सरकारको एक वर्ष : जलवायु कूटनीतिमा नयाँ आयाम
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न कोप–२८ सम्मेलन अहिले नेपालमा चर्चाको विषय बनेको छ । हुन त हरेक वर्ष आयोजना हुने यस्ता कोप सम्मेलनको नेपालमा त्यति चर्चा भएको पाइँदैन तर यसपालिको कोप जलवायु परिवर्तनको सवालमा आफ्नो मुद्दासहितको दर्बिलो उपस्थितिले गर्दा पनि निकै चर्चा पाएको हो । कोपको चर्चा त संयुक्त रष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटरेसको अक्टोबर २०२३ मा नेपाल भ्रमणपश्चात् नै सुरू भएको थियो । महासचिव गुटरेसले उक्त सम्मेलनमा हिमाली तथा पर्वतीय मुलुकको मुद्दालाई आफ्नो भाषणको प्रमुख अंश बनाएका थिए र हिमाली तथा पहाडी मुलुकमा जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई सम्बोधन गरिनुपर्ने कुरा बताएका थिए ।
त्यस्तै कोप–२८ मा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेपालले शून्य बराबरको उत्सर्जन गरे पनि सबैभन्दा बढी प्रभावित भएको र यसपालि आफू ती निर्दोश जनता जो बिना कुनै कसुर जलवायु परिवर्तनको नकारात्मक असर खेपिरहेका छन् उनीहरुको आवाजलाई बुलन्द गर्न आएको बताउनुभएको थियो । यी दुई माथिका भनाइले के बताउँछ भने हिन्दूकुश हिमालय र त्यसमा आश्रित मान्छेहरू सङ्कटमा रहेको कुरा प्रष्ट हुन्छ । त्यसो त गुटरेस गत अक्टोबरमा नेपालको भ्रमणको क्रममा हिमालयमा जलवायु परिवर्तनको असरबारे सगरमाथा, अन्नपूर्ण र लुम्बिनीबाट विश्व समुदायलाई एकैपटक वक्तव्यमार्फत सन्देश दिएका थिए । त्यसले विश्व मानचित्रमा नेपाल र हिमालय शृङ्खलालाई विश्वभर चिनाउन सफल भएको छ । गुटरेसको भ्रमणपश्चात् नेपालमा जलवायु परिवर्तनको मुद्दाबारे नयाँ शिराबाट बहस सुरू हुन थाल्यो भने हिमालय शृङ्खलामा जलवायु परिवर्तनले पारेको असरबारे विश्वस्तरमा नै बहस तथा छलफलको विषय बन्न पुग्यो ।
नेपालमा पनि जलवायु परिवर्तनको मुद्दाको बहस परम्परागतभन्दा फरक तरिकाले सुरू हुन थाएको छ । कोपको पूर्वसन्ध्यामा सरकारले आयोजना गरेको जलवायु सम्मेलनले आफ्नो धारणालाई प्रष्ट पारेको छ । प्रधानमन्त्री दाहालले कोपमा आफूले कम विकसित राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित छन् अझै हिमालय क्षेत्र झनै बढी प्रभावित रहेको कुरालाई विशेष महत्वका साथ उठाउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “जलवायु परिवर्तनबाट भएको असर कम गर्नका लागि आर्थिक सहायता वा वित्तको लागि हामीले सहयोगको याचना गर्ने हैन कि पाउने नैसर्गिक अधिकार हो ।” उक्त जलवायु सम्मेलनमा नेपालले जलवायु न्यायको आधारमा अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानीमा प्रदान गरिने जलवायु वित्त अनुदान प्राप्ति तथा प्राप्तिको लागि जटिल प्रक्रियागत झन्झटलाई हटाएर सहज र सरलीकरण गरिनुपर्ने, जलवायु न्यायमा आधारित वित्तदाताहरू तथा महाशक्ति राष्ट्रहरूको इच्छा तथा अनुकूलतामा हैन कि नेपालको राष्ट्रिय हितमा हुनुपर्ने, पर्वतीय राष्ट्रमा जलवायु परिवर्तनबाट परेको असर र यहाँका जनताले भोग्नुपरेको त्रासदीको बारेमा विश्वको ध्यानाकर्षण गराउने कुराहरू प्रमुख रहेका थिए ।
यस परिवेशमा नेपालले कोपमा जानुअगावै आफ्नो तयारीको साथ प्रस्तुत गर्नको लागि विभिन्न फोरम तथा बैठकहरू आयोजना गरी आफ्ना मुद्दाहरूको बारेमा तयारी थालिएको थियो र परम्परागत तरिका र विधिलाई फेर्दै नयाँ ढङ्गले प्रस्तुत हुने योजनाको साथ प्रधानमन्त्री दाहालले कोपमा भाग लिनुभएको थियो । कोप–२८ मा नेपालको प्रस्तुति विगतको भन्दा फरक ढङ्गको हुने र यसलाई एउटा अवसरको रूपमा प्रयोग गर्ने प्रधानमन्त्रीले बताउनुभएको थियो ।
