सरकारकै छैन डिम्याट खाता

सरकारकै छैन डिम्याट खाता

काठमाडौं । पुँजी बजारमार्फत शेयर कारोबार गर्न निक्षेप खाता नहुँदा लगानी कार्यान्वयन गर्ने र लगानी गर्नेबीच फरक विवरण आउने गरेको छ ।

सरकारले विभिन्न संस्थामा शेयर लगानी गरेको भए पनि त्यसको विवरण र महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको विवरण फरक हुने गरेको छ ।

सरकारले शेयर लगानी गरेको सन्दर्भमा पुँजी हराएको वा वृद्धि भएको भन्नेमा प्रभावकारी रेकर्ड किपिङ संयन्त्र नभएकाले फरक विवरण देखिएको महालेखा नियन्त्रकको कार्यालयका उपमहालेखा नियन्त्रक सुवास शिवाकोटीले बताए ।

सरकारले डिम्याट अकाउन्ट नखोलेकाले लगानी गरेका संस्थाले दिएको लाभांशको सेयरको हिसाब किताब नदेखिएको हुनसक्ने उनले बताए ।

“व्यक्तिले शेयरमा लगानी गर्दा डिम्याट अकाउन्ट खोलेर लगानीको फलोअप गरिरहन्छ, सरकारका तर्फबाट त्यसमा कमजोरी देखिएको हुनाले पनि रकम फरक परेको हुनसक्छ,” उनले भने ।

लगानी गर्ने र लगानी कार्यान्वयन गर्ने निकायबीच देखिने फरक विगतको तुलनामा गत वर्षमा कम भएको उनले बताए । सरकारले लगानी गर्दा शेयर र ऋणमार्फत गर्छ ।

लगानी गर्ने र कार्यान्वयन गर्ने निकायबीच फरक हुने रकम ऋण लगानीमा धेरै हुने गरेको शिवाकोटीको भनाइ छ । ऋण लगानीको सन्दर्भमा प्रत्यक्ष लगानी तथा ब्याज गणनाले गर्दा फरक हुने गरेको उनको तर्क छ ।

गत आर्थिक वर्षमा सरकारले गरेको सेयर लगानीमा मलेनिकाले २ खर्ब ७४ अर्ब ७ करोड ५० लाख रुपैयाँ देखाएको छ ।

तर, संस्थाहरूले भने यस्तो रकम २ खर्ब ५३ अर्ब ८४ करोड ३० लाख रुपैयाँ देखाएका छन् । यो तथ्यांकअनुसार सरकारले गरेको सेयर लगानी र कार्यान्वयन गर्ने निकायबीच २० अर्ब २३ करोड ४७ लाख रुपैयाँ फरक छ ।

सेयर लगानीको विवरण फरक आएपछि मात्रै मलेनिकाले सरकारको डिम्याट अकाउन्ट नभएकाले फरक परेको जनाएको हो । अभौतिक सेयरको कारोबार ०७२ माघदेखि अनिवार्य गरिएको भए पनि सरकार नै यसबारेमा अनविज्ञ देखिन्छ ।

गत आवमा सरकारले ५३ अर्ब ६४ करोड ४६ लाख रुपैयाँ सेयर लगानी गर्ने योजना बनाएको थियो । तर, १८ अर्ब १९ करोड ६० लाख रुपैयाँ मात्र सेयर लगानी गरेको छ । गत आवमा सरकारले गरेको सेयर लगानी लक्ष्यको ३३।९१ प्रतिशत मात्र हो ।

सो अवधिमा सरकारले २१ अर्ब ६९ करोड ५ लाख ऋण लगानी लक्ष्य राखेकोमा लक्ष्यभन्दा धेरै खर्च लगानी गरेको छ । गत आवमा सरकारले २३ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

गत आवमा सरकाले १९५ अर्ब वैदेशिक ऋण लिने लक्ष्य लिएको थियो । तर, ५२ अर्ब ५ करोड मात्र ऋण लिएको छ । त्यसैगरी सरकारले गत आवमा १११ अर्ब आन्तरिक ऋण लिने लक्ष्य राखेकोमा ८८.३३ अर्ब मात्र लिएको छ ।

कारोबार दैनिकबाट साभार

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय