राष्ट्रिय छन्द कविता प्रतियोगितामा बाराकी सरु बस्नेत प्रथम

भरतपुर। भरतपुरमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार बाराकी सरु बस्नेतले जितेकी छन् । नवसाहित्य मञ्जरी भरतपुर १३, चम्पानगरले ‘देशका लागि युवाको खाँचो’ विषयमा देशभरबाट सङ्कलित दुई सय कवितामध्ये निर्णायकहरुको मूल्याङ्कनपछि उत्कृष्ट ९ कविता छनोट गरेर शनिबार सर्जकलाई भौतिकरुपमै उपस्थित गराएर अन्तिम प्रतिस्पर्धा गराएको थियो।
लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके/हवेली) मा भएको अन्तिम प्रतियोगितामा बस्नेत प्रथम हुदाँ नुवाकोटका कृष्णप्रसाद पौडेल दोश्रो र दाङ्गका हरिप्रसाद पौडेल तेस्रो भए । सुनसरीका मुक्ति पोखरेल र बाँकेका पदमावती रिजालले सान्त्वना पुरस्कार प्राप्त गरेको नवसाहित्य मञ्जरीको सचिव रमना अधिकारीले जानकारी दिईन् । उनका अनुसार प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना दुई जनाले जनही ५ हजार रुपैयाँ पुरस्कार एवं प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले पुरस्कार हस्तान्तरण गरेका थिए । कविता मूल्यांकनका लागि वरिष्ट साहित्यकार छन्दवादी कवि हरिप्रसाद रिमाल, गौंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्द विनोदी र वरिष्ट साहित्यकार केशवराज भट्टराई आमोदी सहितको तीन सदस्यीय मूल्यांकन समिति बनाइएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको तर्फबाट सदस्य रामहरी श्रेष्ठ, अमर न्यौपाने, भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कवी प्रा.डा.देवी नेपालको सहभागिता रहेको थियो ।
आयोजक संस्थाका अध्यक्ष सूर्यमणि रेग्मीले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउँदै मौलिक साहित्यको प्रवद्र्धन, प्रचारप्रसार तथा प्रतिभाको पहिचान र उत्प्रेरणाका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रमलाई गीतकार विष्णुबाबु देवकोटाले सहजीकरण गरेका थिए ।
पैदलयात्री अभियान्ताले भेट अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुग्नुभएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्नुभएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो। उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरको दर १३८ रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९असार ८० का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा तोकिएको छ। अन्य प्रमुख मुद्राहरूको दर यसप्रकार छ: स्वीस फ्र्यांक: खरिददर १६९.०७, बिक्रीदर १६९.८० अस्ट्रेलियन डलर: खरिददर ८९.६४, बिक्रीदर ९०.०३ क्यानेडियन डलर: खरिददर १००.८६, बिक्रीदर १०१.३० सिंगापुर डलर: खरिददर १०७.५८, बिक्रीदर १०८.०५ जापानी येन (१० यन): खरिददर ९.५०, बिक्रीदर ९.५४ चिनियाँ युआन: खरिददर १९.२५, बिक्रीदर १९.३४ साउदी रियाल: खरिददर ३६.८४, बिक्रीदर ३७.०० कतारी रियाल: खरिददर ३७.९२, बिक्रीदर ३८.०९ यूएई दिराम: खरिददर ३७.६४, बिक्रीदर ३७.८१ मलेसियन रिंगेट: खरिददर ३२.५१, बिक्रीदर ३२.६५ त्यस्तै, भारतीय रुपैयाँ १०० को विनिमयदर १६० रुपैयाँ खरिददर र १६० रुपैयाँ १५ पैसा बिक्रीदरमा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै बेला परिवर्तन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्ने पनि जानकारी दिएको छ।
आज रातिदेखि देशभर भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद् र विभागकाे आग्रह
काठमाडौं । शनिबार रातिदेखि देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलका अनुसार झापाबाट भारी वर्षा सुरु भइसकेको छ। उनले शनिबार बेलुका सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुईवटा मौसमी मोडेलले फरक स्थानहरूमा वर्षाको सम्भावना देखाए पनि तराई र चुरे क्षेत्रहरू बढी जोखिममा रहेको उल्लेख गरेका छन्। “दुईवटा मोडेलले भारी वर्षाको ठाउँ फरक देखाएको छ, तर सम्भावना धेरै तराई र चुरे भागमा बढी छ,” पोखरेलले लेखेका छन्। देशका विभिन्न भूभागमा अहिले पनि वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि आउँदो तीन दिन देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ। महाशाखाले शनिबार बेलुका जारी गरेको बुलेटिनमा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। बुलेटिनअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। महाशाखाले वर्षाका कारण नदीहरूको जलसतह बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता विपद् आउन सक्ने भन्दै जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, यातायात र हवाई सेवा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। यस्ता सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ। मुख्य सुझावहरू बाढी तथा पहिरोको जोखिम भएका स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध यात्राअघि मौसम पूर्वानुमानको जानकारी लिनु आवश्यक स्थानीय निकाय र प्रशासनको सूचना तथा निर्देशन पालना गर्न सुझाव
विश्व योग दिवस २०८२: अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्व योग दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय, योग साधकहरू र विश्वभरिका योगप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिँदै योगलाई "हाम्रो प्राचीन सभ्यताको अमूल्य निधि" भन्नुभएको छ । जसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सँगसँगै समृद्ध बनाउने उल्लेख गर्नुभएको छ। "यस वर्षको विश्व योग दिवसको नारा 'Yoga for One Earth, One Health' ले हामीलाई व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डोर्याउन प्रेरित गरेको छ," उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। अध्यक्ष प्रचण्डले योगको उत्पत्ति र विकास भएको ऐतिहासिक पृष्ठभूमि रहेको नेपाललाई विश्वभरिका योग साधकहरूका लागि एक आदर्श गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभएको छ। विश्वभर हरेक वर्ष जुन २१ तारिखमा मनाइने योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।