नेपालले कोपमा पहिलोपटक आफ्नै पभेलियन लियो र उक्त पभेलियनमा प्रधानमन्त्रीले उच्चस्तरीय गोलमेचको आयोजना पनि गर्नुभयो । उक्त गोलमेचको प्रमुख वक्ता राष्ट्रसङ्घका महासचिव, एण्डोराका प्रधानमन्त्री तथा अन्य देशका विशिष्ट अतिथिको उपस्थिति रहेको थियो । सो गोलमेचमा नेपालको हिमालयमा जलवायु परिवर्तनले पारेको असरका बारेमा छलफल भएको थियो र पर्वतीय मुलुकहरूमा जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न तत्काल पहल गर्नुपर्ने कुरामा छलफल भएको थियो । नेपालको पभेलियनमा अन्य विषयमा पनि व्यापक छलफल भएको थियो ।
नेपालले आफ्नै पभेलियन लिएर कोपको अवधिभर आफ्नो प्रस्तुतिलाई बलियो बनाएको थियो । सम्मेलनमा प्रधानमन्त्रीले भन्नुभएको थियो, “जलवायु परिवर्तन प्रकृति र मानवताविरुद्धको युद्ध’ भएको र आफ्नो स्वार्थ पूरा गर्नका लागि हामी आफैँ र भावी पुस्तासँग समेत लडिरहेका छौँ र म यहाँ मेरो निर्दोष मानिसका लागि जलवायु न्यायका लागि उभिएको छु जो यस प्रकोपबाट पूर्ण पीडित छन् ।”
सम्मेलनमा उहाँले तापक्रम वृद्धिले पर्वतीय देशहरू आक्रान्त भएका छन् र यसको असरले जनता र यस ग्रहलाई नै विश्वस्तरीय सेवा दिइरहेको हिमालयको पारिस्थितिकीय प्रणाली, जैविक विविधता, मानव सभ्यता र जनजीविकाको आधारलाई नै खल्बल्याएको उल्लेख गर्नुभयो ।
सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवले सम्बोधन गर्ने क्रममा नै नेपालको हिमालय र अन्टार्टिकाको मुद्दालाई महत्वका साथ उठाएको र यसले पर्वतीय मुलुकहरूको मुद्दालाई अब सम्बोधन गर्नुपर्ने कुरालाई महत्वका साथ उजागर गरेका छन् । यसपालिको कोपमा नेपालले अन्तर्राष्ट्रियस्तरमा देशको अवस्थिति र जलवायु परिवर्तनले गर्दा उत्पन्न आक्रान्त अवस्थालाई दर्बिलो ढङ्गले प्रष्टसँग प्रस्तुत गर्न सकेको छ । नेपालले आफ्ना मुद्दाहरू परम्परागतभन्दा फरक ढङ्गले प्रस्तुत गरी जलवायु कूटनीति, जलवायु न्याय, जलवायु वित्त तथा वित्तमा सहज र सरल पहुँचको सन्दर्भमा नयाँ बहसको थालनी गरेको छ ।
नेपालले जलवायु न्यायको कुरालाई प्रखररूपमा राख्न सफल भयो, ‘याचना हैन अधिकार हो’ भन्ने कुरालाई राम्रोसँग स्थापित ग¥यो । अन्तर्राष्ट्रिय जलवायु परिवर्तन वित्तमा अल्पविकसित तथा गरिब मुलुकहरूलाई सरल, सहज पहुँचको विषयलाई प्रस्तुत ग¥यो । सबैभन्दा महत्वपूर्ण कुरा त नेपालको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय नीति तथा कुटनीति समुद्र तटीय देशहरूको अनुकूलतामा आफूलाई समाहित गर्दै उनीहरूको मुद्दामा सहमत जनाउँदै आएको थियो यो निरिहतालाई यसपालिको कोपले परिवर्तन ल्याएको छ । यसरी समुद्र तटीय देशहरूको अनुकूलतामा बरालिएको नेपालको जलवायु कूटनीतिलाई नेपालको अनुकूलतामा ल्याउन यसपालिको कोपले महत्वपूर्ण भूमिका खेलेको छ ।
