५ हजार घुस प्रकरण : मन्त्री र प्रधानमन्त्रीसँग जवाफ माग

५ हजार घुस प्रकरण : मन्त्री र प्रधानमन्त्रीसँग जवाफ माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले एउटा पूर्वमन्त्री र बहालवाला सांसदले सर्टिफिकेट प्रमाणित गर्न ५ हजार रुपैयाँ घुस दिनुपरेको विषयबारे सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले तीन दिनभित्र संसद्मा जवाफ दिनुपर्ने माग गरेका छन्। 

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले संसद्मा विषय उठेपछि जवाफका लागि सभामुखले रुलिङ गर्नुपर्नेमा नगरेको भन्दै यति संवेदनशील विषयमा संसद्ले नजरअन्दाज गर्न नमिल्ने बताए। 

‘एकजना मित्र, पूर्वमन्त्री र सांसदले पाँच हजार घुस प्रकरण अघि सार्नुभएको छ।उहाँले आफ्ना छोरोको प्रमाणपत्र प्रमाणित गर्नका लागि मैले स्वयं ५ हजार दिएँ र त्यसपछि मात्र काम भयो भनेर रोष्ट्रमबाट भन्नुभयो’, उनले भने, ‘यस विषयमा सभामुखबाट रुलिङ हुनेछ भन्नेमा आशारत थिएँ, तर हुन सकेन।’

सांसद केसीले सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ’ भनेको स्मरण गर्दै पाँच हजार घुस दिएको कुरा के हो ? भनेर प्रश्न गरे । ‘यो भ्रष्टाचार हो कि होइन? पाँच हजार घुस खाएको कुरा संवेदनशील हो यसलाई नजरअन्दाज गर्न मिल्दैन’, उनले भने, ‘आम जिज्ञासा छ कि एउटा मन्त्री र सांसदले घुस दिनुपर्ने हो भने सर्वसाधारण जनताको अवस्था के होला?’ 

उनले घुस काण्डमा हाउस स्तब्ध भएर बसेको भन्दै यसबारे तीन दिनभित्र सरकारले जवाफ दिनुपर्ने बताए।सोमबारको प्रतिनिधि सभा बैठकमा पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले केही दिन अघिमात्र छोराको प्रमाणपत्र प्रमाणित गर्न ५ हजार घुस दिनुपरेको बताएका थिए।

सभापति रबि निलम्बन पछि बसेको रास्वपा सचिवालय बैठकले गर्यो यी तीन निर्णय

काठमाडौँ । सभापति रबि लामिछानेलाई संसद सचिवालयले निलम्बन गरेपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सचिवालयको आकस्मिक बैठकले तीन निर्णय गरेको छ ।  पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार आकस्मिक बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ ।  यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ भएको छ ।

संसद सचिवालयमा टासियो रवि निलम्बनमा परेको सूचना

काठमाडौं । सभामुख देवराज घिमिरेले रास्वपा सभापति रविलामिछानेको सांसद पद निलम्बनमा परेको सूचना प्रकाशित गर्न लगाएका छन्। सभामुखको निर्णयपछि संसद सचिवालयले सूचना टाँस गरेको छ।   सूचनासँगै संघीय संसद सचिवालयले चितवन–२ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद निलम्बनमा परेको सूचना छ।   संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले कास्की जिल्ला अदालतमा लामिछाने विरुद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा दायर भएकाले मुद्दा किनारा नभएसम्म निलम्बनमा रहने कानुनी व्यवस्था उदृत गर्दै सूचना प्रकाशित गरे। 

लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्धा दर्ता गरिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज पोखरा जिल्ला अदालतमा मुद्धा दर्ता गर्न लागिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागेको हो। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना सर्वसाधारण बचतकर्ताले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछाने ९० दिन देखि हिरासतमा रहेका छन् । गोर्खा मिडियाको शेयर सदस्य र प्रवन्ध निर्देशक (एमडी) लामिछानेसहित गोर्खा मिडियाको तत्कालीन संचालक एवं पूर्व डिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङ विरुद्ध पनि मुद्धा दर्ता गर्ने तयारी छ। उनीहरु पनि सुर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरीले पक्राउ परेका छन्।

संघीय संसद्का ४ वटा समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार (आज)संघीय संसद्का ४ वटा समितिको बैठक बस्दैछ । सबै समितिको बैठक, सिंहदरबारस्थित कार्यालयमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ, जुन बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ, जसका लागि बिहान ११ः०० बजे बैठक बोलाइएको छ । उता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न १२ः३० बजे बोलाइएको छ । जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । साथै, विधायन व्यवस्थापन समितिको बैठकमा भने नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिका सदस्यहरूले विभिन्न स्थानमा गरेका स्थलगत अनुगमन प्रतिवेदन माथि र समितिको आगामी कार्यक्रम सम्बन्धमामा छलफल गर्नका लागि बिहान ११ः३० बजे बैठक बोलाइएको छ ।

लोकप्रिय