सडक बनेपछि खच्चडको ठाउँमा गाडी

सडक बनेपछि खच्चडको ठाउँमा गाडी

तेह्रथुम, पुस ९ ।

तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी, मङ्गलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा केही वर्ष अघिसम्म स्थानीय बासिन्दाबीच चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा चल्थ्यो । यो मार्गमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, ऊ ठूलो व्यवसायी गनिन्थ्यो ।

वसन्तपुर, टुटे देउराली, चौकी, मङ्गलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको मार्गमा धेरै व्यवसायीहरुले चौंरी र खच्चडलाई भारी बोकाएर प्रशस्त कमाउँदै आएका थिए तर, अहिले अवस्था फेरिएको छ । माथिल्लो पहाडी र तल्लो हिमाली क्षेत्रमा चौंरी र खच्चडलाई भारी बोकाएर हिँडाउने वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्गमा यतिबेला सडकको डोब मात्रै तयार भएको छैन, सवारीका साधनहरुसमेत आवतजावत गर्न थालेका छन् ।

पर्यटकीय यी क्षेत्रका डाँडाकाँडामा सडक निर्माणसँगै सवारी साधनले खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु ढुवानी गरिदिएका छन् । यसैकारण चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएकहरूले पेशा परिवर्तन गर्नुपर्यो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गममा रहेको यो तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसको राजधानीको रुपमा चर्चित छ । यी क्षेत्रमा सडक पुगेपछि चौंरीलाई भारी बोकाएर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेशा फेरिएको गुफापोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताए ।

धेरैजसोले चौंरी र खच्चड पनि बिक्री गरिसकेका छन् । पहिले यो मार्गमा भरियाले खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु बोकेर माथिल्लो क्षेत्रमा पुर्याउँथे । पछि यो काम चौंरी र खच्चडले गर्न थाले । भरियाको तुलनामा चौंरी र खच्चडले धेरै सामान बोक्ने भएकाले धेरै व्यवसायी यतातिर आकर्षित थिए तर, त्यो पनि अब रहेन सडकको सुविधा थपिएपछि ।

यही मार्ग भएर सडक निर्माण भएपछि भने सयौं चौंरी र खच्चड व्यवसायी एकैसाथ यो पेशाबाटै विस्थापित भएको गुफा बजारका होटल व्यवसायी हरि खनालले बताए  । शुरुमा माथिल्लो क्षेत्रका भोटे समुदायले मात्र अपनाएको चौंरीलाई भारी बोकाउने व्यवसायमा पछिल्लो समय अन्य जाति र समुदायका मानिससमेत संलग्न भएका थिए ।

यो मार्गमा चौंरी र खच्चडलाई भारी बोकाउने व्यवसाय गर्दै आएका छिरिङ लामा अहिले यो व्यवसाय छाडेर निर्माण व्यवसायमा लागेका छन् । एक दशकअघिसम्म उनी यो मार्गमा ३० वटाभन्दा बढी चौंरी र खच्चडलाई वसन्तपुरबाट सामान बोकाएर ताप्लेजुङका विभिन्न ग्रामीण क्षेत्र र बजारसम्म पुर्याउने काम गर्ने गर्दथे । चौंरी धपाउने मार्ग भएर मोटर बाटो निर्माण भएपछि आफूहरूले बाध्य भएर पेशा नै परिवर्तन गर्नुपरेको लामाले बताए ।

त्यस्तै, गुफापोखरीमा ५० भन्दा बढी चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आउनुभएका ग्याबु शेर्पाले वसन्तपुर हँुदै निर्माण भइरहेको मोटर बाटो घरका आँगनसम्मै आइपुगेपछि सबै चौंरी र खच्चड बिक्री गरेर ल्यान्डरोभर गाडी किनेका छन् । पुर्खाले गर्दैआएको चौंरीलाई भारी बोकाउने पेशा सडकले खोसिदिएपछि बाध्य भएर अर्को पेशामा लागेको शेर्पा बताउँछन् ।