नेपाल तथा पर्वतीय मुलुकहरूको मुद्दालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ । यसभन्दा पहिला पर्वतीय मुलुकहरूको मुद्दा अस्थायीरूपमा थियो तर यसपालिको कोपमा यस मुद्दालाई प्रमुखरूपमा उठानको लागि देशको तर्फबाट राम्रो पहल भएको छ । अतिकम विकसित राष्ट्रहरूको नाममा समुद्र तटीय देशहरुका मुद्दाहरूमा समाहित हँुदै आएको र सीमित स्वार्थ केन्द्रित सङ्घ, संस्था र व्यक्तिको कब्जामा रहेको नेपालको जलवायु परिवर्तनको मुद्दालाई यसपालिको कोपले समग्र देशको पक्षमा केन्द्रित गर्न सफल भएको छ । अन्यत्रै रुमलिएको वा बरालिएको नेपालको जलवायु कूटनीतिलाई अहिले राष्ट्र हितमा वा राष्ट्रको पक्षमा ल्याउन करिब सफलताको खुड्किलोतिर गएको छ । अब बाँकी नेपालको शासकीय प्रणालीले कोप–२८ को क्रममा लिइएको पहलकदमीबाट सकारात्मक परिणाम निकाल्नका लागि कस्तो भूमिका निर्वाह गर्दछ हेर्न बाँकी छ ।।
(लेखक जलवायु परिवर्तनसम्बन्धी विषयका विज्ञ हुनुहुन्छ)
भोलिदेखि ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरिने
काठमाडौं । भोलि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिने भोलि शुक्रबार अर्थात् नोभेम्बर १५ मा नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात गरिने भएको छ। बंगलादेशमा निर्यात गरिने विद्युत्को स्रोत परियोजनालाई भारतले स्वीकृत गरेसँगै शुक्रबार ४० मेगावाट विद्युत् निर्यात गर्न लागिएको हो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भारतमा दश वर्षमा दश हजार मेगावाट र बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौत अघि बढाएको थियो । बंगलादेशमा विद्युत् पठाउन पनि आयोजना नै तोकेर भारतबाट स्वीकृति लिनुपर्छ। नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गर्न २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे परियोजना प्रस्ताव गरेको थियो, त्यसमा भारतले बिहीबार स्वीकृत पत्र पठाएको छ। प्राधिकरणका प्रवक्ता चन्दन घोषले बंगलादेशमा विद्युत् बिक्रीका लागि भारतबाट स्वीकृती आएको बताए। ‘भारतले बंगलादेशमा विद्युत् बिक्री गर्न स्वीकृती दिएको छ। भोलि बंगलोदशमा ४० मेगावाट विद्युत् निर्यात हुनेछ,’ उनले भने, ‘हामीले सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म मात्रै विद्युत् बिक्री गर्न पाउछौं। त्योअनुसार भोली एक दिन मात्रै विद्युत् निर्यात हुनेछ। त्यसपछि अर्को बर्ष जुन १५ तारिखदेखि विद्युत् निर्यात सुरु हुनेछ।’ नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्न गत १७ असोजमा नेपाल, भारत र बंगलादेशबिच सम्झौता भएको थियो। काठमाडौंमा बिशेष समारोह गरेर नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार बंगलादेशमा नेपालले पाँच वर्षसम्म १५ जुनदेखि १५ नोभेम्बरसम्म पाँच महिनाको अवधिमा ४० मेगावाट विद्युत् निर्यात गर्नेछ। नेपालले विद्युत् निर्यात गर्दा प्रतियुनिट ६.४० अमेरिकी सेन्ट प्राप्त गर्नेछ। यो सम्झौतापत्रको अवधि पाँच वर्ष तोकिएको छ। वर्षमा पाँच महिनासम्म ४० मेगावाट विद्युत् निर्यात गर्दा नेपालले ९२ लाख १६ हजार डलर आम्दानी गर्नेछ। जुन बिहीबारको विनिमयदरमा एक अर्ब २३ करोड ८४ लाख रुपैयाँ हुन्छ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तर्देशीय प्रसारणलाइनमार्फत भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पु¥याउनेछ। बंगलादेशमा निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमै रहनेछ। त्यसकै आधारमा प्राधिकरणले बंगलादेशबाट भुक्तानी पाउनेछ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्नेछ। मुजफ्फरपुरबाट उता भने बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) ४०० केभी प्रसारणलाइन हुँदै बंगलादेशमा विद्युत् पु¥याइनेछ। त्यसपछिको प्रसारणलाइन शुल्क, चुहावट, एनभिभिएनले लिने र ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै व्यहोर्नेछ।
