भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ :  प्रमुख रेनु दाहाल

भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि उल्लेखीय सुधार भएको छ :  प्रमुख रेनु दाहाल

चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधार विकाससँगै कृषि क्षेत्रमा पनि त्यही अनुपातमा विकास भएको बताएकी छन् ।

बिहीबार भरतपुर ७ मा निर्मित प्रेमवस्ती दुग्ध उत्पादक सहकारी संस्थाको ३ तले भवन उद्घाटन कार्यक्रममा उहाँले कृषि क्षेत्रमा भएको विकासले यहाँको उत्पादनमा पनि क्रमशः वृद्धि हुँदै गइरहेको उल्लेख गरिन् ।

भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक दूधमा अनुदान दिन सुरुवात गरेको भन्दै उनले कृषिका अन्य पूर्वाधार निर्माणमा महानगरपालिकाले चासो दिदै आइरहेको बताइन्।

भरतपुरले दुग्ध कृषकलाई २५ पैसाबाट अनुदान सुरु सरी हाल ३ रुपैयाँ पुराएको छ। यसबाट १० हजार कृषक लाभान्वित भएका छन् ।‘भरतपुरमा दैनिक १ लाख लिटर दूध उत्पादन हुन्छ, उनले भनिन्,‘ ५० हजार लिटर दूध भरतपुरमै खपत हुन्छ। ५० हजार बाहिरी जिल्लामा निर्यात गर्ने गरेको तथ्याङ्क छ। भरतपुर दूधमा अत्मनिर्भर छ।’

महानगरपालिका प्रमुख दाहालले अबको नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिन लागेको उल्लेख गरिन्। उत्पादन भनेको कृषि हो, यो सँगै सौन्दर्यकरण, सरसफाईलाई जोड दिइएको छ–उनले भनिन्।

प्रमुख दाहालले भरतपुर महानगरले कृषि साझेदारी कार्यक्रमलाई जोड दिदै कृषकलाई विभिन्न किसिमका यन्त्र उपकरणहरु प्रदान गरिएको बताइन्।
साझेदारीमार्फत ट्याक्टर, मिल्क ऐनालाईजर,हार्भेस्टर लगायतका उपकरणमा महानगरले साझेदारी गरेको उनको भनाई छ ।

कृषि क्षेत्रलाई थप सुधार गर्न यस वर्षको नीति तथा कार्यक्रममा अघिल्लो वर्षमा छुटेका महत्वपूर्ण कार्यक्रमहरु ल्याइने उनको भनाई थियो।भरतपुरमा भूमिगत सिँचाईमार्फत ७ हजार विघामा सिंचित भइरहेको र नारायणी लिफ्ट सिँचाईलाई १२ महिना सञ्चालन गर्न महानगरले बजेट विनियोजन गरी काम अघि बढाउने उनको भनाई छ ।

प्रेमवस्ती कृषि सहकारीले दैनिक १ हजार लिटर दूध संकलन गर्दै आइरहेको छ भने आफ्नै फर्म सञ्चालन गर्दै आइरहेको छ । आगामी साउनदेखि दैनिक ५० हजार लिटरको विकास पाउडर दूध उद्योग सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नम्बर ८ का अध्यक्ष जीवनाथ कँडेल, बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहाल अविनासलगायतले धारणा राखेका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष आन्नद प्रसाद न्युरेको अध्यक्षतामा भएको थियो ।
 

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

लोकप्रिय