स्याउको व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै

स्याउको व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै

पोखरा, वैशाख १२ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक स्याउखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

उच्च हिमाली भूभाग भएको जिल्लामा अन्य खेती नहुने भएकाले लेकाली तथा हिउँदे फलफूलखेतीलाई प्राथमिकता दिन स्याउखेती विस्तार गर्न लागिएको छ । स्याउखेतीको अध्ययन तथा अनुसन्धान गर्दै आएको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले जिल्लामा स्याउखेतीको विस्तारका लागि बिरुवा वितरण गर्न थालेको छ ।

शीतोष्ण बागवानी विकास केन्द्रका प्रमुख बालकृष्ण अधिकारीका अनुसार आव २०७२-७३ मा स्याउका ३५ हजार बिरुवा केन्द्रबाट वितरण गरिएको थियो । स्याउबाहेक अन्य लेकाली फलफूल ओखर, खुर्पानीलगायत बिरुवाका गरी सो आवमा ४६ हजार बिरुवा वितरण गरिएको थियो ।

पछिल्लो समयमा जिल्लामा सहकारी तथा कृषि समूहको व्यवस्थापनमा लगानी गरेर फार्म सञ्चालन गर्ने क्रम बढेको छ । स्थानीय कृषक विस्तारै स्याउको व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका छन् । व्यावसायिक स्याउखेतीका लागि सहकारी तथा कृषि समूहको व्यवस्थापनमा करिब रु १० करोडसम्म लगानी गरेर फार्म सञ्चालन गरेका अधिकारीले बताउनुभयो ।

फार्म सञ्चालन गर्ने कृषकलाई कृषि विकास कार्यालयले प्राविधिक तालिम, अनुदान तथा स्याउका बिरुवा वितरण गर्ने गरेको छ । स्याउको व्यावसायिकखेती मार्फत १० वर्षभित्रमा देशलाई स्याउमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषकलाई अनुदान, कृषि औजार आदिको वितरण गर्ने गरिएको छ ।

जिल्लामा अघिल्लो आवमा चार हजार ८०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । मौसमको प्रतिकूलताका कारण यस वर्ष चार हजार ५०० मेट्रिक टन मात्र उत्पादन भएको अधिकारीले जानकारी दिनुभयो । तथ्याङ्कअनुसार जिल्लामा एक हजार १०० हेक्टर जमिनमा स्याउखेती गरिएकामा करिब ३५० हेक्टरमा लगाएको बोटले हाल उत्पादन दिइरहेका छन्।

मुस्ताङमा उत्पादित स्याउ म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री हुँदै आएको छ । यातायातको सहज पहुँच र राम्रो मूल्य पाउन थालेपछि अहिले जिल्लाका विभिन्न गाविसमा व्यावसायिक रुपमा फार्म थपिने क्रम जारी रहेको मार्फाका सुरज लालचनले बताउनुभयो ।

जलवायु परिवर्तनको असरसँगै मुस्ताङको तल्लो भेगमा पानी पर्न थालेपछि लेतेलगायतका स्थानमा भने स्याउखेती घट्दै गएको व्यवसायीको अनुभव छ । “करिब २०-२५ वर्षअघि मुस्ताङको लेतेलगायतका तल्लो भेगमा स्याउको राम्रो उत्पादन हुन्थ्यो,” लालचनले भन्नुभयो – “पानी पर्ने क्रम बढेसँगै बर्सेनि उत्पादनमा कमी आउन थालेको छ ।”

पछिल्ला वर्षमा सहकारीमार्फत स्याउखेती गर्न थालिएसँगै स्थानीयवासी यसतर्फ आकर्षित बन्न थालेका छन् । विभिन्न सहकारीमार्फत जोमसोम, मार्फा, कागबेनी, छुसाङ, सुर्खाङ, टुकुचे, ताङ्वेलगायतका गाउँमा स्याउखेतीको विस्तार गरिएको छ । सहकारीले स्याउखेतीका साथै अर्गानिक तरकारी तथा अन्य फलफूलखेतीलाई विस्तार गरेका छन् ।

कृषिको व्यवसायीकरणको विस्तारका लागि विभिन्न स्थानमा भइरहेका अध्ययन तथा अनुसन्धानलाई प्रचारप्रसार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको कृषि सूचना तथा सञ्चार केन्द्रका सूचना अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।

प्रतिनिधिसभामा १० मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

काठमाडौं । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत १० वटा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, स्वास्थ्य तथा जनसंख्या, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी शीर्षकमा छलफल भएको हो। छलफलमा सांसद डा. चन्द्रकान्त भण्डारी, सुनिता बराल, देवेन्द्र पौडेल, रमा कोइराला पौडेल, भगवती चौधरी, मीना तामाङ, लालप्रसाद साँवा लिम्बू, विमला सुवेदी, दीपा शर्मा, देवप्रसाद तिमिल्सिना, नागिना यादव, सराज अहमद फारुकी, कान्तिका सेजुवाल, हितराज पाण्डे, दिनेशकुमार यादव, नारायणप्रसाद आचार्य, शान्ति विक र हृदयराम थानी सहभागी थिए। सभामुख देवराज घिमिरेले मन्त्रालय र सचिवालयहरूसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफल र सम्बन्धित मन्त्रीहरूको जवाफका लागि असार ८, ९ र १० गते समय तोकिएको जानकारी गराए। सभामुख घिमिरेका अनुसार आगामी आइतबार (असार ८) बस्ने प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ तथा सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय तथा उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने छ। प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ।

सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।

पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ।   त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।

लोकप्रिय