व्यावसायिक कृषिमा अनुकरणीय बन्दै बाघमारा

पोखरा, भदौ १५ । शहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति अनाकर्षण बढिरहेको अवस्थामा कास्कीस्थित बाघमाराले भने व्यावसायिक कृषिको आकर्षक क्षेत्रका रुपमा आफ्नो पहिचान बनाएको छ ।
पछिल्लो समयमा शहरीकरणको विकास तथा विस्तार भइरहँदा हाल पोखरा लेखनाथ महानगरपालिका-३३ मा पर्ने यो ठाउँका कृषक व्यावसायिक कृषिका माध्यमबाट आयआर्जनको क्रमलाई पनि सँगसँगै अघि बढाएका छन् ।
व्यावसायिकरुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दूधको शहरका रुपमा घोषणा हुन सफल भएको छ ।
दुई दशक अघि २०५० सालमा बाघमाराबाट दुग्ध विकास संस्थानलाई दूध संकलन गरी बिक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यावसायिकतामा विकास भएको अगुवा कृषक खगेन्द्र अधिकारीले बताउनुभयो ।
“तत्कालीन समयदेखि नै बाघमारामा दुग्ध व्यवसायले व्यावसायिक रुप लिँदै गएको हो,” उहाँले भन्नुभयो, “उक्त समयमा अधिकतम १६० लिटरसम्म दूध यहाँबाट दुग्ध विकास संस्थानलाई दिन हामी सफल बनेका थियौँ ।”
शुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेकोमा २०६१ साल भदौदेखि निजीस्तरबाट सञ्चालित पन्थी डेरीले बाघमारामा दूध संकलन गर्न थालेको थियो ।
अन्य निजी डेरी पनि बाघमारामा सम्पर्कमा आउन थालेसँगै गाईपालनको वातावरण थप बढेको बताउँदै अधिकारीले उक्त समयमा २५० लिटरसम्म दूध संकलन हुने गरेको जानकारी दिनुभयो ।
शुरुमा २०५०-५१ सालतिर तालचोकसम्म दूध पु¥याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ सालपछि पुलचोक दूध संकलन केन्द्रका रुपमा विकास भएको थियो ।
केही वर्षयता चिरगादीमा पक्की पुल बन्नुका साथै पोखराको दोभिल्ला हुँदै सवारीसाधन आवतजावत गर्न थालेका कारण उत्पादित दूध बजारमा पु¥याउन सहज भएको छ ।
बाघमाराबाट बजारमा दूधको बढ्दो मागका साथै पछिल्लो समयमा स्थानीय युवा पनि यसतर्फ आकर्षित बन्न थालेको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विश्वेश्वर हरामीले बताउनुभयो ।
“दुग्ध उत्पादनमा बढिरहेको आकर्षणसँगै हाल पोखरालेखनाथ महानगरपालिका–३३ भरतपोखरीबाट दैनिक पाँचहजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ,” उहाँले भन्नुभयो, “दूधको उत्पादनका लागि गाईभैँसीपालनका साथै अन्य व्यावसायिक तरकारीखेतीतर्फ पनि आकर्षण बढ्दै गएको छ ।”
बाघमारा क्षेत्रमा व्यावसायिक कृषिमा आकर्षण बढिरहे पनि कृषकले राज्यबाट प्राप्त गर्ने सेवा सुविधा पाउन नसकेको उल्लेख गर्दै उहाँले कृषकलाई प्रोत्साहित गर्नका लागि राज्य उदार बन्नु अपरिहार्य भएको बताउनुभयो ।
पछिल्लो समयमा गाईफार्म सञ्चालनमा पनि लहर आउन थालेको सनराइज मल्टी एग्रो फार्मका सञ्चालक सरोजराज अधिकारी बताउनुहुन्छ ।
“व्यावसायिकताको विकाससँगै फार्म नै सञ्चालन गरी यस क्षेत्रमा पशुपालनतर्फ कृषक सक्रिय बन्न थालेका छन्,” उहाँले भन्नुभयो, “यातायातको सहजताका साथै बजारको बढ्दो मागका कारण यसतर्फ आकर्षण बढ्दै गएको हो ।”
दूधको बिक्री वितरणको सहजताका लागि हाल यस क्षेत्रमा आठवटा दूध संकलन केन्द्र सञ्चालनमा आएका छन् । फार्म सञ्चालनका साथै अधिकारीले आसपासमा उत्पादित दूधसमेत खपत गर्ने गरी २०७० सालदेखि सनराइज डेरी पनि सञ्चालनमा ल्याउनुभएको छ ।
दुग्ध व्यवसायमा आकर्षण बढ्दै गएका कारण स्थानीय सक्रियतामा बृहत्तर गाईपालन समिति गठन गरिएको सो समितिका सदस्य चन्द्रप्रसाद पौडेलले बताउनुभयो ।
समितिसँग ५०० को हाराहारीमा सदस्य आबद्ध भएको बताउँदै उहाँले हालै पोखरालेखनाथ महानगरपालिका–३३ लाई (साविक लेखनाथ नगरपालिका वडा नं १६, १७ र १८) लाई नगरस्तरीय कार्यक्रमअन्तर्गत एक महिना अघि ‘दूधको शहर’ घोषणा गरिएको बताउनुभयो ।
व्यावसायिकताको बढ्दो विकाससँगै यस क्षेत्रका स्थानीय युवा आफ्नो अन्य पेशाका अतिरिक्त कृषिजन्य उत्पादनलाई पनि प्राथमिकता दिन थालेका छन् ।
विगत २३ वर्षयता आफ्नो मुख्य पेशा शिक्षण बनाएका युवा बाबुराज आचार्यले पाँच वर्षयता कुरिलोखेती गर्दै आउनुभएको छ ।
“एउटा पेशा मात्र सम्हाल्नुभन्दा पनि समयको सदुपयोग र थप आयआर्जनका लागि एक रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक कुरिलोखेती गर्दै आएको छु,” उहाँले भन्नुभयो, “बजारमा कुरिलोको माग अत्यधिक छ, उत्पादन गर्नसके जति पनि खपत हुन्छ ।”
बाघमारामा व्यावसायिक कृषिप्रति बढिरहेको आकर्षणसँगै कृषकलाई अझै अभिप्रेरित गर्नका लागि राज्यको साथ र सहयोग अपरिहार्य भएको स्थानीयवासी बताउँछन् ।
प्रतिनिधिसभामा १० मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल सम्पन्न
काठमाडौं । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत १० वटा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी शीर्षकमा छलफल भएको हो। छलफलमा सांसद डा. चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मीना तामाङ, लालप्रसाद साँवा लिम्बू, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे, दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी थिए। सभामुख देवराज घिमिरेले मन्त्रालय र सचिवालयहरूसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीहरूको जवाफका लागि असार ८, ९ र १० गते समय तोकिएको जानकारी गराए। सभामुख घिमिरेका अनुसार आगामी आइतबार (असार ८) बस्ने प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ तथा सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने छ। प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ।
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।