आज विश्व मधुमेह दिवस, यस्ता छन् जोगिने उपाय
काठमाडौं । आज विश्व मधुमेह दिवस । ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसको सन्दर्भ पारेर गत शुक्रवारदेखि विभिन्न संघसंस्थाले कार्यक्रमहरु गर्दै आएका छन् । नेपालमा बढ्दै गएको मधुमेहको समस्या, यसको असर, पहिचान, उपचार र रोकथामका उपायका बारेमा जनचेतनामूलक सन्देश दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । चिकित्सकहरुका अनुसार पछिल्लो समय नेपालमा मधुमेहका बिरामीको संख्या अत्यधिक बढेको छ । विशेष गरी बालबालिका, युवा र ज्येष्ठ नागरिक सबै उमेर समूह यसको जोखिममा परेका छन्। मधुमेह हुनबाट जोगिने निम्न कुरा ध्यान दिनु पर्छ स्वस्थ आहारः चीनी, मैदा, र प्रोसेस्ड खानेकुरा कम गर्ने। फाइबरयुक्त खाना (जस्तै, हरियो सागसब्जी, फलफूल, गहुँ र दाल) बढी खाने। खानामा माछा, मासु, वा अण्डा सेवन गर्ने भए पनि सन्तुलित र सिमित मात्रामा राख्ने। व्यायामः नियमित रूपमा व्यायाम गर्नु अत्यन्त महत्वपूर्ण छ। हप्तामा कम्तिमा पाँच दिन ३० मिनेटदेखि १ घण्टासम्म हल्का जस्तै पैदल हिँड्ने, दौडने, वा साइकल चलाउने गर्न सकिन्छ। तौल नियन्त्रणः शरिरको तौल स्वस्थ र सन्तुलित राख्नुपर्छ। मोटोपन मधुमेहको खतरा बढाउने प्रमुख कारण हो। तनाव व्यवस्थापनः तनावले रगतमा चिनीको मात्रा बढाउन सक्छ। ध्यान, योग, र गहिरो श्वासप्रश्वासको अभ्यास तनाव घटाउन उपयोगी हुन्छ। सुताईको समयः पर्याप्त र गुणस्तरीय निद्रा पनि मधुमेहबाट बच्न महत्त्वपूर्ण हुन्छ। हरेक रात कम्तिमा ७/८ घण्टा सुत्ने प्रयास गर्नुहोस्। नियमित जाँचः मधुमेहको इतिहास भएको परिवारमा हुने व्यक्तिले रगतमा चिनीको मात्रा नियमित रूपमा जाँच गराउँदै गर्दा जोखिमलाई चाँडै पहिचान गर्न सकिन्छ। धूम्रपान र मद्यपानको परित्यागस् यीले मधुमेहको जोखिम बढाउन सक्छन्, त्यसैले धूम्रपान र मद्यपान नगर्नु वा परित्याग गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। यस्ता जीवनशैलीका परिवर्तनहरूले मधुमेहबाट बच्न र यदि मधुमेह भएमा यसलाई नियन्त्रणमा राख्न सहयोग पुर्याउँछ।
गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन
काठमाडौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उहाँको बुधबार राति काठमाडौंमा निधन भएको हो । ६३ वर्षकी गौचन केही दिनअघि डेंगुबाट संक्रमित हुनुभएको थियो । बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको मृत्युको कारण भने खुल्न सकेको छैन । गौचन नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिनु भएको थियो । गौचनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने उहाँको परिवारले जनाएको छ ।
उपनिर्वाचनको उमेदवार बन्न के गर्नुपर्ला, यस्तो छ अयोग्यतासम्बन्धी व्यवस्था
काठमाडौं । निर्वाचन आयोगले सरकारको स्वामित्वमा रहेका वा सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति उपनिर्वाचनमा उमेदवार बन्न नपाउने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको स्वामित्वमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका व्यक्ति पनि उमेदवार बन्न नपाउने जानकारी गराएका छन् । उनका अनुसार, त्यस्ता व्यक्तिको उमेदवारी मनोनयन हुने छैन । स्थानीय तहका रिक्त ४२ पदमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । यस्तो छ अयोग्यतासम्बन्धी व्यवस्था