सामाजिक सञ्जालमा हुने विज्ञापनलाई कानुनको दायरामा ल्याइँने

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई कानुनको दायरामा ल्याइँने

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जालमा भइरहेको विज्ञापनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएकी छिन्। त्यसका लागि आवश्यक नीति निर्माणमा पनि उनले जोड दिइन्।

विज्ञापन बोर्ड नेपालले राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँग सञ्चार मन्त्रालयमा गरेको छलफलमा मन्त्री शर्माले सामाजिक सञ्जालमा जाने विज्ञापनले अर्थतन्त्रको ठूलो हिस्सा प्रभावित गरिरहेको तर त्यसबाट राज्यले राजश्व नपाइरहेको उल्लेख गर्दै यसलाई कडाइका साथ नियमन गर्नुपर्ने बताएकी हुन् ।

सामाजिक सञ्जालको विज्ञापनले बिदेशी मुद्राको संकुचन बढाइरहेको चर्चा गर्दै उनले यसलाई नियन्त्रण गर्ने हो भने नेपालको ठूलो पूँजी थाहा पाउँदापाउँदै बिदेश पलायन हुने खतरा पनि उत्तिकै बढेको बताइन् ।

विज्ञापन मानिसको दिमाग र आनीबानी बदल्ने महत्वपूर्ण माध्यम भएकाले यसको संवेदनशीलतामा ख्याल गर्नुपर्नेमा उनले जोड दिइन् । ‘संसारभरिको प्रचलन के हो भने मानव स्वास्थ्य र मुलुकको व्यवस्था प्रतिकूल हुने गरी विज्ञापन गर्न पाइदैन’– मन्त्री शर्माले भनिन्– ‘व्यक्तिको मानव स्वास्थ र सामाजिक प्रतिष्ठा सर्वोपरि हुन्छ, विज्ञापन उत्पादन र प्रकाशन÷प्रसारण गर्न यसलाई ध्यान दिनुपर्छ ।’

पछिल्लो समय अनलाइन सपिङ बढेको उल्लेख गर्दै यसमा हुने विज्ञापनमा पनि गुणस्तरको सुनिश्चितता कायम गर्ने गरी विज्ञापन नीति तर्जुमा गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिइन् ।

नेपालमा नीति, ऐन, नियमावली फरक फरक हुने र भएका नीति नियमभन्दा व्यवहार फरक हुने भएकाले हामीले बनाउने नीति नियमहरु कार्यान्वयन गर्न सकिने सरल, सहज र प्रभावकारी हुनुपर्नेमा पनि उनले जोड दिइन् । भ्रमपूर्ण विज्ञापन रोकन नियमन र क्षतिपूर्तिको आवश्यकतामा जोड दिंदै उहाँले प्रदेश तथा स्थानीय तहबाट सार्वजनिक हितका लागि जारी गरिने विज्ञापन सम्बन्धित तहकै सञ्चारमाध्यमबाट प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाउन पनि मन्त्री शर्माले आवश्यक नीति बनाउनुपर्ने बताइन् ।

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाइले हाल राष्ट्रिय विज्ञापन नीति नभएकाले विज्ञापन नीति २०८० लाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल गरिएको बताइन् । कार्यक्रममा सरोकारवालाहरुले राष्ट्रिय विज्ञापन नीतिले नेपालको विज्ञापन बजारलाई स्वस्थ र मर्यादित बनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तो छ आजको मौसमः केही भूभागमा वर्षाको संभावना

काडमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराई भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ६ बजेर २६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

कीर्तिपुर र काठमाडौ १६ मा माओवादी केन्द्र–एकीकृत समाजवादी तालमेल

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह उपनिर्वाचनमा काठमाडौँको दुई सिटमा तालमेलको सहमति बनेको छ । सहमतिअनुसार काठमाडौँ -१६ मा एकीकृत समाजवादीलाई माओवादी र कीर्तिपुर नगरपालिकामा माओवादीलाई एकीकृत समाजवादीले सहयोग गर्ने सहमति भएको हो । शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गर्ने र काठमाडौँ महानगरपालिका वडा नं. १६ को वडाअध्यक्ष पदका उम्मेदवार मिनबहादुर मानन्धरलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने निर्णय गरेको छ । 

गोरखामा जूनको उज्यालोमा मकै सुकाउने रमाइलो पर्व

गोरखा । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । गोरखाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाइएको हो ।  ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जूनको उज्यालोमा सामूहिक रूपमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । ठूलो आँगनमा प्लाष्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न राखिएको थियो । पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्नबाली ल्याएर सुकाएको अन्नलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । नेवार समुदायका अगुवासमेत रहेका ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले झण्डै ४० वर्षदेखि मनाउन छोडिएको यो पर्व विगत तीन वर्षदेखि सामूहिक रूपमा मनाउन थालिएको जानकारी दिए । कात्तिक शुल्क पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउलगायतका गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाको दिन जूनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने धार्मिक विश्वाससमेत रहेको उनको भनाइ छ । यो पर्व परम्परागत रूपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक रूपमा मनाउन थालिएको छ ।  परम्परा र संस्कतिलाई पुस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको तीन वर्षदेखि पुनः मनाउन थालिएको श्रेष्ठको भनाइ छ ।  कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले लोप हुनै लागेको मकै सुकाउने पर्वको जर्गेना गर्न स्थानीय समुदायले थालेको प्रयास सराहनीय भएको बताए । सोही अवसरमा नेवार समुदायको परम्परा र संस्कृति झल्कने पोसाकमा सजिएर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको आयोजकले जनाएको छ ।

बेपत्ता र सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिने म्याद थप

काठमाडौं । सरकारले द्वन्द्वकालीन घटना टुंग्याउन महत्त्वपूर्ण मानिएका दुई आयोगको अध्यक्ष र सदस्यमा आवेदन दिने म्याद थप गरेको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्न समिति गठन गरेको थियो । सोही समितिले २३ कात्तिकमा दुवै आयोगका अध्यक्ष र सदस्यमा आवेदन आह्वान गर्दै एक सूचना प्रकाशित गरेको हो । उक्त सूचनामा इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरिएको छ । सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । तर, आज फेरि अर्को सूचना प्रकाशित गर्दै समितिले मंसिर ४ सम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

लोकप्रिय