बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी स्पष्ट कानुन बन्दै

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी स्पष्ट कानुन बन्दै

काठमाडौँ। बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैङ्कले मस्यौदा तयार हुँदैछ।

राष्ट्र बैङ्कले ‘बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१’ तयार गरी कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको हो । विनियमावलीको मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले कार्यान्वयनमा ल्याउनु अगाडि सरोकारवालासँग आवश्यक राय सुझाव समेत मागिएको छ ।

राष्ट्र बैङ्कले तयार गरेको मस्यौदामा भनिएको छ, बैङ्क खाता रोक्का राख्न तथा रोक्का रहेका बैङ्क खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बाञ्छनीय भएकाले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण)ले दिएको अधिकार प्रयोग गरी यो विनियमावली तर्जुमा गरी लागु गरिएको हो ।

बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ को मस्यौदा अनुसार खाता रोक्कालाई सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का र आंशिक खाता रोक्का गरी तीन भागमा विभाजन गरिएको छ ।

सम्पूर्ण खाता रोक्कामा कुनै पनि खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने व्यवस्था गरिएको छ भने निश्चित खाता रोक्कामा निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने व्यवस्था गरिएको छ । त्यस्तै आंशिक खाता रोक्कामा खातामा रहेको रकममध्ये निश्चित रकम मात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावत् रूपमा प्रयोग गर्न सक्ने मस्यौदामा उल्लेख गरिएको छ ।

खाता रोक्का गर्ने अधिकार राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागलाई हुने मस्यौदामा उल्लेख छ । विभागका कार्यकारी निर्देशकले तोकेको अधिकार प्राप्त अधिकृतस्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्ने छन् भने सम्बन्धित व्यक्ति वा संस्थाका अधिकार प्राप्त अधिकारीले निवेदन दिएको अवस्थामा खाता फुकुवा हुने व्यवस्था मस्यौदामा गरिएको छ ।

खाता रोक्का गर्नका लागि अधिकार प्राप्त अधिकारीले कानुनको व्यवस्था अनुसार स्पष्ट उल्लेख गरी खाता रोक्का गर्नुको कारण र खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य नेपाल सरकारले जारी गरेको परिचय खुल्ने आधिकारिक विवरण तथा तीनपुस्ते विवरण खुलाई लिखित रूपमा राष्ट्र बैङ्कसमक्ष अनुरोध गरेमा इजाजतपत्र संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिने व्यवस्था मस्यौदामा छ ।

कानुनी व्यक्तिको हकमा भने खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ । यस्तै कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा भने रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैङ्कको विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने मस्यौदामा उल्लेख छ । गोरखापत्रमा खबर छ ।

दसैँका सामान बोकेका कन्टेनर खासा र न्यालम क्षेत्रमा अलपत्र

काठमाडौं । दसैँ लक्षित सामान बोकेर चीनबाट तातोपानी आउन लागेका ९३ वटा कन्टेनरहरू खासा र न्यालम क्षेत्रमा तीन सातादेखि अलपत्र अवस्थामा रोकिएका छन्। चीनले खासा बजारकोबीच भागमा सुरङ निर्माण गरिरहेकाले नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका फलफूल र लत्ताकपडा लगायतका सामान खासा र न्यालम क्षेत्रमा नै रोकिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले बताउनुभयो। सुरुङ निर्माण कहिले सकिन्छ र सामान तातोपानी भित्राउला भन्ने चिन्तामा व्यापारीहरू रहेका छन् । फलफूल बोकेका २३ वटा र ७० वटा दसैँका लत्ताकपडा, जुक्ता लगायतका सामान बोकेका गाडीहरू चिनियाँ क्षेत्रमै रोकिएपछि व्यापारीहरू चिन्तित भएका हुन्। चीन सरकारले खासालाई स्मार्ट सिटी बनाउनका लागि सुरुङ, सडक लगायत निर्माणका काम गरिरहेको छ। उसले ५० प्रतिशत पुराना भवनहरू भत्काएर पुनर्निर्माण गरिरहेको छ। अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने कामका कारण पनि अझै केही दिन रोकिएका कन्टेनर खासासम्म पनि आउन पाउने छैनन्। सुरुङ र सडक निर्माणका समयभन्दा बिहान र बेलुकीको समयमा रोकिएका कन्टेनर छाडिदिन चिनियाँ पक्षसँग पहल भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभएको छ। चिनियाँ भूमिमा रोकिएका कन्टेनर तातोपानी नाका भित्राउन नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, नाका आबद्ध व्यापारिक सङ्घसंस्थाहरू लागिरहेको उहाँले बताउनुभएको छ। चिनियाँ क्षेत्रमा रोकिएका एक कन्टेनर बराबर नेपाली तीन कन्टेनर सामान हुन्छ। स्याउ, सुन्तला, अनार लगायतका फलफूल बोकेका गाडीहरूमा फलफूल कुहिने अवस्थामा पुगेका छन्। अन्य सामानहरूमा ढुसी लाग्ने अवस्थामा पुगेका छन्। लामो समय कन्टेनर अड्किएपछि लागत रकम पनि महँगो हुने भएको छ। सामान राजधानी आइपुग्न ढिला हुँदाको बैङ्कको ब्याज, खाना बस्न, पार्किङ शुल्क लगायतका रकम जोडिँदा उपभोक्ताले महँगोमा खरिद गर्नु पर्ने समस्या देखिन्छ।

शेयर बजार राताम्मे, ९० अंकको पहिरो

काठमाडौं । पछिल्ला दुई दिन सकारात्मक रहेको बजारमा बुधबार पहिरो गयो । उतारचढावबीच बजार परिसूचक नेप्से ९० अंकले ओरालो लागेर २७ सय ३९ मा आएर थामियो । सोमबार सवा सयले उछालिएको बजार हिजो सामान्य सुधारिएको थियो । यसदिन कारोबार पनि १३ अर्ब तलै खुम्चियो । सबै समूह राताम्मे रहँदा वित्त समूहमा सबैभन्दा उच्च ५ प्रतिशत बढीको गिरावट आयो । होटल तथा पर्यटन समूह साढे ४ प्रतिशतले घट्यो । अन्य, वाणिज्य बैंक, जीवन बीमा, जलविद्युत, लगानी समूह ३ प्रतिशत बढीले घटे । बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय २० कम्पनीको २ करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । घटेका बजारमा पनि एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्तलगायत करिब आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए । कुमारी इक्वीटी फण्डका लगानीकर्ताले १० प्रतिशत गुमाए । नेपाल फाइनान्स र एक्सेल डेभलपमेन्ट दुवैको ३० करोड माथिको कारोबार भयो ।  

नेप्से १२७.३२ अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार एकैदिन १२७.३२ अंकले बढेर बन्द भएको छ ।कारोबार आठ दिनको घटेको सेयर बजार उच्च अंकले बढेको हो । आज नेप्से परिसूचक ४.७२ प्रतिशतले बढेर २८२३.२५ विन्दुमा बन्द भएको हो । १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । २३९ कम्पनीको सेयर मूल्य बढेको छ । पाँच कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । परिसूचक सर्वाधिक वृद्धि फाइनान्स समूहको भएको छ ।

५३ अंकले घट्यो सेयर बजार, कारोबार कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो कारोबारमा ५३ अंकले घटेको छ । बजार ५३.६३ अंकले घटेको हो । गएको बिहीबार बजार ३७ अंकले घटेको थियो । आइतबारको कारोबारपछि समग्र बजार मापक परिसूचक २६९५.९३ विन्दुमा कायम छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । यस दिन १० अर्ब ५१ करोड ७६ लाख रुपैयाँबराबरको सेयर खरिद–बिक्री भयो । अघिल्लो कारोबारका दिन १२ अर्ब २४ करोडको सेयर खरिद–बिक्री भएको थियो । घट्दो बजारमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ । २०९ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनी सेयर मूल्य स्थिर छ । सुपरमाई हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लाग्यो । हिमालयन पावर, कुथेलीबुखरी स्मल हाइड्रो, सानिमा लार्ज क्याप, सनराइज ब्लु चिपलगायत कम्पनी उच्च कमाउनेको शीर्ष स्थानमा रहे । समूहगत परिसूचकतर्फ म्युचअल फन्ड ०.८० प्रतिशतले बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको छ ।

लोकप्रिय