फुटेर नजान बास्तोलालाई वैद्यको आग्रह

फुटेर नजान बास्तोलालाई वैद्यको आग्रह

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य किरणले पार्टीबाट अलग भएको घोषणा गरेका नेता धमेन्द्र बास्तोला समूहलाई पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी निर्णय पत्र फिर्ता लिन आग्रह गरेका छन् । 

पार्टी एकता भएको १५ महिनामै एकता असफल भएको भन्दै बास्तोलाले पार्टी कार्यालयमा पत्र पठाएपछि वैद्यले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पत्र फिर्ता लिएर एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न आग्रह गरेका हुन् ।

बैद्यले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरूलाई विशेष आह्वान गर्दछौँ । यसका साथै समग्र पार्टी पङ्क्ति, जवस मोर्चा र आम जनसमुदायलाई गुटवाद तथा फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध बनाइराख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्दछौँ ।’ 

२०८० वैशाख १७ गते नेकपा (क्रान्तिकारी) माओवादी र विप्लवबाट अलग भएको नेकपा (बहुमत) बीचको एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरिएको थियो । 

गत असार ११ देखि १६ गतेसम्म बसेको दोस्रो पूर्ण बैठकमा बास्तोलाले राजनीतिक कार्यदिशाबारे आफ्नो असहमति राखेका थिए । बैठकले कात्तिक पहिलो हप्ता एकता महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । 

null

माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौं । मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । दिउँसो १२:०० बजे किर्तिपुर नगरपालिका कार्यालय नयाँबजार छेउमा रहेको पार्टी प्यालेसमा चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रम भएको माओवादीले जनाएको छ ।  कार्यक्रममा  पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागितामा हुने बताइएको छ । उपचुनावमा माओवादी उमेदवारलाई समाजवादी मोर्चाका दलहरूले समर्थन गर्ने घोषणा यस अघि नै गरिसकेका छन् । चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गर्ने दलमा माओवादी केन्द्र पहिलो दल बनेको छ । माओवादीले प्रा.डा. शिवशरण महर्जनलाई कीर्तिपुर नगरपालिका मेयरको रूपमा सार्वजनिक गरिसकेको छ भने उनको मनोनयन भइसकेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थिति समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

माओवादी केन्द्र लुम्बिनीको बैठकः मंसिर २९ सम्म सबै पालिकामा सम्मेलन

देउखुरी ।  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले मंसिर २९ गतेभित्र पालिका स्तरका अधिवेशन गरिसक्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालको अध्यक्षता एवं केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल (बलदेव) को प्रमुख आतिथ्यतामा बिहीबार देउखुरीमा बसेको प्रदेश कार्यालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचन तालिका निर्माण गरेको हो । पार्टीको निर्वाचन तालिका अनुसार मंसिर ७ गतेसम्म संगठित सदस्य नवीकरण, लेवी र अभिलेखीकरण गरिसक्ने निर्णय गरेको छ। त्यसैगरी मंसिर ८ देखि १५ गतेसम्म वडा अधिवेशन गरिसक्ने भएको छ । मंसिर १६ देखि २९ गतेसम्म गाउँ, नगर तथा उपमहानगर अधिवेशन गरिसक्ने निर्णय भएको प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने (सागर) ले जानकारी दिनुभयो । त्यसैगरी पार्टी सदस्यता व्यापकरुपमा वितरण गर्ने निर्णय भएको दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले जानकारी दिनुभयो । घरदैलो तथा जनभेटघाट कार्यक्रम गर्ने, छुटेका तथा पार्टी सम्पर्कमा नरहेकाहरुको खोजी गर्ने निर्णय भएको छ । बैठकमा जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्नुभएको थियो । स्थायी समिति सदस्यहरु कुलप्रसाद केसी, जोखबहादुर महरा, पुर्णा सुवेदी, महेश्वर गहतराजलगायतको विशेष उपस्थिति थियो । बैठकको सहजीकरण प्रदेश सचिव कृष्णा अधिकारीले गर्नुभएको थियो ।

माओवादीको उकालो यात्रा सुरु भएको छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताउनुभएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’ उहाँले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताउनुभयो । पार्टी एकताका विभिन्न दलगतरुपमा विभिन्न माओवादी घटकहरुसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिहरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताउनुभयो । जनयुद्ध लडेका कयौं नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर बिद्रोह गरेर गएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘क्रान्तिको खोजीमा निस्कनु तपाईहरुको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरुबीच ध्रुवीकरण र एकताको विकल्प छैन । सबै साथीहरु ढिलोचाँडो एक ठाउँमा हुने छौं, जनताले क्रान्तिप्रति गरेको विश्वास र सपना पूरा गर्न सबै मिलेर नयाँ प्रक्रियाबाट अघि बढ्ने छौं ।’ अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उल्लेख गर्दै उहाँले विभिन्न जिल्लाहरुमा जाँदा २०६४ कै झल्को आउने गरी जनआर्षण देखिन थालेको बताउनुभयो । सो क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. थारु ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरु वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । कपिलवस्तुको मुख्य नेतृत्व माओवादी केन्द्रमा आएपछि अब जिल्लाका सबै नेता कार्यकर्ता जिल्लामा आयोजना हुने कार्यक्रममार्फत माओवादी केन्द्रमा सामेल हुने डा. थारुले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’को पनि उपस्थिति रहेको थियो । 

लोकप्रिय