युट्युबलाई कारबाही गर्ने अभियान तीव्र, ४३ च्यानल बन्द गर्न प्रहरीमा पत्राचार

युट्युबलाई कारबाही गर्ने अभियान तीव्र, ४३ च्यानल बन्द गर्न प्रहरीमा पत्राचार

काठमाडौँ। सरकारले प्रेस काउन्सिल नेपाल मार्फत ४३ वटा युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती सञ्चार माध्यमलाई कानुनी कारबाहीका लागि पठाएको बताइएको छ।सञ्चारमाध्यमका रूपमा दर्ता नभई गलत सामग्री प्रसारण गरे सचेत गराई नसच्चिएमा थप कारबाहीका लागि प्रहरीमा पठाउँदै आएको सरकारले जनाएको छ ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यमलाई कारबाही गर्ने निर्णय गरेको हो ।

काउन्सिलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गत साउन महिना यता हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफवाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउने विरुद्ध कारबाही तीव्र पारिएको जनाएको हो ।

गत चैत २० गते काउन्सिलले युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन र कारबाही गर्दै आएको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा युट्युबसहित विभिन्न अनलाइन सञ्चारमाध्यमलाई भएका कारबाहीबारे जनाइएको छ ।

काउन्सिलले साउन यता मात्र आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने ३ वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको जनाएको छ । सरकारको निर्णय अनुसार ती अन्लानइन तथा सञ्चार माध्यमहरु राज्य तहबाट पाइने कुनै पनि सुविधा पाउनबाट वञ्चित हुने भएका छन् । कालोसूचीमा पर्ने सञ्चारमाध्यममा एबीपीक्राइमन्यूज डट कम, टिभी अन्नपूर्ण डटकम र सेतोखरी डटकम छन् । यो आर्थिक वर्षमा ७६ वटा उजुरी दर्ता भएका छन् भने २६९ सामग्री काउन्सिलले स्वअनुगमन गरी कारबाही गरेको छ ।

सो कारबाहिलाई पत्रकारिताको मूल्य मान्यता अनुरूप पत्रकारिता गर्ने उद्देश्यका साथ सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउने उद्देश्य साथ कार्यविधि बनाई काम गर्दै आएको काउन्सिलले जनाएको छ। हाल युट्युब च्यानलबाट सम्प्रेषण हुने सामग्रीका विषयमा उजुरी र गुनासाहरू बढ्दै गएको सन्दर्भमा कार्यविधि बनी नियमन गर्न थालिएको काउन्सिलले जनाएको छ ।

विज्ञप्तिमा मिडिया अन्तर्गत सञ्चालनमा रहेका तर आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ५ वटा अनलाइन सञ्चारमाध्यमलाई हटाउन निर्देशन दिई सचेत गराइएको, अरू ५ वटा माध्यमका विवादास्पद सामग्री हटाइ स्पष्टीकरण सोधिएको उल्लेख छ ।

त्यस्तै, ४ वटा दर्ता सूचीकरण नभएका वेबपोर्टल एवं सामाजिक सञ्जालका सामग्री हटाउन सचेत गराउँदै अन्यथा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

विधिवत् रूपमा सञ्चालनमा नआई सामग्री सम्प्रेषण गर्ने तर पटक पटक सचेत गराउँदा पनि अवज्ञा गर्ने एक वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ । त्यस्तै, विवादास्पद समाचार सम्प्रेषण गर्दै आएका अनलाइनपाना डटकम, दियोपोष्ट डटकम, स्वास्थ्य लाइभ डटकम, जनताटाइम्स डटकम, खप्तडटिभि डट कम, गुडटिभी डट कम, अर्थसञ्जाल डटकम, ध्वनीखबर डटकमसहितलाई विशेष अनुगमनमा राखी काउन्सिलले निगरानी गरेको जनाएको छ । विभिन्न खालका कारबाहीमा परेका सबै सञ्चारमाध्यमको विस्तृत विवरण काउन्सिलले आफ्नो वेबसाइटमा समेत राखेको छ ।

अध्यक्ष प्रचण्ड र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ । आफ्नो निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले बाढीपहिरोका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यो संकट समाधानमा साथ दिन युरोपियन युनियनलाई आग्रह गर्नुभयो । बाढीपहिरोको पीडा नेपाली जनताले व्यहोर्नुपरे पनि यो विश्वब्यापी समस्याकै अंग भएकाले जलवायु परिवर्तनका कारण भइरहेका यस्ता विपतप्रति विश्वको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।  राजदूत लोरेञ्जोले बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै युरोपियन युनियनको साथ रहने बताउनुभयो । उहाँले नेपालको शान्ति प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गर्दै त्यसको सफल नेतृत्व गरेकोमा ईयुको तर्फबाट अध्यक्ष प्रचण्डलाई बधाई पनि दिनुभयो । भेटका अवसरमा नेपाल र ईयुको सम्बन्ध सुधारका विषयमा बहुआयामिक छलफल भएको थियो ।

नागरिक उन्मुक्तिका उपाध्यक्षसहित २५ नेता राजेन्द्र महतोको दलमा

काठमाडौं ।  रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका २५ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । धनुषाका केन्द्रीय उपाध्यक्ष विजय यादवसहित २५ जना केन्द्रीय सदस्यहरू नागरिक उन्मुक्ति छाडेर हालै मात्र गठित राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीमा आवद्ध भएका हुन् । उनीहरूले अत्यन्तै मिहिनेत गरि बनाएको नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने निर्णयमा पुगेको बताएका छन् । ‘नागरिक उन्मुक्ति पार्टी स्थापना हुनु अडिदेखि नै पार्टीको विभिन्न स्वरुपमा सक्रियतापूर्वक साथ दिइरहेका थियौँ’, बुधबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवम् सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिँडेका हामीले गलत तत्वहरू नसुध्रिने छाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएका हौँ ।’ उनीहरूले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा शीर्ष तहमा विभिन्न जिम्मेवारीमा रहेका नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको पनि आरोप लगाएका छन् । उनीहरूले पहिचानसहितको संघीयता, संघीय लोकतान्तित्रक गणतन्त्र नेपालको संस्थागत विकास र समाजवादी आन्दोलनको मूल प्रवाहबाट पृथक रहने छुट नभएको पनि बताएका छन् ।  

अखिल क्रान्तिकारी भक्तपुरको अध्यक्षमा सुमन माझी

काठमाडौं । अखिल (क्रान्तिकारी) भक्तपुर जिल्लाको १७ औं सम्मेलनले सुमन माझीको अध्यक्षतामा नयाँ जिल्ला समिति चयन गरेको छ ।  जसको उपाध्यक्षमा छिरिङ लामा, पुष्पराज अधिकारी र जोरबहादुर रोकाया, सचिव अन्जित लामा, सहसचिव देवेन्द्र न्यौपाने र कोषाध्यक्ष सुनगाभा मगर रहनुभएको छ ।

अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्षमा भण्डारी

काठमाडौं । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समितिको अध्यक्षमा प्रदीप भण्डारी निर्वाचित हुनुभएको छ । सम्मेलनबाट उपाध्यक्षहरुमा सविन अधिकारी, रविकिरण श्रेष्ठ, प्रवीण मल्ल र अनिषा राई निर्वाचित हुनुभएको छ । सचिवमा सुरक्षा पहरी र कोषाध्यक्षमा सागर पराजुली निर्वाचित हुनुभएको छ । संगठन राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ ।  

लोकप्रिय