शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानता : मन्त्री शर्मा
काठमाडौं,। सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले राष्ट्रिय विभूति शंखधर साख्वाःको सपना सामाजिक न्याय र समानता भएकाले आज पनि त्यो सपना पूरा गर्ने कार्यभार बाँकी नै रहेको बताएकी छिन्।
राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको अवसरमा पद्यरत्न लुमन्ति गुथिले शंखधर उद्यान रत्नपार्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गरेर सामाजिक न्याय र समानताको सपना पूरा गरिने बताइन् ।
शंखधरले विसं ९३६ मा गरिवलाई ऋणमुक्त गर्ने र पशुपतिमा शूद्र जातिलाई प्रवेश गराएको र त्यसकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख मन्त्री शर्माले भनिन्– ‘एकातिर गरिव जनतालाई ऋण मुक्त गर्नु र अर्कोतिर जातीय विभेदको अन्त्यका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने शंखधर साख्वाःबाट आजका पुस्ताले उल्लेखनीय प्रेरणा लिनु जरुरी छ । अहिले पनि हामीले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिकलगायतका तमाम उत्पीडिनबाट मुक्तिका लागि काम गरिरहेका छौं ।’
नेपालमा चलेका ठूलाठूला संघर्ष र क्रान्तिहरु समानताका लागि भएको उल्लेख गर्दै उनले राजनीतिकरुपमासबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने उद्घोषसहित सबै क्षेत्र र समुदायका अधिकार संविधानमा उल्लेख गरे पनि व्यवहारतः अझै सबैले समान अधिकारको महसुस गर्न नसकेको पनि बताइन्।
‘आजका दिनमा हेर्दा राजनीतिक व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न बाँकी नै छ’– मन्त्री शर्माले भनिन्– ‘त्यसैले हामीले राजनीतिक व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्न सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोहुँदै समाजवादको आधार तयार पार्नुपर्छ भनिरहेका छौं ।’
सरकारले यसलाई नै आफ्नो मार्गदर्शन बनाएर अघि बढिरहेको चर्चा गर्दै उहाँले शंखधरको योगदानको स्मरण गरिरहँदा आज पनि धेरै कुरासँग मेल खाने अवस्था रहेको चर्चा गरिन् । मन्त्री शर्माले भनिन् ‘एकातिर ऐतिहासिक व्यक्तित्व शंखधर साख्वाःको जीवन र सपनासँग जोडिएको नेपाल संवतलाई सरकारी मान्यता दिन प्रचण्ड नेतृत्वको अहिलेको सरकारबाट नै संभव भयो भने अर्कोतिर उहाँको योगदानसँग जोडिएको सामाजिक न्यायको पाटोलाई वर्तमान सरकारले मूल मन्त्र मानेर अघि बढेको छ ।’
‘नेपाल संवत् अब राष्ट्रिय संवत्’
कार्यक्रममा मन्त्री शर्माले नेपाल संवत अब राष्ट्रिय संवत्को रुपमा प्रचलन आउने बताइन् । ‘विसं २०६५ सालमा तत्कालीन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने घोषणा गरेका थिए। अहिले फेरि प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषद्ले कार्तिक २७ गते सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेको यहाँहरुलाई जानकारी नै छ’– उनले भनिन्– ‘नेपाल संवत ११४४ को सुरुवातदेखि नै अब विक्रम संवत् उल्लेख गरिने सबै कागजातमा नेपाल संवत् उल्लेख गर्न सुरु गरिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्मान र नेपालको मौलिक संवत्को कार्यान्वयनको सवालमा यो ऐतिहासिक निर्णय हुनेछ भन्ने सरकारको अपेक्षा रहेको छ ।’
सो क्रममा मन्त्री शर्माले शंखधर साख्वाःको योगदानलाई चिरस्थायी बनाउन भूमिका निर्वाह गर्ने राजनीतिक तथा नागरिक आन्दालनका अगुवा पद्यरत्न तुलाधरको सालिकमा माल्यार्पण गरिन्। राजनीतिक परिवर्तनका लागि चलेको सशस्त्र जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने तुलाधरको अभाव आज पनि खड्किएको उनले स्मरण गरिन्। हिजो मात्रै शान्ति प्रक्रिया सुरु भएको १७ वर्ष पुगे पनि अझै शान्ति प्रक्रिया अझै टुंगोमा नपुग्दा पद्यरत्नको अभाव अझै महसुस भएको उनले बताइन्।
विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी
लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो । पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।