यही मार्गमा चौंरी र खच्चड किनेर भारी बोकाउने व्यवसाय गर्दै आउनुभएका पाँच पोखरीका डम्बर बुढाथोकी, धु्रब खड्का, हर्क राईलगायत धेरै व्यवसायीहरू पनि फरक पेशा र व्यवसायमा लागेका छन् । टुटे देउरालीदेखि तीनजुरे, चौकी, मंगलबारे, श्रीमाने, भालुखोप, लामपोखरी, गुफाबजार हुँदै दोभानसम्मको चौंरी हिँड्ने सडकमा अहिले सानाठूला सवारी गुड्छन् । यो मार्गको मंगलबारेमा व्यापार गर्दै आएका राम उप्रेती सडक निर्माणसँगै दैनिकी चलाउन सहज भएको बताउँछन्।

अहिले सुनसरीको धरानदेखि सिधै टिएमजे क्षेत्रसम्म दैनिक बस सेवा उपलब्ध छ । घुम्न जानेहरु बस चढेरै टिएमजे पुगिरहेका छन् । धरानदेखि कोशी राजमार्ग भएर तेह्रथुमको वसन्तपुर पुगेपछि निर्माणाधीन मदन भण्डारी राजमार्गबाट ताप्लेजुङको साँघुसम्म दैनिक बस सेवा उपलब्ध रहेको व्यवसायी कासाङ शेर्पाले बताए । उनले भने– “बसमा यात्रु खचाखच हुन्छन् । त्यसमध्ये आन्तरिक पर्यटक नै धेरै हुन्छन् ।” दैनिक यातायात सेवा उपलब्ध भएपछि टिएमजे क्षेत्रका बासिन्दालाई समेत सुविस्ता भएको छ ।

दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि आवातजावत र बिरामी पर्दा अस्पताल पुग्न सहज हुन थालेको गुफाबजारका धार्के शेर्पाले बताए । “पहिले बिरामी पर्दा अस्पताल पुग्न नपाई मर्नुपथ्र्यो, त्यसमध्ये धेरै प्रसूति पीडाले मर्थे,” चौकीबजारका उदयकुमार तामाङले भने– “अहिले कमसेकम त्यो कहालिलाग्दो अवस्था हटेको छ ।”

अहिले दैनिक जसो टिएमजे क्षेत्रका डाँडाकाँडामा पर्यटक आइरहेका चौकीबजारका यज्ञ कार्की बताउँछन् । गुफापोखरी र यहाँको सुन्दरतामा रम्न हरेक साताजसो तेह्रथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङका सर्वसाधारण पुग्ने गरेका छन् ।

निर्माणाधीन यो सडकलाई सरकारले मदन भण्डारी लोकमार्गको रुपमा नामकरण गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । दुई वर्षभित्र सडकलाई स्तरोन्नति गरी बाह्रैमास सवारी सञ्चालन योग्य बनाउन पहल भइरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताए । सडकमा सवारी चल्न थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिका, संखुवासभाको मादी नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिका तथा ताप्लेजुङको मैयाखोला गाउँपालिकाका बासिन्दालाई दैनिकी चलाउन सहज भएको छ ।

गाउँबाट पूर्वी तराईको धरानसम्म पुग्न सहज भएको छ । सडकका कारण दैनिक आवतजावतसँगै बिरामी पर्दा समयमै अस्पताल पुग्न सहज भएको चौकीबजारका व्यवसायी उदयकुमार तामाङले बताए । तामाङका अनुसार सडक निर्माण भएपछि धेरै व्यवसायीहरू चौंरी र खच्चड बिक्री गरेर अन्य पेशा व्यवसायमा लागेका छन् ।

सडकले यहाँका ग्रामीण बजारहरुमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य सस्तिएको छ । यहाँ आउने पर्यटकलाई समेत आवतजावतमा सहज भएको छ । तीनजुरे मिल्के जलजले क्षेत्रको मुख्य गन्तव्यको रुपमा गुफापोखरी क्षेत्रसम्म पुग्न आन्तरिक तथा बाह्य पर्यटकले बस चढेरै टिएमजे घुमेर फिर्न पाएका छन् । रासस

नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताउनुभएको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा दशरथ रंगशाला त्रिपुरेश्वरमा आजदेखि सुरु भएका अन्तर्राष्ट्रिय प्रतियोगिता योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ र योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाल विभिन्न खेलकुद गतिविधिहरूका लागि आकर्षक स्थलको रूपमा लोकप्रिय बन्दै गएको छ । यसले खेलकुद पर्यटनको केन्द्र र प्रमुख गन्तव्य बनाउने सम्भावना बढाउँदै लगेको छ ।’ खेलले विभिन्न क्षेत्र, भाषा, र संस्कृतिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘जसले खेल केवल प्रतिस्पर्धाका लागि नभई विभिन्न देशका खेलाडीहरू बीच सद्भाव, मित्रता, र समझदारीको प्रतीक हो भन्ने गहिरो अर्थ दिन्छ । अन्ततः खेलकुदले राजनीतिक सिमाना भन्दा परको वैश्विक सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।’ खेलकुदलाई राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अघि बढाउनको लागि महत्वपूर्ण आधार बनाउनुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘म तपाईंलाई स्मरण गराउन चाहन्छु कि मेरो प्रधानमन्त्रीत्वकालमा मैले खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्ने महत्वपूर्ण पहलहरू सुरु गरेको थिएँ । आगामी दिनमा म नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहनेछु ।’ सरकार र सम्बन्धित निकायहरूले खेल पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै उहाँले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्नुले नेपाललाई विश्वसँग जोड्ने र हाम्रो विकासलाई सहयोग गर्ने मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।  ब्याडमिन्टन विश्वमै एक लोकप्रिय खेल भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो खेल युवा तथा वृद्ध सबै उमेरका व्यक्तिहरूले खेल्न सक्ने भएकाले नागरिकको स्वास्थ्य र व्यक्तित्व विकासका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो । विश्व ब्याडमिन्टन महासंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले सबै उमेर समूहका साथै शारीरिक वा बौद्धिक चुनौती सामना गरिरहेका व्यक्तिहरूको लागि पनि कार्यक्रम आयोजना गर्दै आफ्नो पहुँच बढाएको उल्लेख गर्दै उहाँले यस समावेशिताले खेलको विश्वव्यापी महत्वव र बढ्दो लोकप्रियतालाई झल्काउने बताउनुभयो । ‘म यस्ता प्रयासहरूलाई प्रवद्र्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छु । यस्ता ठूला स्तरका अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना हाम्रो देशको विकासका लागि महत्वपूर्ण आधार हुन्’– उहाँले भन्नुभयो– ‘हामीले यस्ता उच्चस्तरीय प्रतियोगिताहरूको निरन्तरताका लागि सामूहिक रूपमा काम गर्नुपर्छ र भविष्यमा अझ ठूला कार्यक्रमहरू नेपालमा ल्याउन प्रयास गर्नुपर्छ।’ अध्यक्ष प्रचण्डले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक अधिकारीहरू, चिकित्सकीय टोलीहरू, विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसिया कन्फेडेरेसनका प्रतिनिधिहरूलाई नेपालमा स्वागत पनि गर्नुभयो । दुबै प्रतियोगितामा गरी पाँच महादेशबाट २२ देशका ३३५ जना खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।   

चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा माग्यो २६ उपप्राध्यापक(सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा नियुक्त गर्नेगरी २६ जना उपप्राध्यापक मागेको छ। सोमबार सूचना जारी गर्दै संस्थानले २६ जना उपप्राध्यापक करारमा नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो। हेर्नुहोस् सूचना 

यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका  निर्णय सार्वजनिक गरेको छ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत पुस ५ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो। सरकारले सवारी साधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेण्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको छ। त्यस्तै सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गरेको छ। यस्ता छन् सरकारका निर्णयः १.सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि नेपाल राष्ट्र बैंक, सवारीसाधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेण्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पती शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने।  २.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गर्ने। ३.दैलेख–कालिकोट–जुम्ला १३२ केभी प्रसारण लाइनको टावर निर्माणका लागि दैलेख, कालिकोट र जुम्ला जिल्लामा करिव १२ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने। ४.नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने।  ५.खर्ज्याङ प्रहरी चौकी, गुल्मीलाई नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको ५ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने। ६.एग्रिमेण्ट बिट्विन गभर्मेण्ट अफ नेपाल एण्ड गभर्मेण्ट अफ इण्डिया फर रेगुलेशन फर प्यासेन्जर ट्राफिक बिट्विन द टु कन्ट्रिजको अवधि २४ नोभेम्बर, २०२५ सम्मका लागि नवीकरण गर्ने र सम्झौताको प्रोटोकलको अवधि सम्झौताको अवधिसँग बराबर हुनेगरी नवीकरण गर्ने। ७.तुम्लिङ्गटार सितलपाटी २२० केभी विद्युत प्रशारणलाईन आयोजना निर्माणको लागि संखुवासभा खाँदवारी नगरपालिकामा रहेको राष्ट्रिय वनको २८.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। ८.शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेका सुविधा प्राप्त बाटोको सूचीमा महाँकाल–मुलखर्क–ओखेनी गाउँ ९३.५ किमी थप गर्ने र सवारी साधन र पैदल यात्रुको लागि बाटोको सूचीमा मुलखर्क–झुले–चिसापानी कायम गर्नेगरी नियमावलीको अनुसूची संशोधन गर्न स्वीकृति दिने। ९.भ्याकुरे जलविद्युत आयोजना निर्माणको लागि दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०।९८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।  १०.गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण गर्नको लागि ललितपुरमा रहेको राष्ट्रिय वनको ३।४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। १०.अरुण ३ जलविद्युत परियोजनाको ४०० केभी प्रशारण लाइन आयोजना निर्माणको लागि संखुवासभाको चिचिला गाउँपालिका र खाँदवारी नगरपालिकाः उदयपुरको, सुनकोशी गाउँपालिका, तपली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका, सिरहाको कर्जन्हा नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा २१३।६७ हेक्टर जग्गा प्रयोग स्वीकृति दिने। ११.कलैया उपमहानगरपालिका, बारालाई ४ धुर, बूढानीलकण्ठ नगरपालिका, काठमाडौंलाई ४ रोपनी १२ आना ३ पैसा, बारपाक सुलिकोट गाउँपालिका, गोरखालाई ४ रोपनी ५ आना २ पैसा ३ दाम,  पुनर्वास नगरपालिका, कञ्चनपुरलाई १५ कठ्ठा, एकडारा गाउँपालिका, महोत्तरीलाई ११ कठ्ठा ५ धुर जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने। १२.पोखरिया अस्पताल पर्सालाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गरी मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने। १३.कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदी, कास्कीलाई मनोनयन गर्ने।  १४.साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने। १५.नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने। १६.नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने। १७.चिकित्सा शिक्षा आयोगको छैटौं वार्षिक प्रतिवेदन संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने। १८.धितोपत्र बजार सञ्चालनको लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने।

रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड बिगो माग दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा पुगेको छ। सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको बनस्थलीबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा अघि बढाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध २७ करोडभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा अगाडि बढाइएको छ। लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दातर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको निष्कर्षसहित मुद्दा लगिएको हो । गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको सम्पत्ति भेटिएको निष्कर्षसहित मुद्दा लगिएको छ। उनी गत असोज ६ गते काठमाडौंबाट पक्राउ परेयता ९१ दिनदेखि प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारी वकिलको कार्यालयले रवि र छविसहित हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा चलाएको छ। पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा जोशी गत असोज ६ गते र लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । त्यससँगै अन्य तीनजना पनि उक्त प्रकरणमा हिरासतमा छन् । लामिछानेविरुद्ध उनका साझेदार छविलाल जोशी पक्राउ परेको ९१ औँ दिनमा जिल्ला अदालतमा मुद्दा लगिएको हो ।

लोकप्रिय