सुपथ मूल्यका पसल सञ्चालनमा

काठमाडौं, भदौ १६। नजिकिँदै गरेका पर्व वडा दशैँ, तिहार तथा छठमा सहुलियत दरमा दैनिक उपभोगका वस्तु सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालनमा आएका छन् ।
आपूर्ति मन्त्रालयअन्तर्गतका चार निकाय साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल टेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले शुक्रबारदेखि संयुक्तरुपमा सुपथ मूल्यका पसल उपत्यकाभित्र विभिन्न आठ स्थानबाट सञ्चालनमा ल्याएका हुन् ।
कालिमाटी, टेकु, सतुंगल, कोटेश्वर, जावलाखेल, सूर्यविनायक, रामशाह र कलंकी तथा उपत्यका बाहिर बनेपा, विराटनगरलगायत २२ स्थानबाट ती पसल सञ्चालनमा आएका हुन् । साल्ट ट्रेडिङ कर्पोरेशनले तीनवटा घुम्ती सेवालाई पनि सञ्चालनमा ल्याएको छ । कर्पोरेशनले नूनमा रु दुई र चिनीमा रु पाँच छुटको व्यवस्था गरेको छ ।
विशेषगरी दैनिक उपभोग्य सामान नून, चिनी, चामल, तेल, पिठो, गेडागुडी, दाल, दुग्धजन्य पदार्थ उपभोक्ताले सहजरुपमा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यका साथ सरकारले हरेक वर्ष यस्ता पसल सञ्चालनमा ल्याउने गर्छ ।
आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयद्वारा आज रामशाहपथमा सुपथ मूल्यको पसलको शुभारम्भ गर्दै चाडबाडको समयमा दैनिक उपभोग्य वस्तु सहजरुपमा उपभोक्ताले उपभोग गर्न यस्ता पसलले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले दुर्गम क्षेत्रमा पनि सरकारले यस्ता पसल प्रभावकारीरुपमा सञ्चालनमा ल्याउने जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थानले चाडपर्वका समयमा नून, चिनी तथा खाद्य पदार्थमा विशेष छुटको प्रबन्ध मिलाएको जानकारी दिइन ।
नेशनल ट्रेडिङ कर्पोरेशनका महाप्रबन्धक लवराज जोशी, दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमल्सिनाले संस्थानका बारेमा प्रकाश पारेका थिए । रासस
प्रतिनिधिसभामा १० मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल सम्पन्न
काठमाडौं । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत १० वटा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी शीर्षकमा छलफल भएको हो। छलफलमा सांसद डा. चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मीना तामाङ, लालप्रसाद साँवा लिम्बू, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे, दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी थिए। सभामुख देवराज घिमिरेले मन्त्रालय र सचिवालयहरूसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीहरूको जवाफका लागि असार ८, ९ र १० गते समय तोकिएको जानकारी गराए। सभामुख घिमिरेका अनुसार आगामी आइतबार (असार ८) बस्ने प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ तथा सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने छ। प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ।
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।