इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि हुँदै

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि हुँदै

काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको बिहीबार उनको गृहनगरमा अन्त्येष्टि गरिने भएको छ ।

बाँध उद्घाटन गरी फर्कने क्रममा आइतबार देशको उत्तरपश्चिम हिमाली क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीय रायसीसहित इरानी  विदेशमन्त्री र अन्य छ जनाको मृत्यु भएको थियो ।

उनको अन्तिम विश्रामस्थल उत्तरपूर्वी शहर मशादमा रहेको एक महत्वपूर्ण शिया समाधिस्थल इमाम रेजाको पवित्र दरगाहमा हुनेछ । मशाद रायसीको जन्मस्थल हो । 

इरानी सञ्चारमाध्यमले बुधबार सार्वजनिक गरेको तस्बिरमा मशादका अधिकारीहरू अन्त्येष्टिको अन्तिम दिनको तयारी गरिरहेको देख्न सकिन्छ । 

अन्त्येष्टिको तयारी भइरहँदा इरानको दोस्रो ठूलो सहर मशादस्थित इमाम रेजा दरगाहको वरिपरि रायसी, कालो झण्डा र शिया प्रतीकहरूको ठूलो फोटोहरू राखिएको छ ।

राजधानी तेहरानमा बुधबार दिवंगत राष्ट्रपति रायसीलाई अन्तिम श्रद्धाञ्जली दिन ठूलो भीड जम्मा भएको थियो । इरानी अधिकारी र सञ्चारमाध्यमले रायसीलाई ‘शहीद’ को संज्ञा दिएका छन् ।

गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दा हेर्दैमा राखिएको छ। आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो। आज सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो। देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै  कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए। गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल सम्बन्धी ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको बताउँदै आफूलाई माओवादी केन्द्रले कारबाही गर्न नसक्ने दाबी गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो ।

किन गरे सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार ?, यस्तो छ विज्ञप्ति

काठमाडौं । मन्त्रिपरिषद्‌द्वारा दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाउँदै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेका छन् । उनले सिफारिस फिर्ताको पत्र प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन्। उनले राजदूत सिफारिस हुनुअघि आफूसँग कुनै विमर्श नगरिएको र विगतमा सरकारले तय गरेको मापदण्ड पनि ख्याल नगरेको भन्दै प्याकुरेलले पद अस्विकार गरेका हुन् । यस्तो छ प्याकुरेलको विज्ञप्ति   राजदूत नियुक्तिका सम्बन्धमा मेरो धारणा मन्त्रीपरिषदको मिति २०८१ असार ७ गतेको निर्णयअनुसार मलाई गणतन्त्र कोरिया (दक्षिण कोरिया) को राजदूत पदमा नियुक्त गर्न सिफारिश गरिएको जानकारी मैले समाचार माध्यमहरूबाट पाएँ । देशको औपचारिक प्रतिनिधिजस्तो गरीमामय पदमा मलाई नियुक्त गर्ने सरकारको चाहनाप्रति कृतज्ञता व्यक्त गर्दै वर्तमान सरकारले ममाथि गरेको विश्वासका लागि आभार प्रकट गर्दछु । सरकारको यो निर्णय मैले गैर सरकारी संस्थाहरूको अभियान, यस अघिका सरकारद्वारा विश्वासका साथ सुम्पिएको जिम्मेवारीहरू निर्वाह गरेको परिणामका रुपमा ग्रहण गरेको छु । तर यसका साथै यो विषयमा मेरो धारणा सार्वजनिक गर्नै पर्ने आवश्यकता देखेकोले यो प्रेस विज्ञप्ति जारी गर्दैछु । विगत पाँच दशकभन्दा लामो समयदेखि सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा सक्रिय रहने क्रममा मैले विभिन्न आरोह अवरोहको सामना गरेको छु । यस सन्दर्भमा, म देशमा राष्ट्रिय मानव अधिकार आयोगको एक संस्थापक आयुक्तमा नियुक्त भएर मानव अधिकार अवस्था अत्यन्त कठिन भएको समयमा पनि कर्तव्य निर्वाह गर्न सकेको प्रसंग स्मरण गर्दछु । देश संघीय लोकतान्त्रिक गणतन्त्रको चरणमा प्रवेश गरेपछि म दोश्रो राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको राजनीति तथा मानव अधिकार विज्ञ सल्लाहकारका रुपमा कार्यरत रहेको र त्यसअघि र पछि पनि मानव अधिकार तथा समाजिक न्यायका सन्दर्भमा सधैँ सक्रिय रहँदै आएको कुरा पनि सार्वजनिक जानकारीमा रहेकै छ । यसै पृष्ठभूमिमा मैले प्रष्ट शब्दमा उल्लेख गर्नै पर्छ, मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिश गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत दिइएन् । राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु । यस सन्दर्भमा राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु । तसर्थः आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिश फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु । यसबीच मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु । सुशील प्याकुरेल

‘ब्याड लोन’ उठाउने कम्पनी खोल्न ऐन बनाउँदै राष्ट्र बैंक

काठमाडौं ।नेपाल राष्ट्र बैंकले ‘ब्याड लोन’ उठाउने छुट्टै कम्पनी सञ्चालनमा ल्याउन ऐन बनाउने तयारीमा जुटेको छ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खराब कर्जा उठाउन नयाँ कम्पनी आवश्यक पर्ने भएकाले त्यसका लागि ऐनको ड्राफ्ट भइरहेको बताए। आइतबार नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले ब्याड लोन उठाउन कम्पनी आवश्यक महसुस भएको बताएका हुन्। कम्पनी ऐनले स्थापना भएको कम्पनीले यो काम गर्न सहज नहुने भन्दै यसका लागि विशेष किसिमको ऐनको आवश्यकता महसुस गरिएको उनले बताए। तर, यसको मोडालिटी कस्तो हुने भन्ने विषयमा थप छलफल गर्ने गभर्नर अधिकारीले बताए। 

डेंगु सङ्क्रमण बढ्न नदिनतर्फ सचेत रहन मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस वर्ष डेंगु बढ्न सक्ने भएकाले सचेत रहन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यो वर्ष नेपालमा सरदरभन्दा बढी वर्षा हुने आङ्कलन गरेकाले डेँगु फैलिन सक्ने खतरा भएकोभन्दै मन्त्रालयले सचेत गराएको छ ।   मनसुन लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण हुने भएकाले सङ्क्रमणको सङ्ख्यामा समेत बढोत्तरी हुन सक्ने डा.बुढाथोकीले विज्ञप्तिमा उल्लेख गरे। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७२ जिल्लाहरूबाट १ हजार २४१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।   पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुलको प्रयोग गर्ने र पुरै शरीर छोपिने लुगा लगाउन उनको सुझाव छ ।  उनले डेंगु सङ्क्रमण रोकथाम नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक भएकाले यस अभियानमा सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैले आफ्नो स्थानमा समन्वय, सहजीकरण एवं सहभागिता जनाउन अनुरोध गरे। डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न मन्त्रालयले सात प्रदेश तथा सबै स्थानीय तहहरूमा बर्षातको समयमा हुन सक्ने  डेंगु लगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको उनले जानकारी दिए।  मन्त्रालयले सङ्घ, प्रदेश, स्थानीय तह, मातहतका निकायसँगको समन्वय, रोगको बारेमा विभिन्न सञ्चारका माध्यमहरूमा सन्देशमूलक सूचना प्रकाशन गर्नुका साथै रोगलाई नियन्त्रण गर्न योजना बनाएको उल्लेख गरे। उनका अनुसार डेंगु रोग निदानका लागि चाहिने रोग निदान किट, औषधोपचार र अन्य आवश्यक सामग्री समेत तयारी अवस्थामा राखिएको छ।  उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु डेंगुका मुख्य लक्षण हुन्। एक्कासि उच्च ज्वरो आउने, वान्तामा रगत देखापर्ने, नाक वा गिजाबाट रगत, रक्तस्राव, धेरै पेट दुखाई, श्वास प्रश्वासमा समस्या, र बेहोस हुनेजस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परामर्श गर्न उनको सुझाव छ।

लोकप्रिय