विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा

विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गरिनुपर्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताएकी छिन् ।

फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा विद्यालयका संस्थापकहरुको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउँदै यसको दुरुपयोगलाई निरुत्साहित गर्न साइबर शिक्षा दिन आवश्यक रहेको बताएकी छिन्।

सामाजिक सञ्जालको दुरुपयोग हुँदा साइबर बुलिङको आक्रमणमा सबैभन्दा बढी विद्यालय तहमा अध्ययनरत किशोरकिशोरी परेकाले पनि विद्यालय तहमै साइबर शिक्षा अनिवार्य बनाएर लैजानुपर्ने आवश्यकता देखिएको उनले स्पष्ट गरिन् । सामाजिक सञ्जालको प्रयोग कुलतको रुपमा हुन थालेको र यसबाट नयाँ पुस्तामा सामाजिक संस्कार हराउँदै गएकाले पनि हरेक बालबालिकालाई साइबर शिक्षा दिन आवश्यक रहेको मन्त्री शर्माको भनाई थियो ।

यसबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरेर औपचारिक पाठ्यक्रम निर्माण गर्नेतिर आफूहरुले सोचिरहेको उल्लेख गर्दै उनले हरेक विद्यालयले पनि सिर्जनशीलता अपनाएर अतिरिक्त कोर्ष वा अतिरिक्त क्रियाकलापको रुपमा साइबर शिक्षा दिन आवश्यक रहेको बताए । सरकारले साइबर सुरक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति पनि केही समय अघि मात्र पारित भएको बताए।

समाजमा सूचना प्रविधिको दुरुपयोगका घटना पनि बढ्न थालेकाले यसप्रति सरकार गम्भीर रहेको पनि उनले स्पष्ट पारे । ‘हिजो मात्रै हामीले मन्त्रिपरिषद् बैठकबाट सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका पारित गरेका छौं’– मन्त्री शर्माले भने– ‘सामाजिक सञ्जाल एकातिर अभिव्यक्ति स्वतन्त्रताको माध्यम हो र यसबाट राम्रो आयआर्जन पनि भएको छ भने अर्कोतिर यसबाट मानिसका व्यक्तिगत सुरक्षादेखि सामाजिक प्रतिष्ठा र सामाजिक सद्भावविरुद्धका काम पनि भइरहेका छन्, त्यसैले यसको प्रयोगमा सबै प्रयोगकर्ताहरु सचेत रहनुपर्छ भन्ने नै निर्देशिकाको मूल मर्म रहेको छ ।’

‘यो सूचना र प्रविधिको युगमा जुन जुन क्षेत्रमा यसको प्रयोग बढाउँदै लगिएको छ, ती क्षेत्रले सकारात्मक नतिजा दिने गरेका छन्’– मन्त्री शर्माले भनिन्– ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाएर लैजानुपर्छ । त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कले मार्गदर्शन गरे पनि अपेक्षित परिणाम आउन सकिरहेको छैन, यसमा सबै पक्षमा गम्भीर हुन आवश्यक छ ।’

सूचना प्रविधिको प्रयोगमार्फत डिजिटल अर्थतन्त्रको विकास गर्न सकिने राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यासबाट देखिएको स्पष्ट गर्दै उनले पछिल्लो समय नेपाल सरकारले पनि यसलाई आधारभूत आवश्यकताको रुपमा परिभाषित गरेको बताइन्। ‘सूचना र प्रविधिको विकास गरेर यसकै माध्यमबाट देशलाई समृद्धिको बाटोमा अघि बढाउन विभिन्न काम भइरहेका छन्’– मन्त्री शर्माले भनिन्– ‘सूचना प्रविधिको माध्यमबाट गरिने आर्थिक क्रियाकलाप गर्दा भूपरिवेष्टित देश वा धनि गरीव भनेर पछि पर्ने अवस्था नभएकाले नेपालका लागि यो अझ बढी महत्वपूर्ण छ ।’

कार्यक्रममा मन्त्री शर्माले शुभकामना वि.सं.२०१६ सालमा फूल्चोकी माध्यमिक स्थापनाका लागि पहल गर्ने संस्थापक अध्यक्ष दिलबहादुर श्रेष्ठ तथा सदस्यहरु बुद्धिबहादुर श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, हरिबहादुर मुल्मी र न्हुच्छेदास नापितका सालिक अनावरण तथा विद्यालयको विकासमा योगदान गर्नेहरुको इतिहास संस्थागत गर्न प्रकिाशत स्मारिका विमोचन गरिन्। उनले पालिकाभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सफल नेतृत्व गरेको भन्दै गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई पनि सम्वोधन गरेकी थिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय