नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल
फाइल तस्बिर

काठमाडौँ । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ।जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडीबी)को बोर्ड अफ गभर्नरको ५७ औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकाङ्क्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन्।

उनले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गरे । सचिव मरासिनीले दक्षिण एसियालाई उदयीमान आर्थिक विकासको क्षेत्र बनाउन सामूहिक प्रयासको खाँचो औंल्याउँदै अन्तरक्षेत्रीय व्यापार अभिवृद्धिका लागि अन्तरआबद्धता, नवप्रवर्तन र डिजिटलाइजेसनमा जोड दिइनुपर्ने बताए।

“कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्रमा विश्वव्यापी आर्थिक चुनौतीको प्रभाव परेको छ । पछिल्ला दिनमा राजस्व घाटा र बढ्दो ऋण दायित्वका कारण आर्थिक गतिविधिमा सङ्कुचन पैदा हुनुले अन्य धेरैजस्तै नेपालले पनि सुस्त आर्थिक वृद्धि र आर्थिक शिथिलताको सामना गरिरहेको छ”, उनले भने, “आर्थिक समृद्धि, अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति र दिगो विकास लक्ष्य प्राप्त गर्न सार्वजनिक वित्त परिचालन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य बन्न गएको छ । म यो मञ्चबाट एडिबीसहित हाम्रा सबै विकास साझेदारहरुलाई सहुलियतपूर्ण कर्जामा जोड दिने नीतिमा हाम्रो सरकार रहेको जानकारी गराउन चाहन्छु ।” 

सचिव मरासिनीले नेपालले राजनीतिक स्थायित्वसँगै आर्थिक वृद्धि र समृद्धिका लागि प्रयास गरिरहेको भन्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

नेपालमा लगानी अनुकूल वातावरण निर्माणका लागि केही समयअघि काठमाडौँमा तेस्रो लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले  पर्यटन, जलविद्युत् र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी आउने वातावरण बनाउन एडिबीले महत्त्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने विश्वास आफूहरुले गरेको उल्लेख गरे।

एसियाली विकास बैँकले नेपाललाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै सचिव मरासिनीले विकास यात्रामा भरपर्दो साझेदार भएकामा कृतज्ञता व्यक्त गरे । पछिल्लो दशकमा नेपालले सामाजिक समावेशीकरण र आर्थिक विकासलाई सँगै अगाडि बढाएको उनको भनाइ थियो।रासस
 

सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।

पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ।   त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।

१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।

लोकप्रिय