विभिन्न ९९ मुलुकका संघसंस्थामा साइबर आक्रमण
काठमाडौं, वैशाख ३० । युरोप, बेलायत, रुस, चीन, स्पेनलगायत विभिन्न ९९ मुलुकका विभिन्न संघसंस्थामा साईबर आक्रमण भएको छ । आक्रमणमा परेका कयौँ कम्प्युटर आफै लक हुने र खुल्नका लागी रकम माग गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।
तीमध्ये बेलायत र स्कटल्याण्डको राष्ट्रिय स्वास्थ्य विभागको सेवा पूर्ण रुपमा प्रभावित भएको छ । बिरामीको अनलाईन रेकर्ड पहुँच बाहिर गएको बीबीसीले उल्लेख गरेको छ ।
अहिलेसम्म साईबर आक्रमणका ७५ हजार घटना भएको साईबर सुरक्षासम्बन्धी कम्पनी अभाष्टले जनाएको छ । बेलायतमा एक पछि अर्को गर्दै कम्प्यूटरले काम गर्न बन्द गरेपछि साइबर आक्रमणबारे खुलेको थियो ।
आक्रमणमा परेका कम्प्यूटरका प्रत्येक फाइल खुल्न अनलाईन प्रणालीबाट फिरौती तिनुपर्ने अवस्था रहेको साईबर विज्ञले बताएका छन् । निश्चित समयमा सो रकम भुक्तान नगर्दा रकम बढ्दै जाने गरेको छ ।
कतार एयरवेजले भोलिदेखि भैरहवाबाट उडान थाल्ने
भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गरिरहेका छन् । यसैक्रममा मंगलबारबाट कतार एयरवेजले दैनिक उडान सुरुवात गर्ने भएको छ । नागरिक उड्ययन प्राधिकरणको अनुमतिपछि भैरहवाबाट दैनिक उडान भर्न लागेको हो । कतार एयरवेजले सातामा भैरहवाबाट सातैवटा उडान गर्ने प्राधिकरणले जनाएको छ । यसअघि उक्त वायुसेवाले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ । मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजको जहाज प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाण्डौं प्रस्थान गर्नेछ । विमानस्थलका अनुसार पहिलो चरणमा कतारले यहाँबाट मंसिर १५ गतेसम्म उडान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ । यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयरएसिया ले भैरहवाबाट उडान थालिसकेका छन् । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गरिरहेको छ । यहाँबाट फ्लाई दुवईले दैनिक उडान गरिरहेको छ । नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुवईको जहाज भैरहवा अवतरण गर्नेछ । भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ । नेपाल एयरलायन्सले शनिबार साँझबाट काठमाडौं–भैरहवा–दुवई उडान सुरु गरिरहेको छ । नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । थाई एयर एसिया प्रत्येक साताको सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।
एक पालिका, एक हुलाक कार्यान्वय सुरु
कास्की । सरकारको हुलाक सेवालाई पुनर्संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक पालिका, एक हुलाकको अवधारणा अघि सारेको थियो । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताए । उनले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीअनुसार सेवा सुरु गरिएको बताए । कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने निर्देशनालयका शाखा अधिकृत तुलसी आचार्यले जानकारी दिए । जिल्लाका बाँकी माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा समेत मङ्सिर पहिलो साताभित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याइने योजना रहेको उनले जानकारी दिए । हुलाक निर्देशनालय मातहतमा जिल्लामा यसअघि १३ वटा इलाका हुलाक कार्यालय रहेका थिए । सरकारको नीतिअनुसार चारवटा इलाका हुलाक कार्यालयलाई पालिकामा रूपान्तरण गरेर बाँकी खारेज हुनेछन् । यसै गरी जिल्लामा यसअघि ३७ अतिरिक्त हुलाक कार्यालय रहेकामा चालु आवमा २२ छन् । पोखरा महानगरमा तीन काउन्टर सञ्चालनमा रहेको छ । अधिकृत आचार्यका अनुसार केन्द्रको नीतिअनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि बाँकी रहेका अतिरिक्त हुलाक कार्यालय समेत क्रमशः खारेज हुनेछ । सरकारले गत आवदेखिनै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।
