  ३. युरोपमा रहेका पत्रकारहरुको क्षमता अभिवृद्धिको लागी तालिम तथा अन्य क्षमता अभिवृद्धिमूलक कार्यलाई आगामी दिनमा पनि निरन्तर रुपमा संचालन गर्ने तथा युरोप क्षेत्रका पत्रकारहरुको हकहित तथा पेशागत सुरक्षाकालागि यो अधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ ।  ४. श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि यो अधिवेशन सम्बन्धित निकाय र व्यक्तिहरुमा खबरदारी गर्दछ ।  ५. सञ्चारमाध्यम र पत्रकारहरुलाई विशेष राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याउन हामी नेपाल सरकारसित माग गर्दछौं । स्वरोजगारमूलक मिडियालाई सम्वर्धन र प्रवर्धन गर्न, साथै समानुपातिक विज्ञापन वितरण सुरु गर्न र स्वरोजगारमूलक मिडियालाई प्रदान गरिने लोककल्याणकारी विज्ञापनवापत दिइने भुक्तानी समयमा उपलब्ध गराउन समेत यो अधिवेशन माग गर्दछ । ६. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई यो अधिवेशन आह्वान गर्दछ।  ७.नेपाल पत्रकार महासंघका सदस्यको शुद्धीकरणलाई विधानको व्यवस्था अनुरुप   प्रभावकारी रुपमा लागू गर्न यो अधिवेशन माग गर्दछ।  ८. सर्वोच्च अदालतले गरेको पछिल्लो हस्तक्षेपकारी आदेश तथा अन्य  प्रेस स्वतन्त्रता संकुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानुन र नियमावली नबनाउन र निर्देशिका जारी नगर्न, प्रेस स्वतन्त्रता, सूचनाको हक एवम् नागरिकको अभिव्यक्ति स्वतन्त्रता सुरक्षित र सुनिश्चित गर्न नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ । ९. युरोप क्षेत्रमा रहेका नेपालीहरु राहदानी नविकरण गर्न नपाएर गैरकानुनी भएर बस्नु पर्ने समस्या धेरै जटिल बन्दै गएकोले अविलम्ब युरोपका देशहरुमा राहदानी नविकरण टोली पठाउन नेपाल सरकारसंग यो अधिवेशन जोडदार माग गर्दछ। १०. यस अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल, प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्साल,प्रेस सेन्टर केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठन केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी,प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष देविका घर्तीलगायत सबै अतिथिहरूलाई यो अधिवेशन धन्यवाद ज्ञापन गर्दछ।

जनप्रगतिशील मंच न्यु साउथ वेल्सको संयोजकमा जीवन न्यौपाने

सिड्नि । नेपाली जनप्रगतिशील मंच अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको तेस्रो अधिवेसनबाट जिवन न्यौपाने संयोजकमा निर्वाचित भएका छन् ।  २० अप्रिलमा सम्पन्न तेस्रो अधिबेशनले न्यौपानेको संयोजकत्वमा ११ सदस्यको कार्यसमिति गठन गरेको हो ।  अघिवेसनबाट उपाध्यक्षमा रमन के.सि., सचिवमा रबिन अधिकारी, कोषाध्यक्षमा नवकिरण गौतम, सहसचिवमा भरत न्यौपाने तथा कार्यकारी सदस्यहरूमा संतोष काण्डेल, विष्णु भुसाल, सुदीप शर्मा, गोविन्द बहादुर थापा र अशोक श्रेष्ठ चयन भएका छन्। कार्यक्रममा प्रमुख अतिथि मंचका अध्यक्ष प्रबिन कंडेलले नेपालीहरुको पहिचान दिन र सुखदुखमा साथ दिन जनप्रगतिशील मञ्चले प्रभावकारी काम गरेको बताए ।  महासचिव चुन्ना क्षेत्रीले मञ्चलाई अझै धेरै नेपालीहरुसामु पु¥याउनुपर्नेमा जोड दिए । न्यु साउथ वेल्स राज्यको संयोजक बाबुराम गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन न्यु साउथ वेल्स राज्यको उपसंयोजक सुमन न्यौपाने गरेका थिए ।  सम्मेलनले अष्ट्रेलियामा नेपाली समुदायको उपस्थिति र प्रभावलाई थप सुदृढ गर्दै छलफल र सञ्जालका अवसरहरू संलग्न गराउने मञ्चको रूपमा काम गरेको नवनिर्वाचित संयोजक जीवन न्यौपानेले बताए । न्यौपानेले यस सम्मेलनले अष्ट्रेलियामा रहेका नेपाली समुदायको उपस्थिति र प्रभावलाई अभिवृद्धि गर्ने, छलफल र सञ्जालका अवसरहरू उपलब्ध गराउने मञ्च प्रदान गर्ने विश्वास ब्यक्त गरे ।  नवनिर्वाचित कार्यसमितिलाई मंचका अध्यक्ष, महासचिव तथा केन्द्रीय सदस्य खिम भण्डारि लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।  

सिड्नीमा नवाज कप फुटबल आइतबार सुरु हुँदै

सिड्नी । भोलि अप्रिल २१ देखि साउथ ग्रानभिलमा नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) को आयोजनामा नवाज कप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । अस्ट्रेलियाको सिड्नीका करिब १६ वटा नेपाली टोलीको सहभागिता रहने प्रतियोगिता भोलि आइतबार सुरु हुने भएको हो ।  लिग कम नक आउटका आधारमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष चिरन तिवारीले जानकारी दिए । समाजका अध्यक्ष तिवारीले सामाजिक कर्ममा अगाडि रहेको नवाजको २५ औ स्थापना दिवको उपलक्ष्यमा प्रतियोगिता आयोजना गर्न लागिएको स्पष्ट पारे ।  उनले प्रतियोगिता सामाजिक सदभाव, आपसी भाइचारा र आपसी मेलमिलापको सन्देश बोकेर आयोजना गर्न लागिएको बताए ।
 अप्रिल २१ को आइतबार देखि हरेक आइतबार हुने प्रतियोगिता करिब एक महिना चल्ने तथा विजेता तथा उपविजेतालाई नगद पुरस्कार तथा ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने अध्यक्ष तिवारीले बताए । 
 नवाजले केही समयको बिश्रामपछि फेरि खेलकुद प्रतियोगिता आयोजना गरेकोमा सिड्नी सहित अष्ट्रेलियमा रहेका नेपाली समुदाय खुशी भएका छन् ।  नेपाली राष्ट्रीय टोलीमा रही हाल अष्ट्रेलिया पुगेका करिब चालिस जना खेलाडी रहेको अस्ट्रेलियाको यी बिभिन्न क्लबहरुको यो लिग निकै रोमान्चक हुने बिश्वास लिइएको छ । यो प्रतियोगिता ४०/४० चालिस मिनेट गरी ८० मिनेटको हुनेछ ।  अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले केही समयपछि भएपनि नवाजले यस्तो खालको प्रतियोगिता गरेकोमा धन्यबाद दिदै यसको निरन्तरताको लागि आफ्नो सहयोग रहने विश्वास दिलाए ।  यस पटक प्रतियोगितामा सहभागि क्लबहरुलाई चार समुहमा बिभाजित गरि ड्र समेत सार्वजनिक गरिसकिएको थियो । 

युक्रेनले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनले गत शुक्रबार पाँच नेपाली र तीन अन्य देशका गरी आठ रूसी युद्धबन्दी सार्वजनिक गरेको छ । युद्धबन्दी सार्वजनिक गर्दै युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन समेत आग्रह गरेको छ । युक्रेनले पाँच नेपाली, क्युबा, सोमालिया र सीएरा लियोनका एक–एकजना युद्धबन्दीलाई युक्रेनले सार्वजनिक गरेको हो । युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न सजक हुन आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् । उनले भनेका छन्, “न्यून स्तरको आय भएका देशका नागरिकलाई रूसले भर्ती गरिरहेको छ । त्यसलाई रोक्न अझै कडा कदम चाल्न आवश्यक छ ।” गत हप्ता भारतले रूसमा नागरिक पठाउन सक्रिय ठूलो गिरोह पत्ता लगाएको बताएको थियो । नेपालले गत डिसेम्बरमा मस्कोलाई आफ्ना नागरिक रूसी सेनामा भर्ना नगर्न र त्यहाँ कार्यरत नेपाली सैनिकलाई फिर्ता पठाउन आग्रह गरेको थियो ।

लोकप्रिय