सातै प्रदेशमा कांग्रेसले सभा गर्ने

काठमाडौं, चैत १९ । कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गर्दै सातवटै प्रदेशमा आमसभा र सबै स्थानीय तहमा केन्द्रीय नेताको उपस्थितिमा सभा गर्ने निर्णय गरेको छ । नेता रामचन्द्र पौडेल नेतृत्वमा बनेको निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले सातवटै प्रदेशमा सभापतिसहित शीर्ष नेताले सम्बोधन गर्ने गरी आमसभा गर्ने भएको छ । साथै, ७ सय ४४ स्थानीय तहमै केन्द्रीय नेताको उपस्थितिमा सभा गर्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य रमेश रिजालले दिए ।
‘पार्टीका शीर्षस्थ नेताहरू सहभागी भई सातवटा प्रदेशमा ठूला आमसभा गर्ने र ७ सय ४४ स्थानीय तहमा केन्द्रीय नेताले सम्बोधन गर्ने गरी सभा गर्ने निर्णय समिति बैठकले गरेको छ,’ समिति सदस्यसमेत रहेका रिजालले नयाँ पत्रिकासँग भने, ‘ठूला आमसभालाई सभापतिसहित शीर्षस्थ नेतृत्वले सम्बोधन गर्नुहुन्छ । स्थानीय तहका सभालाई पनि सम्बन्धित प्रदेशका केन्द्रीय नेताले अगुवाइ गर्नेछन् ।’
चुनावमा कांग्रेसको पक्षमा जनमत बढाउन प्रचारप्रसारमा केन्द्रीय नेतालाई गाउँ तहसम्मै परिचालन गर्ने तयारी गरिएको जानकारी उनले दिए । ‘ठूला सभामा केन्द्रीय नेता सहभागी हुनुहुन्छ । तर, यसका लागि तालिका बनाएर ल्याउन संयोजकलाई सुझाएका छौँ,’ रिजालले भने, ‘अब संयोजकले चुनावलक्षित प्रचारप्रसारका कार्यक्रम बनाएपछि थप छलफल गर्छौँ ।’
केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार नेता पौडेलले शनिबार कार्यालयका कर्मचारीहरूको सहयोगमा चुनावी प्रचारप्रसारका कार्यक्रम बनाउन छलफल गर्ने भएका छन् । परिचालन समितिको बैठकले पार्टी केन्द्रदेखि जिल्ला क्षेत्र, गाउँ, नगर हुँदै वडा तहसम्म एउटै अठोट र अभियानका साथ पार्टीलाई थप संगठित गर्ने र स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई प्रथम स्थान हासिल गराउने गरी प्रचारप्रसार गर्नुका साथै संगठन सुदृढ गर्ने निर्णय पनि गरेको छ । पार्टीका सबै तहमा स्थानीय निर्वाचन परिचालन समिति गठन गरेर कांग्रेसको पक्षमा माहोल सिर्जना गर्ने तयारी कांग्रेसको छ । कांग्रेसले स्थानीय तहका उम्मेदवार सम्बन्धित पार्टीका समितिले नै गर्ने कार्यविधि बनाएको केन्द्रीय कार्यालयका सचिव केसीले जानकारी दिए । पार्टीमा निरन्तरता दिएका, योग्य र सक्षमलाई उम्मेदवार बनाउने तयारी कांग्रेसको छ ।
कार्यक्रमको खाका बनाउँदै पौडेल : संसद्को सबैभन्दा ठूलो पार्टी कांग्रेसले केही दिनअघि बसेको बैठकबाटै निर्वाचन परिचालन समिति गठन गरेको थियो । शुक्रबार पहिलो बैठकले चुनावलक्षित सभामा शीर्ष नेताले नै सम्बोधन गर्ने निर्णय गरे पनि कहाँ, कस्तो कार्यक्रम गर्ने भन्ने खाका छिटो बनाउन पौडेललाई जिम्मा दिएको छ । पौडेलले कार्यकर्ता परिचालन, प्रचारप्रसारको खाकासम्मका तालिका बनाउनेछन् ।
प्रदेश तहको घोषणापत्रको प्रस्ताव : निर्वाचन परिचालन समितिको बैठकमा सदस्यहरूले पार्टीले स्थानीय तहको चुनावलक्षित घोषणापत्र तयार गर्दा प्रदेश तहलाई आधार मान्न सुझाब दिएका छन् । ‘स्थानीय तहको जानकारी सम्बन्धित क्षेत्रकालाई नै बढी हुन्छ । त्यसैले चुनावी घोषणापत्र तयार केन्द्रको मात्रै होइन प्रदेश तहको पनि तयार गर्नुपर्छ भन्ने सुझाब दिएका छौँ,’ रिजालले भने ।
घोषणापत्र तयारी समितिले काम थाल्दै : केन्द्रीय सदस्य महेश आचार्य नेतृत्वको घोषणापत्र तयारी समितिले केही दिनपछि मात्रै घोषणापत्रको तयारी थाल्ने भएको छ । आचार्यले समिति अझै पूर्ण नभइसकेको भन्दै केही दिनपछि मात्रै चुनावी घोषणापत्र तयारी थाल्ने जानकारी दिए ।
निर्वाचन परिचालन समितिमा को–को ? : प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा. रामशरण महत, जीवनबहादुर शाही, अजुर्ननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी सावद सदस्य छन् । त्यस्तै, अन्य सदस्यमा आनन्दप्रसाद ढुंगाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, महेन्द्र यादव, पुष्पा भुसाल, शंकर भण्डारी, गगन थापा, जीवन परियार, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, रामकृष्ण यादव, हृदयराम थानी, विश्वप्रकाश शर्मा, रमेश लेखक, सरिता प्रसाईं, सूर्यमान गुरुङ र रोमी गौचन छन् ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।
कोसी, वाग्मती र गण्डकीमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा वर्षाको गतिविधि बढ्ने देखिएको विभागले जनाएको हो। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक कोसी र वाग्मती प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। यस क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएको छ। रातिको पूर्वानुमानअनुसार, देशभर साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिएको छ। विभागले संभावित भारी वर्षाको कारण पहिरो, बाढी र जलस्रोतको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ। विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।
मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।