प्रधानमन्त्री ओली सहभागी हुने दीक्षान्त समारोहमा प्रशासनको कडाइ, पत्रकारलाई पनि रोक
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दीक्षान्त समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निमन्त्रणा दिएका बाहेक जोकोहीलाई समेत दीक्षान्त समारोहस्थलसम्म जान निषेध गरिएको छ । प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदै छन् । ओली सहभागी हुने भएसँगै प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो । दीक्षित हुन आउने विद्यार्थीहरूलाई समेत कडा चेकजाँच गर्दै कार्यक्रमस्थलमा प्रवेश दिइएको छ । दीक्षित हुने विद्यार्थीका अभिभावकलाई कार्यक्रमस्थलबाहिर प्रहरीले कडा चेकजाँच गरिरहेको छ । विद्यार्थीहरूको साथमा भएको पानीको बोतलसमेत प्रहरीले कार्यक्रमस्थलमा लैजान दिएको छैन । विद्यार्थी र अभिभावक मात्र होइन, दीक्षान्तस्थलमा आएका सिनेटरहरू समेतमाथि कडा चेकजाँच गरिएको छ । तीन लेयरको सुरक्षा पार गरेपछि मात्र मूल कार्यक्रमस्थलमा प्रवेश पाइनेछ । पत्रकारहरूलाई समेत प्रतिष्ठानको दीक्षान्त कार्यक्रममा प्रवेश दिइएको छैन । प्रतिष्ठानले निमन्त्रणा गरेका पत्रकारले मात्र दीक्षान्त समारोहको रिपोर्टिङ गर्न पाउनेछन् ।
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी, सौन्दर्यकरण र सीमांकन एक साथ हुँदै
भरतपुर । भरतपुरको मध्य भागबाट बग्ने पुङ्गी खोलालाई सौन्दर्यकरण गर्ने अभियानलाई तीब्रता दिइएको छ । सोमबार अभियान अन्तरगत भरतपुर वडा नम्बर ३ र ४ को सिमाना क्षेत्रबाट अतिक्रमित घर टहरा भत्काउन सुरु गरिएको हो । पुङ्गी खोलाको सौन्दर्यकरण र सीमांकनको कार्य एक साथ भइरहेको छ । महानगरपालिकाले खोलाको संरक्षण, प्रर्वधन र सौन्दर्यकरणको कार्यका लागि रु १० करोड ८० लाखको ठेक्का लगाइएको ईन्जिनियर साकार लामाले जानकारी दिनुभयो । यस अन्र्तगत १.५ किलोमिटरमा सौन्दर्यकरणको काम हुनेछ । यसअघि वडा नम्बर ४ मा पुंगी खोलाको दोभानबाट करिब ५ सय मिटरको काम सम्पन्न भइसकेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गर्नुभयो । पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ । वर्षातको समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । प्रमुख दाहालले अबको ३ वर्षभित्र पुंगी खोलाको मुहानसम्म नै सौन्दर्यकरण काम हुने बताउनुभयो । भरतपुरको गौरवको आयोजनामा रहेको पुंगी खोला सौन्दर्यकरण गर्ने कार्यमा सक्रिय सहयोग गर्न प्रमुख दाहालले अनुरोध पनि गर्नुभयो । भरतपुर वडा नं ११, २, ३ र ४ भई बग्ने खोलाको लम्बाई ६.६५ किमि रहेको छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ्गवाला, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् । गरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ। यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रामस्थल, खुला व्यामशाला पनि रहने छ । पुंगी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्त्वपूर्ण आयोजना हो। बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पनि व्यवस्थापनमा समस्या देखिएपछि पुंगी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ ।